११ वैशाख २०८२ बिहीबार
image/svg+xml २३:४० अपराह्न
खेल

संकटामाथि आर्मीको रवाफ

अहा रारा गोल्ड कप

संकटाविरुद्ध दोस्रो गोल गरेपछि आर्मीका दिनेश हेम्जन। तस्बिर: उमेश पुन

दिनेश हेम्जनको दुई गोल मद्दतमा साबिक विजेता संकटा एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगितामा दुई पटकसम्मको च्याम्पियनसमेत रहेको संकटामाथि यो संस्करणमा विभागीय टोली आर्मी हाबी भयो। आर्मीको जितका लागि दिनेश हेम्जनले दुई र जिलेस्पीजंग कार्कीले एक गोल गरे।

खेलको ४५औं मिनेटमा आर्मीले गोल गरेर टोलीलाई अग्रता दिलाएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा आर्मीका कप्तान भरत खवासले दायाँ साइडबाट दिएको क्रसमा अनमार्क जिलेस्पीजंग कार्कीले हेडमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। साबिक विजेता संकटा पहिलो हाफमा १–० ले पछि परेको थियो।

संकटा दोस्रो हाफको सुरुआती समयमै थप दबाबमा प¥यो। दोस्रो हाफको सुरुआती समयमै आर्मीले पेनाल्टीमार्फत गोल गर्ने मौका पाउँदै अन्तर फराकिलो बनाउँदा संकटामाथि थप दबाब परेको थियो।

खेलको ४८औं मिनेटमा आर्मीका दिनेश हेम्जनले हानेको प्रहार रोक्ने क्रममा संकटाका कुलदीप कार्कीले ह्यान्ड गरेपछि आर्मीले पेनाल्टी पाएको थियो। खेलको ४९ मिनेटमा उनै हेम्जनले पेनाल्टीमार्फत गोल गर्दै आर्मीको अग्रता दोब्बर पारेका थिए। यो गोल टोलीका लागि दोस्रो र हेम्जनको व्यक्तिगत पहिलो थियो।

संकटालाई २–० ले पछाडि पारेको अवस्थामा पनि आर्मीले आक्रामक खेल खेल्दा संकटालाई सकस नै परेको थियो। आर्मीले खेलको ७६ मिनेटमा गोलअन्तर बढाएर जित सुनिश्चितजस्तै पारेको थियो। उनै हेम्जनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाउँदै जित सुनिश्चित गरेका थिए। हेम्जनले जिलेस्पीजंग कार्कीको पासमा गोल गरेका थिए। दुई गोल गरेका हेम्जन नै आइतबारको खेलमा म्यान अफ दी म्याच बने।

त्यसअघि नै खेलको ३२ मिनेटमा संकटाका सुमित श्रेष्ठको पासमा अञ्जन विष्टले हानेको प्रहार आर्मीका गोलरक्षक सुमित श्रेष्ठले उत्कृष्ट बचाउ गर्दा संकटाको गतिलो अवसर चुकेको थियो।

खेलको २६औं मिनेटमा पनि संकटाका अनिल महर्जनले प्रहार गरेको कर्नर पेनाल्टी बक्समा कुलदीप कार्कीले पाए पनि उनको प्रहार फितलो हुँदा विपक्षी गोलरक्षक सुमित श्रेष्ठले सहजै बचाउन सके। खेलको ६४औं मिनेटमा हेम्जमले नै हानेको शक्तिशाली प्रहार गोलपोस्टमा लागेर फर्किएपछि आर्मी अन्तर बढाउने अवसरबाट चुकेको थियो।

विजेता आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडको विजेतासँग खेल्नेछन्। साबिक विजेता संकटा पहिलो खेलमै पराजित हुँदै बाहिरिएको छ।

संकटा बाई पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो। विभागीय टोली नेपाल आर्मी आहा रारामा नवप्रवेशी टोली राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम आठमा पुगेको थियो।

आहा रारामा संकटा दुई पटकको च्याम्पियन पनि हो। पछिल्लो तीन संकरणमध्ये संकटा दुईमा च्याम्पियन बनेको थियो। तर आर्मीले भने अहिलेसम्म एक पटक पनि उपाधि जित्न सकेको छैन। आर्मीले आहा रारामा चार पटक फाइनल खेले पनि सबैमा पराजित भएको थियो। सोमबार जाउलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दीबीच खेल हुनेछ।  

प्रकाशित: १५ माघ २०८० ००:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App