३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आशुतोषको शतक

ओपनर आशुतोष घिरैयाको शतकमा बाग्मती प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ।

बाग्मतीले शुक्रबार कोसी प्रदेशमाथि ६४ रनको जितसहित जारी प्रतियोगितामा तेस्रो सफलता प्राप्त गरेको हो। बाग्मतीको जितमा आशुतोषले ११८ रनको शतकीय इनिङ खेले। उनी म्यान अफ दी म्याचसमेत भए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बाग्मतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोसी ४७.१ ओभरमा २०९ रनमा अलआउट भयो। बाग्मतीका ईशान पाण्डेले पाँच विकेट लिँदै कोसीको इनिङ धराशयी बनाए। सूर्य तामाङले दुई तथा रिजन ढकाल र प्रतीक श्रेष्ठले समान एक विकेट लिँदै उनलाई साथ दिए।

यद्यपि, कोसीका कप्तान अंकित सुवेदी र सुजन थपलियाले अर्धशतक बनाए पनि जित निकाल्न सकेनन्। २४.३ ओभरमा कोसी ११४-२ को अवस्थामा थियो। यस क्रममा कप्तान अंकित र सुजनले तेस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे। तर, ईशानले अंकितलाई पवेलियन फर्काउँदै त्यो साझेदारी तोडे।

त्यसपछि कोसीले खातामा थप ९५ रन जोड्दा आठ विकेट गुमाउन पुग्यो। अंकितले ५३ रन र सुजनले ५९ रनको योगदान दिए। अंकितले ६५ बलमा चार चौका र दुई छक्का प्रहार गरे। सुजनले ७६ बलमा चार चौका र तीन छक्का हिर्काए। आइस भट्टराई ३२ रनमा अविजित रहे।

कोसीका ओपनर सोनु अन्सारीले ४२ बलमा चार चौकासहित २१ रन जोडे। त्यसबाहेक अन्य ब्याटर लामो समय क्रिजमा रहन सकेनन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले ४८.३ ओभरमा अलआउट हुँदा दुई सय ७३ रनको योगफल बनाएको थियो।

तीन ब्याटर चल्दा बाग्मतीले कोसीसामु राम्रो योगफल खडा गर्‍यो। ओपनर आशुतोषले शतकीय इनिङ खेल्दा १११ बलमा १६ चौका र दुई छक्का प्रहार गरे। कप्तान रित गौतमले ४९ रन, रविन जोशीले ४३ रन र प्रतीक श्रेष्ठले १९ रन बनाए। दोस्रो विकेटका लागि आशुतोष र रितले १३१ रनको साझेदारी गरे।

रितले ६० बलमा तीन चौका तथा रविनले ४५ बलमा तीन चौका र एक छक्का हिर्काए। सात ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसके पनि बाग्मतीले कोसीसामु राम्रो योगफल प्रस्तुत ग¥यो। कोसीको बलिङमा अभ्यास तिमिल्सिनाले तीन विकेट तथा हेमन्त राई र कमल खत्रीले समान दुई तथा फ्रिर्दोश अन्सारीले एक विकेट लिए।

यो हारसँगै कोसीले जारी प्रतियोगितामा पाँच खेलको नतिजा सुम्पिन पुग्यो। यो जितसँगै बाग्मती भने पाँच खेलबाट तीन जित र दुई हारसँगै ६ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित: ६ माघ २०८० ००:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App