१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

गाईघाटमा ‘दोस्रो त्रियुगा मेयर रनिङसिल्ड’ सुरु

मंगलबारदेखि सुरु ‘त्रियुगा मेयर रनिङ सिल्ड प्रतियोगिता ०८०’ मा सहभागीहरु। तस्बिर: महेश्वर

गाईघाटमा ‘दोस्रो त्रियुगा मेयर रनिङ सिल्ड प्रतियोगिता ०८०’ बुधबारबाट सुरु भएको छ। त्रियुगा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा स्थानीय थरुहट उदयपुर रंगशालामा सुरु प्रतियोगितामा एथ्लेटिक्स, पुरुष महिला भलिबल, कराते, तेक्वान्दो र कबड्डीका विभिन्न इभेन्टमा खेलहरु खेलाइने छ।

नगर खेलकुद विकास समितिका अध्यक्ष विजय सिंह दनुवारका अनुसार नगरपालिकाका १६ वटै वडामा सञ्चालित १२ कक्षासम्मका सामुदायिक तथा संस्थागत विद्यालयका छात्रछात्राको प्रतियोगितामा सहभागिता रहने छ। आउँदो १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटनका दिन एथ्लेटिक्सतर्फ १५ सय मिटर पुरुष महिला फाइनल, १ सय मिटर पुरुष महिला हिट, ४ गुणा ४ सय मिटर पुरुष महिला रिले हिटमा स्पर्धा गराइएको छ।

दोस्रो दिन १२ गते पनि एथ्लेटिक्सतर्फकै खेलमा प्रतिस्पर्धा गराइनेछ। जस अनुसार ५ हजार मिटर पुरुष फाइनल तथा २ सय मिटर पुरुष र महिला हिटमा स्पर्धा गराइने छ।

त्यसैगरी एथ्लेटिक्सतर्फकै पुरुष महिला इभेन्टमा हाईजम्प हिट, १ सय गुणा ४ रिले दौडमा पुरुष महिलाको छुट्टा छुट्टै स्पर्धा गराइनेछ। महिला पुरुष छुट्टा छुट्टै ८ सय मिटर फाइनल र लङजम्प तथा ज्यावलिङ थ्रोमा पनि महिला पुरुष दुवै इभेन्टमा स्पर्धा सोही दिन गराइने अध्यक्ष दनुवारले बताए।

१३ गतेको खेलमा एथ्लेटिक्समै ३ हजार मिटर पुरुष महिला फाइनल, ४ सय मिटर पुरुष महिला हिट, २ सय मिटर पुरुष महिला फाइनल, ४ सय गुणा ४ मिटर रिलेमा पुरुष महिला फाइनल र १ सय गुणा ४ मिटर रिलेमा पनि पुरुष महिलाको प्रतिस्पर्धा हुनेछ। त्यसैगरी त्रिपलजम्प र सटफुटको फाइनल पनि शुक्रबारकै खेल तालिकामा उल्लेख छ।

भलिबलमा पुरुषतर्फ १४ र महिलातर्फ ८ वटा विद्यालयले सहभागिता जनाउनेछन् भने कबड्डीमा पुरुषतर्फ १४ र महिलातर्फ ११ वटा विद्यालयको सहभागिता रहने छ। १४ गते समापन गर्नुअघि ४ सय मिटर र १ सय मिटरमा पुरुष महिला फाइनल खेल खेलाइने आयोजक समितिले जनाएको छ।

नगरपालिकाकी स्थानीय शिक्षा अधिकारी शिवकुमारी राउतका अनुसार त्रियुगा नगर भरिका सामुदायिक तथा संस्थागत गरी ३२ वटा विद्यालयका छात्रा–छात्राले प्रतियोगितामा भाग लिएका छन्। 

नगर शिक्षा शाखाको वार्षिक क्यालेन्डर अनुसार स्वीकृत कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको अधिकृत राउतले बताइन्।

उनका अनुसार विजयी विद्यालयलाई सिल्ड, ट्रफि, प्रमाणपत्र र नगद पुरस्कारका साथै प्रदेस्तरीय रनिङ खेलकुदमा सहभागी हुने व्यवस्था रहेको छ। इभेन्ट र आईटम खेल विजेताहरुलाई भने व्यक्तिगत नगद तथा प्रमाणपत्रको व्यवस्था रहेको अधिकृत राउतले बताएकी छिन्।

नगरप्रमुख वसन्त बस्नेतले प्रतियोगिताको उद्घाटन गर्दै त्रियुगाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी जन्माउने उद्देश्यले नगरपालिकाले खेलकुद गतिबिधिलाई बढाइरहेको बताए।

स्वास्थ्य तन्दुरुस्तीका साथै अनुशासित, गतिशील र स्वरोजगारी उत्पादन गर्ने मात्र नभएर युवाहरुलाई कुलतबाट बँचाउँदै सही दिसा निर्देश गर्ने पनि भएकाले खेलकुदलाई आफूले पहिलो प्राथमिकता दिँदै आएको मेयर बस्नेतको भनाई थियो। नगरले वर्षेनी सबै खाले खेलकुदलाई स्थान दिएर वडा तहसम्म गतिविधि गर्दै आएको भन्दै उनले आगामी दिनमा थप बढाउँदै लाने प्रतिबद्धता जनाए।

प्रकाशित: ११ पुस २०८० १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App