२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विभागीय डर्बीमा आर्मीलाई सफलता

विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले मंगलबार एपिएफलाई हराउँदै प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष दुईमा दाबेदारी प्रस्तुत गरेको छ।

राउन्ड रोबिनको खेल सकिँदा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्नेछन्। आर्मीले शीर्ष स्थानको एपिएफलाई हराउँदै पाँचौं खेलमा तेस्रो जित निकाल्यो। शीर्षकै होडमा रहेको बाग्मतीले पनि मंगलबार गण्डकी प्रदेशलाई तीन विकेटले नतिजा सुम्पिँदाअन्य टोलीलाई फाइदा मिलेको छ।

बाग्मतीले सातौं खेलमा तेस्रो हार बेहोर्दा शीर्ष स्थानमा उक्लिने अवसर पनि गुमायो। चार खेलमा अपराजित नेपाल पुलिस क्लब आठ अंकसहित शीर्ष स्थानमा छ। तीन जितका साथ बाग्मती र ६ खेलबाट चार जित आत्मसात् गरेको मधेस प्रदेशको पनि समान ८ अंक नै छ।

मंगलबार नै कर्णालीले जारी प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको कोसी प्रदेशमाथि ६ विकेटको रोमाञ्चक जित निकाल्यो। यससँगै कोसीले प्रतियोगितामा सातौं हार सामना ग¥यो। कर्णालीले भने ६ खेलमा समान तीन जित र हार आत्मसात् गरेको छ।

भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा आर्मीले मंगलबार एपिएफमाथि चार विकेटको जित निकाल्दै शीर्ष दुईको दाबेदारी प्रस्तुत गरेको हो। खराब मौसमका कारण खेल ३६ ओभरमा छोट्याइएको थियो। कप्तान रोहित पौडेलको अर्धशतकप्रेरित एपिएफले दिएको एक सय २२ रनको लक्ष्य आर्मीले २३।३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

आर्मीका कप्तान विनोद भण्डारी ३४ रनमा अविजित रहे। बसिर अहमदले १८, कुशल मल्लले १९, इमरान शेखले १६ र सन्तोष कार्कीले ११ रनको योगदान दिए। एपिएफको बलिङमा रमेश कुर्मीले दुई तथा श्याम ढकाल र कप्तान रोहितले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ३२।४ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन बनाउन सफल भयो। कप्तान रोहितले ५९ रनको योगदान दिए। १०३ बल खेल्दै उनले समान दुई चौका र छक्का प्रहार गरे। भुवन कार्कीले १६ र सुमित महर्जनले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

आर्मीको बलिङमा सोमपाल कामीले तीन तथा अविनाश बोहराले दुई तथा विवेक यादव, साहब आलम र बसिर अहमदले समान एक विकेट लिए। मूलपानी क्रिकेट मैदानमा कोसीले दिएको १५२ रनको लक्ष्य कर्णालीले २८।३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो।

कर्णालीका अर्जुन घर्तीले ५० रन र हिमान्शु शाहीले २४ रनमा अविजित रहँदै जित दिलाए। विपिन शाहीले २८, निश्चल रावलले २१ र कप्तान रवीन्द्र शाहीले १२ रन बनाए। अर्जुनले दोस्रो विकेटका लागि निश्चलसँग ४८ रनको साझेदारी गरे। कोसीको बलिङमा हेमन्त राईले तीन र कमल खत्रीले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोसी ३४।३ ओभरमा १५१ रनमै समेटियो। कोसीका सुजन थपलियाले ७३ रन जोडे। त्यसबाहेक अन्य ब्याटर लामो समय क्रिजमा रहन सकेनन्। उनले ७३ बलमा आठ चौका र चार छक्का प्रहार गरे।

सौजन घिमिरेले १२ रन र आइस भट्टराईले ११ रन जोडे। कर्णालीको बलिङमा दिनेश अधिकारीले चार विकेट तथा प्रकाश जैसीले तीन र युनिश सिंहले दुई विकेट लिँदै कोसीको इनिङ धराशयी बनाए। अर्को खेलमा बाग्मतीले कीर्तिपुरमा गण्डकीलाई नतिजा सुम्पिँदा शीर्ष स्थानमा पुग्ने अवसर गुमायो। 

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बाग्मतीले दिएको एक सय ९९ रनको लक्ष्य गण्डकीले निर्धारित ५० ओभर सकिन तीन बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्‍यो।

प्रकाशित: १० माघ २०८० ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App