१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

न्यु दिल्ली म्याराथनमा नेपालका दुई धावक

भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौडने भएका छन्। फेब्रुअरी २५ मा हुने म्याराथनमा सहभागी हुन दुवै धावक शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन्।

जवाहरलाल नेहरू रंगशालामा हुने प्रतियोगितामा धर्मले पुरुष ५० वर्षमाथि हाफ म्याराथन तथा पुष्पले पुरुष ६५ वर्षमाथि १० किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन्। दुवैलाई पाटन रनिङ क्लबका अध्यक्ष एवं पूर्वखेलाडी देव महर्जनलगायतले एक कार्यक्रमबीच बिदाइ गरे। धर्मले एक महिनाको अवधिमा दौडन लागेको यो तेस्रो अन्तर्राष्ट्रिय म्याराथन हो।

उनले जनवरी २१ मा टाटा मुम्बई म्याराथन तथा जनवरी २८ मा सिक्किममा भएको म्याराथनमा प्रतिस्पर्धा गरेका थिए। दुवै म्याराथनमा उनले स्वर्ण जितेका थिए। धर्मले मुम्बईमा फुल म्याराथन (४२.१९५ किलोमिटर) तथा सिक्किममा १० किलोमिटर दूरीमा स्वर्ण जितेका थिए।

धर्मसँग विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लन्डन, टोकियो म्यारथानलगायत विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाएको अनुभव छ।। धर्म जापानको किताकामीमा सन् २०१४ मा सम्पन्न १८औं एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका कांस्य विजेता पनि हुन्।

पुष्पले थाइल्यान्ड म्याराथन र जापानको ओसाकामा भएको १० किलोमिटर दौडमा प्रतिस्पर्धा गरेका थिए। बिदाइ कार्यक्रममा धर्मले न्यु दिल्ली म्याराथनमा स्वर्ण जित्दै एक महिनाको अवधिमा अन्तर्राष्ट्रिय दौडमा स्वर्णको ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए।

प्रकाशित: १२ फाल्गुन २०८० १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App