८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

पुलिसको अपराजित यात्रा यथावत्

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट

प्रतियोगिताका लागि टस गर्दै पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी। तस्वीर: क्यान

दिलीप नाथको अविजित अर्धशतकीय प्रेरणामा नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ।

विभागीय टोली पुलिसले कीर्तिपुरमा शुक्रबार कर्णाली प्रदेशमाथि ६ विकेटको जित निकालेको हो। यो जितसँगै ६ खेलबाट १२ अंक जोड्दै पुलिस शीर्ष स्थानमै छ। पुलिसले राउन्ड रोबिन लिगमा शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।

कर्णालीको भने चौथो हारसँगै सात खेलबाट ६ अंक छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कर्णालीले दिएको १७२ रनको सामान्य लक्ष्य पुलिसले २३.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। पुलिसको जितमा ओपनर दिलीप नाथले अविजित ७५ रनको इनिङ खेले। उनले ६२ बलमा ६ चौका र चार छक्का प्रहार गरे।

अर्का ओपनर कुशल भुर्तेलले ४३ रन जोडे। दिवान पुनको बलमा बोल्ड हुनुअघि कुशलले २८ बलमा समान तीन चौका र छक्का प्रहार गरे। ओपनर दिलीप र कुशलले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए।

यो साझेदारी तोडिएसँगै त्यसपछि ब्याटिङमा आएका अमित श्रेष्ठ १ रनमै पभेलियन फर्किए। तर, कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन जोड्दै दिलीपलाई साथ दिए। दिलीपले तेस्रो विकेटका लागि दीपेन्द्रसँग ७२ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अग्रसर गराए। दीपेन्द्रले २८ बलमा चार चौका र एक छक्का प्रहार गरे। उनी २१औं ओभरमा तेस्रो विकेटका रूपमा आउट भए।

त्यसपछि ब्याटिङमा आएका आरिफ सेख ९ रनमै आउट भए पनि पुलिसले कुनै चुनौती सामना गर्नु परेन। कर्णालीका लागि प्रकाश जैसीले दुई तथा दिवान पुन र दीपेन्द्र रावतले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले राम्रो सुरुआतका बावजुद राम्रो योगफल बनाउन सकेन।

कर्णालीले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १७१ रनको योगफल तयार पारेको थियो। कर्णालीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी बनायो। ओपनरद्वय रवीन्द्र शाही र निश्चल रावलले राम्रो ब्याटिङ गरे पनि त्यसपछिका ब्याटर चल्न सकेनन्।

निश्चलले ५० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान रवीन्द्रले ४० रनको योगदान दिए। निश्चलले १०७ बलमा ६ चौका प्रहार गरे। आक्रामक ब्याटिङ गरेका रवीन्द्रले ३५ बल खेल्दै आठ चौका र एक छक्का हिर्काए। अर्जुन घर्तीले २३ रन र दिनेश अधिकारीले २० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा कर्णाली सस्तैमा समेटियो।

पुलिसको बलिङमा स्पिनर पूर्ण हाबी भए। स्पिनर सागर ढकालले तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, ललितनाराण राजवंशी र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो। ललित भण्डारीले दुई विकेट आफ्ना नाममा लेखाए। 

प्रकाशित: १३ माघ २०८० ०७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App