२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

शीर्ष होडमा पुलिस, बाग्मती र मधेस

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट

सुदूरपश्चिमविरुद्ध शतक बनाएपछि मधेसका मायन यादव। तस्बिर: क्यान

विभागीय टोली नेपाल पुलिस क्लबसँगै बाग्मती र मधेस प्रदेशले सोमबार प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकाल्दै शीर्ष स्थानको होडमा उभिएका छन्।

तीनै टोली समान आठ अंक बटुल्दै शीर्षताको होडमा उभिएका हुन्। तर, पुलिस चार खेलमा अपराजित छ भने ६ खेलबाट बाग्मती र मधेसले समान दुई खेलका नतिजा सुम्पिएका छन्।

सोमबार सुदूरपश्चिम प्रदेशको अपराजित यात्रामा पूर्णविराम लगाउँदै मधेसले शीर्ष टोलीसँग अंक बराबरी गरेको थियो। मायन यादवको शतक प्रेरणामा मधेसले कीर्तिपुरमा सुदूरपश्चिममाथि ८० रनको जित निकाल्यो। रिजन ढकालको पाँच विकेट प्रेरणामा बाग्मतीले मूलपानीमा कर्णाली प्रदेशललाई सात विकेटले हरायो।

शीर्ष क्रमका ब्याटरले साथ दिँदा मधेसले त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा सुदूरपश्चिमसामु ३२० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्‍यो। तर, जबाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम ४४.५ ओभरमा २३९ रनमै समेटियो र पहिलो हार बेहोर्‍यो। सुदूरपश्चिमको चौथो खेलमा यो पहिलो हार हो।

नरेन भट्टको १२१ रनको शतक सुदूरपश्चिमको जितका लागि पर्याप्त भएन। सुदूरपश्चिमको सुरुआत राम्रो हुन सकेन र पहिलो ओभरमै ओपनर टेक रावतलाई शून्यमै गुमाउन पुग्यो। तर, नरेनले इनिङ समाले पनि अर्को छेउबाट साथ पाउन सकेनन्।

उनले दोस्रो विकेटका लागि ओपनर खडक बोहोरासँग ५६ रन र पाँचौं विकेटका लागि नारायण जोशीसँग ५० रनको साझेदारी गरे। अन्य ब्याटरले भने लामो इनिङ खेल्न सकेनन्। नरेन प्रदीप पासवानद्वारा नवौं विकेटका रूपमा आउट भए। त्यसअघि नरेनले १२२ बल खेल्दै १३ चौका र एक छक्का प्रहार गरे।

किरण ठगुन्नाले २० रन र नारेन साउदले १८ रनको योगदान दिए। मधेसको बलिङमा राजेश यादव र प्रदीपले समान तीन विकेट तथा रञ्जित कुमारले दुई, हरिशंकर साह र पवन सर्राफले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१९ रनको योगफल बनायो। मायन यादवले ११५ रनको शतक जोड्दै मधेसलाई विशाल योगफलतर्फ अग्रसर गराए। उनले १२८ बलमा आठ चौका र दुई छक्का प्रहार गरे।

 मधेसले तेस्रो ओभरमै कप्तान हरिशंकर साहलाई १४ रनमा गुमाउन पुग्यो। तर, शीर्ष क्रमका अन्य ब्याटरले साथ दिँदा मधेसले विशाल योगफल बनायो। पवन सर्राफले ७० र अनिल साहले ६९ रनको योगदान दिए। पवनले ६३ बलमा समान चार चौका र छक्का तथा अनिलले ७० बलमा ६ चौका र दुई छक्का प्रहार गरे।

रूपेश सिंहले २१ रन र अविषेक तिवारीले १६ रन बनाए। मायनले तेस्रो विकेटका लागि पवनसँग १२७ रन र दोस्रो विकेटका लागि अनिलसँग १०६ रनको साझेदारी गरे। सुदूरपश्चिमको बलिङमा शेर मल्लले चार विकेट, विकास आग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले समान एक विकेट लिए।

अर्को खेलमा मूलपानी क्रिकेट मैदानमा बाग्मतीसँग सात विकेटले स्तब्ध हुँदै कर्णाली प्रदेशले पाँच खेलमा तेस्रो हार बेहोर्‍यो। कर्णालीले दिएको ७९ रनको सामान्य लक्ष्य बाग्मतीले मात्र १३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो।

ओपनर ईशान पाण्डेको ४० रन र रविन जोशीले अविजित १६ रन नै बाग्मतीको जितका लागि पर्याप्त भयो। कर्णालीको बलिङमा दिवान पुनले तीन विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली २४.२ ओभरमा ७८ रनमै समेटियो।

बाग्मतीका बलर रिजनले पाँच विकेटसँगै ईशानले दुई तथा प्रतीश जिसी, सूर्य तामाङ र विपिन आचार्यले समान एक विकेट लिँदै कर्णालीको इनिङ धराशयी बनाए। कर्णालीका लागि अर्जुन घर्तीले २३ रन र निश्चल रावलले १३ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको विभागीय डर्बीमा पुलिसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि ५८ रनको जित निकाल्यो। ४९ ओभरमा छोट्याइएको खेलमा पुलिसले दिएको एक सय ४६ रनको सामान्य लक्ष्य पछ्याएको एपिएफ ३४ ओभरमा ८७ रनमै समेटियो।

स्पिनर ललितनारायण राजवंशीले पाँच विकेट लिँदै एपिएफको इनिङ धराशयी बनाए। उनले आठ ओभरमा चार मेडन राख्दा आठ रन मात्र खर्चिए। रसिद खानले दुई तथा सागर ढकालले समान एक विकेट लिँदा एपिएफले दुई विकेट रनआउटका रूपमा गुमायो। 

प्रकाशित: ९ माघ २०८० ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App