१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नामिबियाविरुद्ध नेपालको खराब ब्याटिङ, १३२ रनमा अलआउट

आइसिसी विश्वकप क्रिकेट लिग–२ को पहिलो खेलमा नामिबियासँग नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल १३२ रनमा अलआउट हुन पुगेको छ।

नामिबियाका कप्तान जेरहार्ड एरासमसले बिहान टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। उनको निर्णय पहिलो बलबाटै सहि साबित हुनपुग्यो। इनिङको पहिलो बलमै नेपालका ओपनर कुशल भुर्तेललाई नामिबियन बलर रुबेन ट्रम्पल्म्यानले स्लिपमा क्याच आउट गराए। त्यसपछि तेस्रो ओभरको पहिलो बलमै अनिलकुमार साहलाई पनि ८ रनको स्कोरमा आउट गरे। यस्तै अर्को इन्डबाट बलिङ गरिरहेका ज्याक ब्रसेलले चौथो ओभरमा आसिफ शेखको विकेट लिए। यसरी चार ओभरमै नेपालले आफ्ना तीन विकेट गुमाएको थियो।

त्यसपछि नौ ओभरसम्म भिम सार्कीसँग मिलेर नेपाली कप्तान रोहित पौडेलले इनिङ सम्हालेर खेल्ने कोशिस गरेका थिए। यस्तोमा १० औं ओभरको तेस्रो बलमा रोहित पौडेल पनि ब्रसेलको शिकार भए। त्यतिबेला नेपालको स्कोर २१–४ को स्थितीमा थियो।

त्यसपछि १९ ओभरसम्मको खेलमा भिमलाई साथ दिन आएका कुशल मल्ल टिकेका थिए। दुबैजनाको पार्टनरसिपले नेपाललाई ६७ रनसम्म पुर्‍याएको थियो।

यस्तोमा नामिबियाका कप्तान जेरहार्ड एरासमस बलिङमा आए। पार्टटाइम स्पिनर बलर एरासमसले २० औं ओभरको पाँचौ बलमा कुशल मल्लको एकाग्रता भंग गर्दै नेपालको पाँचौ विकेट चट्काए। त्यसपछि एरासमसको बलमा एकपछि अर्कोगरी नेपाली  ब्याटर सोमपाल कामी, भिम सार्की र गुल्शन झाले विकेट गुमाए। यसरी कप्तान एरासमसले नेपालको मध्यक्रम ध्वस्त बनाइदिए।

त्यसपछि ३६ औं ओभरमा बलिङमा आएका जान निकोन लफ्टी एटोनले पवन सर्राफका रुपमा नेपालको नवौं विकेट लिए।

१० औं विकेटका रुपमा नेपालका करन केसीको विकेट नामिबियन कप्तान एरासमसले लिएर उनले आफ्नो व्यक्तिगत पाँच विकेट पूरा गरे।

यसरी नेपाली पारी खराब ब्याटिङ प्रदर्शन गर्दै ४१ ओपर १ बलमा ओभरमा १३२ रनमा सीमित भएको छ। नेपालका तर्फबाट भिम सार्कीले ४४, गुल्शन झाले २१, करन केसीले १६ कुशल मल्लले १५, पवन सर्राफले १२ रन जोड्नुबाहेक अन्यले दोहोर अंक जोड्न सकेनन्।

प्रकाशित: ३ फाल्गुन २०८० १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App