८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

सूर्यले लिए ६ विकेट

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट

लुम्बिनीविरुद्ध अर्धशतक बनाएपछि बाग्मतीका ईशान पाण्डे। तस्बिर: क्यान

स्पिनर सूर्य तामाङले सर्वाधिक ६ विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष क्रिकेटअन्तर्गत लिग चरणको अन्तिम खेलमा बाग्मती प्रदेशले सहज जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा तामाङले ६ विकेट लिँदा १० ओभरमा २ मेडनसहित २६ रन खर्चेका थिए। यससँगै सूर्यको यस संस्करणमा ९ खेलमा ३० विकेट पुगेको छ ।

यस जितसँगै बाग्मतीले ९ खेलमा ६ जितका साथ १२ अंक बनाउँदै लिग चरण टुंग्यााएको छ।

लुम्बिनी प्रदेशले दिएको १०७ रनको लक्ष्य बाग्मतीले ४ विकेट गुमाएर १७.२ ओभरमै पूरा गरेको थियो। बाग्मतीका लागि ओपनर ईशान पाण्डेले ५४ बलमा ५ चौका र २ छक्काको मद्दतले ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए। यसै गरी कप्तान रित गौतमले ३३ बलमा २४ रन बनाएका थिए। ओपनर आशुतोष घिराइयाले भने १४ रन बनाए।

लुम्बिनीका लागि निर्मल गुरुङले २ विकेट लिएका थिए भने कृष्ण कार्की र अभिषेक गौतमले समान १/१ विकेट लिन सफल भए। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ३२.२ ओभरमा १०६ रनमा समेटिएको थियो।

लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रन बनाएका थिए। उनले ५५ बल खेल्दै ३ चौकासहित २८ रन बनाए। यस्तै निर्मल गुरुङले ३२ बलमा ३ चौका र १ छक्कासहित २७ रनको अविजित इनिङ खेलेका थिए। प्रज्वल थापाले १४ रन बनाउँदा विराट भण्डारी १३ रनमा आउट भएका थिए। लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकसमेत छुन सकेनन्। बाग्मतीका लागि अन्य बलरमा बिपिन आचार्यले २ विकेट लिँदा प्रतीश जिसी र क्रिजन गुरुङले समान १/१ विकेट लिएका थिए।

यसै यसै गरी मूलपानीमा भएको अर्काे खेलमा गण्डकी प्रदेश एपिएफसँग ८८ रनले पराजित भएको हो। एपिएफले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी ३३.४ ओभरमा मात्र ११९ रनमा समेटिन पुग्यो।

गण्डकीका लागि ओपनर समीर कँडेलले सर्वाधिक ३३ रनको योगदान दिँदा अर्का ओपनर ईश्वर क्षेत्रीले २८ रन बनाएका थिए। त्यस्तै, कप्तान विपिन कार्कीले १८ तथा करन पंगेनीले १६ रन बनाएका थिए। एपिएफका लागि अमर रौटेलाले ४ विकेट लिए भने मौसम ढकालले ३ तथा भुवन कार्कीले २ विकेट लिएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले ४७.२ ओभरमा सबै विकेट गुमाएर २ सय ७ रन बनाएको थियो। एपिएफका लागि ओपनर लोकेश बमले सर्वाधिक ५० रनको योगदान दिएका थिए, जसमा उनले ६७ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै, भुवन कार्कीले ४५ रन तथा प्रदीप ऐरीले ३९ रन बनाएका थिए। पुरन विकले भने ३० रनको योगदान दिएका थिए। गण्डकीका लागि कमल परियारले ३ तथा विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुलीले समान २/२ विकेट लिएका थिए।

प्रकाशित: १४ माघ २०८० ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App