८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

जितबाट विश्वकप लिग–२ सुरु गर्ने योजना

बायाँबाट क्रमशः नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड, नेपालका कप्तान रोहितकुमार पौडेल र नामिबियाका कप्तान जेरार्ड इरामस।

दोस्रो संस्करणको आइसिसी विश्वकप लिग–२ सुखद बनाउने लक्ष्यसहित नेपाल घरेलु मैदानमा आजदेखि सुरु हुने त्रिदेशीय शृंखला जितबाट सुरुआत गर्ने योजनामा छ।

विश्वकप छनोटको माध्यमको रूपमा रहेको आइसिसी विश्वकप लिग–२ को तीन वर्षे साइकल आजदेखि नेपालबाटै सुरु हुँदै छ। यस संस्करण आठ टोली विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यमा छन्।

गत संस्करणका शीर्ष ६ टोलीका साथै दुई डेब्युटेन्ट नामिबिया र क्यानडाले यस पटक चुनौती प्रस्तुत गर्दै छन्। नेदरल्यान्ड्स सन् २०२७ सम्म चल्ने लिग–२ को साइकलमा सबैभन्दा बलियो टोली हो। नेपालले सोही डच टोलीसहित नामिबियासँग घरेलु मैदानमा खेल्दै छ।

कीर्तिपुरको त्रिवि मैदानमा शृंखलाका खेल हुनेछन्। नेपालले गत संस्करणमा सनसनीपूर्ण जित निकाल्दै विश्वकप छनोट खेलेको थियो।

सात राष्ट्रले प्रतिस्पर्धा गरेको त्यो संस्करणमा शीर्ष तीनभित्र रहँदै नेपालले यो सफलता पाएको हो। यस पटक भने शीर्ष चार राष्ट्रले विश्वकप छनोट खेल्न पाउनेछन्। गत संस्करण यादगार रहे पनि नेपालको सुरुआत भने सुखद हुन सकेको थिएन।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यस पटक राम्रो सुरुआत गर्ने लक्ष्य रहेको बताए। ‘गत संस्करणमा सुरुआत राम्रो हुन सकेको थिएन। यदि यो साइकलमा राम्रो गर्नु छ भने राम्रो सुरुआत हुन आवश्यक रहन्छ,’ कप्तान रोहितले भने। नेपालले त्रिदेशीय शृंखलामा कुल चार खेल खेल्नेछ। पहिलो दुई खेलमा नेपालका भरपर्दा अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन्।

उनी व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएई) मा छन्। फेब्रुअरी २० मा उनी नेपाल आउने कार्यक्रमा छ। यद्यपि, प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीमा हरेक खेलाडी आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्न सक्ने क्षमताको रहेको बताएका छन्।

कप्तान रोहितले नेदरल्यान्ड्स भर्खर विश्वकप खेलेर आएको र नामिबिया पनि राम्रो टोली रहेकाले यो शृंखला रोमाञ्चक हुने आशा व्यक्त गरेका छन्।

रोहितले आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्ने रहेको पनि धारणा राखे। प्रशिक्षक मोन्टीले घरेलु प्रतियोगिताबाट क्यानडासँगको शृंखला राम्रो नतिजा आएको उल्लेख गर्दै यस शृंखलामा पनि सोही किसिमका नतिजा आशा गरेका छन्।

क्यानडाविरुद्धको शृंखलाबाट नै लिग–२ का लागि नेपालको तयारी स्पष्ट भएको प्रशिक्षक मोन्टीको भनाइ छ। उनले दुवै टोली बलियो रहे पनि ‘वान बल ब्याटल्स’ सिद्धान्तअनुसार खेल्ने योजना सुनाए।

नामिबियाका कप्तान जेरार्ड इरामसले पनि नेपालको शृंखलामा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्। नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डले ट्वान्टी–२० फरम्याटमा जस्तै एकदिवसीय क्रिकेटमा पनि राम्रो नतिजा ल्याउने आशा राखे। उनले नेपाललाई दर्शकको राम्रो साथ हुने भए पनि आफूहरू त्यसमा खुसी नै हुने बताएका छन्। 

प्रकाशित: ३ फाल्गुन २०८० ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App