२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफको पहिलो पराजय

एपिएफविरुद्ध ब्याटिङ गर्दै मधेसका पवन सर्राफ। तस्बिर: क्यान

विभागीय टोली एपिएफले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार पहिलो पराजय सामना गर्दा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले भने जित निकालेका छन्।  

रूपेश सिंहको अलराउन्ड प्रदर्शनप्रेरित मधेस प्रदेशसँग एपिएफ पाँच विकेटले स्तब्ध भएको हो। रूपेशले तीन विकेटसँगै ७२ रनको अर्धशतकीय इनिङ खेले। बिहीबारकै अन्य खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको जित निकाल्दा आर्मीले कोसी प्रदेशलाई ९ विकेटले हरायो।

एपिएफको हारसँगै जारी प्रतियोगितामा नेपाल पुलिस क्लब र सुदूरपश्चिम मात्र अपराजित रहे। आर्मीले बाग्मती प्रदेशसँग अप्रत्याशित हार बेहोरेको एक दिनपछि नै एपिएफले पनि मधेसलाई नतिजा सुम्पियो। सुदूरपश्चिमले भने भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा गण्डकीलाई हराउँदै लगातार तेस्रो सफलता निकाल्यो।

मधेसले चार खेलबाट चार अंक जोड्दा एपिएफको तीन खेलबाट चार अंक नै छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एपिएफले दिएको २४७ रनको लक्ष्य मधेसले ४८ ओभरमा पाँच विकेटक गुमाउँदै भट्टायो।

रूपेशसँगै पवन सर्राफ र नीरज यादवले अर्धशतक बनाउँदा मधेसले राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल नेतृत्वको एपिएफमाथि जित निकाल्यो। रूपेशले ७२ बलमा चार चौका र तीन छक्का प्रहार गरे। पवनले ६६ बलमा पाँच छक्का र चार चौकासहित ६४ रन बनाए।

७० बलमा नीरजले तीन चौका र दुई छक्काको मद्दतले ५२ रनको योगदान दिए। चौथो विकेटका लागि पवन र नीरजले ५९ रन तथा पाँचौं विकेटका लागि रूपेश र नीरजले ८७ रनको साझेदारी गर्दै जितको आधार तय गरे। ओपनर अनिल शाहले २९ रन जोड्दा अभिशेक तिवारी १३ रनमा अविजित रहे।

एपिएफको बलिङमा रमेश कुर्मी र कप्तान रोहितले समान दुई तथा श्याम ढकालले एक विकेट लिए पनि मधेसको जित रोक्न सकेनन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रनको योगफल बनायो।

राष्ट्रिय टोलीका ओपनरसमेत रहेका आसिफ सेख र कप्तान रोहितले अर्धशतक बनाउँदै टोलीलाई मध्यम योगफलतर्फ अग्रसर गराए। तर, त्यो जितका लागि पर्याप्त भएन। रोहित र आसिफले दोस्रो विकेटका लागि १३१ रनको साझेदारी गरे।

आसिफले ६९ बलमा सर्वाधिक ५९ रन जोड्दा पाँच चौका र तीन छक्का हिर्काए। ७४ बल खेल्दै रोहितले पाँच चौका र दुई छक्कासहित ५८ रन जोडे। सन्दीप जोरा २० रनमा आउट हुँदा अमरसिंह रौटेला ४९ रनमा नटआउट रहे। मधेसका लागि रूपेशसँगै प्रदीप पासवानले समान तीन विकेट निकाल्दा रञ्जित कुमारले दुई तथा अरनिको यादवले एक विकेट लिए।

साहबको ६ विकेट

अर्को खेलमा स्पिनर साहब आलमले ६ विकेट लिएपछि आर्मीले कोसीमाथि सानदार जित आत्मसात् ग¥यो। साहबले उत्कृष्ट बलिङ गर्दै कोसीको इनिङ धरासयी बनाए।

 कसिलो बलिङ गर्दै ६.४ ओभरमा तीन मेडन राखेर उनले १४ रन मात्र बेहोरे। जारी प्रतियोगितामा साहबले १२ विकेट पूरा गरे। साहब नेतृत्वको आर्मीका बलरसामु कोसी २४.४ ओभरमा ८७ रनमै अलआउट भयो। जबाफी ब्याटिङ गरेको आर्मीले ९.५ ओभरमा मात्र एक विकेट गुमाएर लक्ष्य भेट्टायो। ओपनर इमरान सेख ३२ रनमा आउट भए।

ओपनरद्वय सन्तोष कार्की र इमरानले ६९ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। सुजन थपलियाले इमरानलाई बोल्ड गरे। तर, सन्तोष ३२ रनमा र कुशल मल्ल २२ रनमा अविजित रहँदै आर्मीलाई सहज जित दिलाए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोसी २४.४ ओभरमा अलआउट भयो।

कप्तान अंकित सुवेदीले मात्र कोसीका लागि दोहोरो अंकमा रन जोडे। अंकितले ३७ बलमा ४१ रन बनाए। उनको इनिङमा नौ चौका रह्यो। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कोसी एक समय ७०–३ को अवस्थामा थियो। तर, कोसीले थप १८ रन जोड्दा बाँकी सात विकेट गुमायो। कोसीले १९ अतिरिक्त रन पनि पाएको थियो। आर्मीको बलिङमा कुशलले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एक विकेट लिँदै कोसीलाई सस्तैमा रोके।

सुदूरपश्चिम अपराजित

भैरहवामा शेर मल्लको बलिङ र किरण ठगुन्नाको ब्याटिङप्रेरित सुदूरपश्चिमले गण्डकीमाथि सहज जितसहित लगातार तेस्रो सफलता निकालेको छ। तीन खेलसम्म सुदूरपश्चिम अपराजित छ भने गण्डकीले अहिलेसम्म जितको स्वाद चाख्न पाएको छैन।

सिद्धार्थ क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको दुई सय दुई रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै समेटियो। गण्डकीका ईश्वर क्षेत्रीले २५ रन र कमल परियारले २२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

 सुदूरपश्चिमका शेरले ८.२ ओभरमा एक मेडनसहित २३ रन खर्चेर पाँच विकेट लिँदै गण्डकीको इनिङ धराशयी बनाए। गजेन्द्र बोहराले दुई तथा भोजराज भट्ट, नरेन साउद र मिलन बोहराले समान एक विकेट निकाल्दै शेरलाई साथ दिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै २०१ रनको मध्यम योगफल बनाएको थियो।

किरणले ७३ बलमा सर्वाधिक ६० रनको योगदान गरे। उनले पाँच चौका प्रहार गरे। नारायण जोशीले ४६, शेर मल्लले १९, कप्तान राजु रिजालले १६, टेक रावतले १५ र नरेन साउदले १३ रन जोड्दा सुदूरपश्चिमको इनिङमा २०० पार भयो।

गण्डकीका कप्तान विपिन खत्रीले तीन विकेट लिए। १० ओभरमा उनले चार मेडनसहित ९ रन मात्र खर्चिए। अंकित न्यौपानेले तीन, कमल परियार र अमृत गुरुङले समान दुई  विकेट लिए। 

प्रकाशित: ५ माघ २०८० ०१:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App