२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

कर्णालीसँग एपिएफ स्तब्ध

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट

कर्णालीविरुद्ध शतक बनाएपछि एपिएफका आसिफ सेख। तस्बिर: क्यान

ओपनर आसिफ सेखको शतकका बावजुद स्टार खेलाडीले भरिएको एपिएफले बुधबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशसँग अप्रत्याशित हार बेहोरेको छ।

फाइनलमा पुग्न जित्नैपर्ने खेलमा एपिएफ कीर्तिपुरमा कर्णालीसँग २१ रनले स्तब्ध भएको हो। कर्णालीले भने पहिलो पटक विभागीय टोलीविरुद्ध जित निकाल्यो। यो नतिजाका बावजुद फाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो लागेको छैन। यसअघि नै नेपाल पुलिस क्लब सात खेलसम्म अपराजित रहँदै फाइनलमा पुगिसकेको छ।

पुलिसले बुधबार पनि लुम्बिनी प्रदेशलाई हराउँदै आठौं जित निकाल्यो। लिगको अन्तिम खेलमा एपिएफ कर्णालीविरुद्ध जित निकाल्दै शीर्ष दुईको सम्भावना जीवन्त राख्न चाहन्थ्यो। तर, आसिफको शतकका बावजुद एपिएफ पराजित भयो।

आर्मीले अन्तिम खेलमा गण्डकीलाई हराए फाइनलमा स्थान बनाउनेछ। हार सामना गर्दा भने फाइनल यात्राका लागि आर्मीले नेट रनरेटमा भर पर्नुपर्नेछ। जितसँगै कर्णालीले नौ खेलबाट आठ अंक जोड्दा एपिएफको समान खेलबाट १० अंक रह्यो।

त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको २०७ रनको लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा १८५ रनमा समेटियो। एपिएफका लागि आसिफ र अमर रौटेलाबाहेक अन्य ब्याटर चल्नै सकेनन्। ओपनर आसिफले १०८ रनको शतकीय इनिङ खेले। उनले ११२ बलमा १० चौका र दुई छक्का प्रहार गरे।

अमरसिंह रौटेला २८ रन अविजित रहँदा कप्तान रोहितकुमार पौडेलले १४ रन र लोकेश बमले ११ रन बनाए। आसिफले सातौं विकेटका लागि अमरसँग ८७ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे।

कर्णालीको बलिङमा प्रकाश जैसीले तीन ओभरमा दुई मेडन राख्दै ९ रन मात्र खर्चिएर चार विकेट लिए। दीपेन्द्र रावत र युनिस सिंहले समान दुई तथा दिनेश अघिकारीले एक विकेट निकाले। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली ४४.१ ओभरमा २०६ रनको योगफल बनाई अलआउट भयो।

कर्णालीका लागि हिमान्शु शाहीले सर्वाधिक ६२ रन र अर्जुन घर्तीले ५३ रनको योगदान दिए। हिमान्शुले ५० बलमा सात चौका र दुई छक्का हिर्काए। अर्जुनले तीन छक्का र एक चौका प्रहार गरे।

दीपेन्द्र रावतले २७ रन, कप्तान रवीन्द्र शाहीले २२, दिनेश अधिकारीले १९ र प्रकाश जैसीले १० रन बनाए। हिमान्शु र अर्जुनले चौथो विकेटका लागि १११ रनको साझेदारी गर्दै कर्णालीलाई सम्मानजनक योगफलतर्फ अग्रसर गराए। एपिएफको बलिङमा श्याम ढकालले ९ ओभरमा दुई मेडन राख्दै ३२ रन खर्चिएर तीन विकेट लिए। अमरसिंह रौटेलाले दुई तथा भुवन कार्की र रमेश कुर्मीले समान एक विकेट लिए।

पुलिसको आठौं जित

नेपाल पुलिस क्लबले बुधबार लुम्बिनीलाई १०३ रनले हराउँदै प्रतियोगितामा अपराजित यात्रा आठौं खेलसम्म पुर्‍याएको छ। पुलिसले लिगको अन्तिम खेल सुदूरपश्चिमविरुद्ध खेल्नेछ।

मूलपानी क्रिकेट मैदानमा पुलिसले दिएको २४६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३६.३ ओभरमा १४२ रनमै अलआउट भयो। दिलसाद अलीको ३६ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

नर सार्कीले ३१ रन जोड्दा अन्य ब्याटर सस्तैमा आउट भए। पुलिसको बलिङमा कुशल भुर्तेलले तीन तथा करण केसीले दुई विकेट लिए। ललितनारायण राजवंशी, सागर ढकाल, रासिद खान, आरिफ सेख र रोशन बुढालले समान एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ३७.३ ओभरमा २४५ रनमा अलआउट भयो। आरिफ सेखले ७६ रन र करण केसीले ५७ रन बनाए।

आरिफले ७६ बलमा ९ चौका र तीन छक्का तथा करणले २७ बलमा समान पाँच चौका र छक्का प्रहार गरे। कुशल भुर्तेलले ४८ रन र अर्जुन साउदले २४ रनको योगदान दिए। लुम्बिनीको बलिङमा नर सार्कीले चार तथा वीर मगरले तीन विकेट लिए। कृष्ण कार्की र अभिषेक गौतमले समान एक विकेट लिए।  

प्रकाशित: १८ माघ २०८० ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App