१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मञ्जुश्री ट्रेल रेस आज पनि जारी

चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस आज पनि जारी छ। खेल शुक्रबारदेखि सुरु भएको थियो। विभिन्न चरणको रेस इचंगुनारायणस्थित सिंगल ट्रीबाट सुरु भएको हो।

सय माइलको यो रेसमा चर्चित धावक प्रिया राई, मसफुमी यमाटो, मनकुमार रोका मगर, अर्जुन कुलुङ राई, निक पिलापिल र सोफी सरन्या महाकनोकलगायतले प्रतिस्पर्धा गर्दै छन्। अन्तर्राष्ट्रिय ट्रेल रेसकी प्रतिष्ठित धावक एमसी सोफीले पनि यस रेसमा सहभागिता जनाएकी छन्।

यो रेसमा नेपालसहित १६ देशका तीन सय २४ धावकले प्रतिस्पर्धा गरिरहेका छन्। तीमध्ये ४० धावक विदेशी हुन्। रेसमा दुई सय ८९ जना महिला र ३५ जना पुरुष धावकले चुनौती प्रस्तुत गरिरहेका छन्।

त्यस्तै विभिन्न चरणमध्ये सय माइलको दौडमा चार महिलासहित १८ धावकले प्रतिस्पर्धा गर्दै छन्। नेपालसहित चीन, सिंगापुर, बेलायत, डेनमार्क, भारत, बेलारूस, इन्डोनेसियाका धावकहरूले यस संस्करणमा प्रतिस्पर्धा गरेको रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए।

धावकहरूले काठमाडौं उपत्यकावरिपरिका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फूलचोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै १०० माइल दूरी पार गर्नेछन्। शुक्रबार रातिबाट नै एक सय किलोमिटरको दौड झुलेबाट, शनिबार बिहान ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आबद्ध ट्रेलमान्डुको ३० किलोमिटरको केभिआर स्टेज रेस शनिबार बिहान फर्पिङको डोल्लुबाट सुरु हुँदै छ।

शनिबार कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरु भई सिंगल ट्रीमै सकिने अध्यक्ष थापाले जानकारी दिए। यो संस्करणलाई एसिया ट्रेल मास्टर्सको छनोट खेलका रूपमा समेत मान्यता रहेको छ। एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्ट्स प्रमोसन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो।

पौराणिक कथनअनुसार मञ्जुश्री नामक भिक्षुले काठमाडौंमा अवस्थित पोखरीमा जम्मा भएको पानीलाई निकास दिन, विभिन्न डाँडा घुमेर हेरेको थिए। यसै विश्वासलाई आधार मानेर यस रेसको परिकल्पना तथा नामाङ्कन गरिएको हो।

सेतो र पहेंलो रङले चिह्न लगाइएको यस ट्रेलमा अहिले हाइकिङ तथा साइक्लिङसमेत हुने गरेको छ। धावकहरू भने जंगल, खोला, खेत र केही गाउँहरू हुँदै दौडन्छन्। लगभग ७० प्रतिशत दौड वनजंगल र गोरेटो बाटोमा हुने ट्रेलमाण्डुका सहसंस्थापक आशिष मिश्रले बताए।

१ सय ७० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउने छन्। सय किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउने छन्।

५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रूपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउने छन्। ट्रेलमान्डुको केभिआर १०० स्टेज रेसअन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउने छन्।

प्रकाशित: २४ चैत्र २०८० ०९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App