एसएमएस फ्रेन्डसिप कप टी–२० अन्तर्गत नेपालले जितका लागि गुजरातलाई १७७ को लक्ष्य दिएको छ।
नेपालले खेलको पहिलो इनिङमा २० ओभरका समाप्तिमा ४ विकेट गुमाएर १७६ रन बनाएको छ।
नेपालका कप्तान रोहित पौडेल तेस्रो विकेटका रुपमा ४६ बलमा सर्वाधिक ७४ रन बनाएर क्याच आउट भएका हुन। कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए। दिपेन्द्रसिंह ऐरीले ३ बलमा ७ रन बनाएर आउट भए। मोहम्मद आसिफले ३४ बलमा ३४ रन बनाए। कुशल मल्लले १३ बलमा ३१ रन बनाए भने सन्दिप जोराले ३ बलमा ७ रन बनाएका थिए। नेपालले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो।
नेपाल जारी प्रतियोगितामा एक खेलमा पराजित र अन्य सबैमा विजयी हुँदै फाइनल प्रवेश गरेको हो। तर, अन्तिम खेलमा कमजोर टोलीसँग पराजित भएको नेपाललाई आजको खेल सहज हुनेछैन।
टी–२० विश्वकपको तयारी स्वरुप नेपाल हाल भारत भ्रमणमा रहेको छ।
आजको खेलमा भने नेपालले चार परिवर्तन गरेको छ। नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन्।
प्रकाशित: २५ चैत्र २०८० १४:५८ आइतबार