२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लुम्बिनी र कर्णालीको जित

लुम्बिनी र कर्णाली प्रदेशले कोसी प्रदेश राष्ट्रिय टी–२० प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा जारी प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ५८ रनले हरायो। टस जिती ब्याटिङ थालेको लुम्बिनीले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६८ रन बनायो।

विशालविक्रम केसीले ४८, देव खनालले ४५ र दिलसाद अलीले ३१ रनको योगदान गरे। सुदूरपश्चिमका लागि नरेन साउदले २ विकेट, हेमन्त धामी, दीपक बोहरा र शेर मल्लले १/१ विकेट लिए।

सुदूरपश्चिम १६९ रनको लक्ष्य पछ्याउने क्रममा १७.१ ओभर खेल्दै सबै विकेटको क्षतिमा ११० रनमै समेटियो। नरेन भट्टले १९ र अभिषेक पलले १८ रन बनाए। लुम्बिनीका प्लेयर अफ दी म्याच निर्मल गुरुङले ३, वीरबहादुर घर्तीमगर र राहुल चौहानले २/२ विकेट लिए। लुम्बिनीले जितसँगै २ अंक प्राप्त गरेको छ। समूह ‘बी’ मा रहेको लुम्बिनी र सुदूरपश्चिमको समान २ अंक भयो।

दोस्रो खेलमा कर्णालीले मधेस प्रदेशलाई ३ विकेट पराजित गर्‍यो। टस जितेर ब्याटिङ थालेको मधेसले २० ओभरमा सबै विकेट गुमाउँदै ९० रनको योगफल बनायो। प्रदीप पासवानले १८, अभिषेक तिवारीले १२, अरनिको यादव र राजेश यादवले ११/११ रन बनाए। कर्णालीका प्लेयर अफ दी म्याच दिवान पुनले ३, दिनेश अधिकारी र अनुज चहराले समान २/२ विकेट लिए।

कर्णाली १५.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्यमा पुगेको थियो। हिमांशु शाहीले ३४ र अर्जुन घर्तीमगरले १४ रन बनाए। मधेशका रञ्जित कुमारले ३ र हरिशंकर साहले २ विकेट लिए। मंगलबार भएको खेलमा सुदूरपश्चिमसँग पराजित भए पनि कर्णालीले दोस्रो खेलमा जितका साथ २ अंक जोड्न सफल भयो। 

प्रकाशित: २४ फाल्गुन २०८० ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App