२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पुष्पलाल स्मृति ब्याडमिन्टन फागुन १४ देखि

१३औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिता यसै फागुन महिनाको तेस्रो साता हुने भएको छ।

प्रतियोगिता फागुन १४ देखि १९ गतेसम्म सञ्चालन हुने छ। नेकपा एमाले निकट भ्रातृ संस्था नेपाल खेलकुद महासंघअन्तर्गत रहेको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा काठमाडाैंको महांकाल ब्याडमिन्टन क्लब, चन्द्रगिरीको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा विभिन्न १२ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन्। 

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शीर्ष ८ वरीयतामा रहेका पुरुष र महिलाहरूको एकल, ८ वरीरयतादेखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गल्र्स एकल, भेट्रान्स ४५ वर्षमाथि र मास्टर्स ५५ वर्षमाथिको स्पर्धाका साथ यस पटकको प्रतियोगितामा यु–१३ को ब्वाइज र गल्र्स एकलको थप विधा समावेश गरिएको छ।

ब्याडमिन्टको इतिहासमा एक सम्मानित प्रतियोगिताको रूपमा रहेको यस प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख २३ हजार रहेको छ। शीर्ष ८ वरीयताका खेलाडीहरूको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा गराइनेछ।

यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारेबापत थप नगद १५ सय प्राप्त गर्नेछन्। दुई समूहका शीर्ष २ स्थान प्राप्त गर्ने खेलाडीहरूले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्।

विजयी खेलाडीले नगद ५० हजार, उपविजेताले नगद ३० हजार र सेमिफाइनलिस्ट द्वयले १५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संघका महासचिव सुनीलमान शाक्यले जानकारी गराएका छन्।  

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले मेडल, ट्रफी र प्रमाणपत्रका साथ शीर्ष ८ वरीयतादेखि बाहेकका पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन्।

पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन्। महिला युगलतर्फका शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन्।

यु–१७ र यु–१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन्।

प्रिन्स सम्मानित हुने

राष्ट्रिय च्याम्पियन तथा शीर्ष एक वरीयतामा रहेका प्रिन्स दाहाललाई १३औं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताका दौरान सम्मान गरिने भएको छ।

दाहाललाई आयोजकको तर्फबाट पूर्वघोषित निर्णयबमोजिम मोटरसाइकलसहित सम्मान गर्न लागिएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए।

संघले प्रतियोगिताको सुरुवात गर्दा नै पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ प्रतियोगिताको र्‍याङकिङतर्फ लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाइकलले सम्मान गरिने घोषणाअनुरूप प्रिन्सलाई यस संस्करणमा सम्मान गर्न लागिएको हो।

विश्व ब्याडमिन्टन जुनियरमा शीर्ष १ मा रहिसकेका र हाल नेपाल ब्याडमिन्टन संघको शीर्ष एकमा रहेका प्रिन्सले पुष्पलाल स्मृति ब्याडमिन्टनको १०औं, ११औं र १२औं संस्करणमा विजय हात पारेका थिए।

प्रकाशित: ७ फाल्गुन २०८० ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App