१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

वेस्टर्न ओपन गल्फ आज

सूर्य नेपाल वेस्टर्न ओपन गल्फ आज पोखरामा आयोजना हुँदै छ। प्रतियोगिता प्रोफेसनल गल्फर संघको आयोजना तथा नेपाल गल्फ संघ गण्डकी र नेपाल गल्फ संघ कास्कीसँगको सहकार्यमा पोखराको हिमालयन गल्फ क्लबमा हुने छ।

प्रतियोगिता आजदेखि तीन दिनसम्म जारी रहने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुने आयोजकको भनाइ छ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता ५४ होलको हुने जनाइएको छ। काठमाडौंबाहिर हुने दुई प्रतियोगितामध्येको एक यस प्रतियोगितामा ५० खेलाडी सहभागी हुने प्रोफेसनल गल्फर संघका महासचिव दीपक आचार्यले जानकारी दिए। प्रतियोगितामा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागिता रहने उनको भनाइ छ।

प्रतियोगितामा सूर्य नेपाल एनपपिजिए म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापतिसहित पूर्व नम्बर एक खेलाडी भुवन नगरकोटी, रवि खड्का, जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धनबहादुर थापा सहभागी हुँदै छन्।

‘उहाँहरू सबै उपाधि दाबेदार खेलाडी हुनुहुन्छ,’ महासचिव आचार्यले भने। उनका अनुसार यस प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका एमेच्योर खेलाडी सद्भाव आचार्य पनि सहभागी हुँदै छन्। उनी पनि उपाधि दाबेदारमध्येका एक रहेको महासचिव आचार्यको भनाइ छ। सद्भाव यो सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि विजेता हुन्।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई र सुवास तामाङ सहभागी नहुने आयोजकले जनाएको छ। भारतीय गल्फ टुरमा व्यस्त रहेको हुनाले यस प्रतियोगितामा उनीहरूको सहभागिता नहुने महासचिव आचार्यले प्रस्ट्याए।

यो प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागू हुने महासचिव आचार्यले जानकारी दिए। प्रतियोगितामा २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलका लागि स्थान पक्का गर्नेछन्। एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने उनले बताए।

नेपाल गल्फ संघ गण्डकीका अध्यक्ष इन्द्रधारा विष्टले प्रतियोगिताले पोखरा र समग्र गण्डकीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए।

प्रतियोगिताको विजेताले १ लाख ४० हजार, द्वितीय हुनेले ९६ हजार, तृतीय हुनेले ७२ हजार, चौथो हुनेले ५९ हजार र पाचौं हुनेले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ।

प्रकाशित: ९ फाल्गुन २०८० ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App