१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एपिएफ फाइनलमा

इन्दु बर्माको अर्धशतकीय प्रेरणामा एपिएफले आइतबार कोसी प्रदेशमाथि सहज जितसहित प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

पाँच पटकको विजेता विभागीय टोली एपिएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको यो आठौं पटक हो। इन्दुको नटआउट ५६ रनको इनिङसँगै किफायती बलिङका साथ एपिएफ कोसीविरुद्ध सहजै हाबी भयो।

आइतबार नै सुदूरपश्चिम प्रदेशले पनि इलिमिनेटरमा बाग्मती प्रदेशमाथि ९ विकेटको जित निकाल्दै दोस्रो क्वालिफायरमा कोसीसँगको भेट पक्का गर्‍यो। यी दुईबीच लिगचरणको खेलमा कोसीले जित निकालेको थियो। यस पटक पनि सोही लक्ष्यका साथ कोसीले सोमबार सुदूरपश्चिमविरुद्ध चुनौती प्रस्तुत गर्नेछ।

पहिलो क्वालिफायर र इलिमिनेटरका दुवै खेल आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भए,जहाँ एपिएफ र सुदूरपश्चिम प्रदेशले सफलता हात पारेका हुन्।

पहिलो खेलमा एपिएफले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको कोसीले २० ओभर ब्याटिङ गरे पनि चार विकेटको क्षतिमा ८७ रन मात्र जोड्यो। पहिलो ओभरमै ओपनर काजल श्रेष्ठलाई ४ रनमा गुमाएको कोसीले निकै सुस्त ब्याटिङ गर्‍यो।

कोसीकी कप्तान रुबिना क्षेत्रीले २६ बलमा २४ रन र अप्सरी बेगमले ४८ बलमा ३१ रन बनाए। लकिता राजवंशीले १४ रन जोडिन्। एपिएफका सोनु खड्का, रेखा रावल, सुमन विष्ट र कप्तान सीता रानामगरले समान एक विकेटसँगै कसिलो बलिङ गरे। तीन ओभर बलिङ गरेकी इन्दुले पनि सात रन मात्र खर्चदै अलराउन्ड प्रदर्शन गरिन्।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा मात्र दुई विकेटको क्षतिमा एक सय ३९ रन बनायो। एपिएफकी इन्दुले ५० बलमा तीन चौका र एक छक्का हिर्काइन्। कप्तान सीताले ४५ रन जोड्दा रोमा थापा १८ रनमा नटआउट रहिन्।

तेस्रो विकेटका लागि इन्दु र रोमाले अविजित ५८ रनको साझेदारी गरे। कोसीको बलिङमा रुबिनाले मात्र एक विकेट लिएपछि एपिएफले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्‍यो। लिगको शीर्ष दुईमा रहँदै एपिएफ र कोसीले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेका हुन्।

लिगमा पनि कोसीलाई हराएको एपिएफले यस पटक पनि सो लय जारी राख्यो। दोस्रो खेलमा बाग्मतीले दिएको एक सय रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्‍यो। बिन्दु रावलले ५४ रन र सम्झना खड्काले २१ रनको अविजित इनिङ खेल्दै सुदूरपश्चिमलाई जित दिलाए।

यो जोडीले दोस्रो विकेटका लागि ५७ रनको अविजित साझेदारी गर्‍यो। ४९ बल खेलेकी बिन्दुले सात चौका प्रहार गरिन्। रुबी पोदारले दुई चौकासहित १८ रन बनाइन्।

बाग्मतीको बलिङमा मनीषा उपाध्यायले मात्र विकेट लिइन्। उनले तीन ओभरमा एक विकेट लिँदा २० रन खर्चिइन्।

त्यसअघि टस जितेर ब्याटिङ गरेको बाग्मती १९ ओभरमा ९९ रनमा अलआउट भयो। खराब सुरुआत गरेको बाग्मतीका लागि कञ्चन श्रेष्ठको ३६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो।

उनले ४६ बलमा पाँच चौका हिर्काइन्। सोनी पाख्रिनले १४ तथा हेलिसा गुरुङ र खुसी डंगोलले समान १० रन बनाए।

सुदूरपश्चिमको बलिङमा करिस्मा थापाले तीन तथा लक्ष्मी साउद र कप्तान ऋतु कनोजियाले समान दुई विकेट लिए। बाँकी तीन विकेट बाग्मतीले रनआउटका रूपमा गुमायो। लिग चरणबाट सुदूरपश्चिम तेस्रो र बाग्मती चौथो स्थानमा रहेर इलिमिनेटर खेलेका हुन्। 

प्रकाशित: १६ पुस २०८० ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App