२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बार्सिलोनाको जितमा मेसी नायक

मड्रिड – लियोनेल मेसीले फ्रि–किकमा उत्कृष्ट गोल गरेपछि फिलिप कौटिन्होले बार्सिलोनाको पहिलो रोजाईमा खेलेको दिन आल्भेसमाथि २–१ को जित हासिल गर्दै टोलीले स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता कायम राखेको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा जोन ग्विडेटीले गोल गरेपछि भ्रमणकारी आल्भेसले २३औं मिनेटमा अग्रता लिएको थियो । तर आन्द्रियास इनियस्टाको क्रसलाई सुन्दर भलीमार्फत गोलमा परिणत गर्दै लुइस स्वारेजले समय सकिन १८ मिनेट बाँकी रहँदा खेल बराबरीमा ल्याएका थिए । जहाँ समय सकिन ६ मिनेट बाँकी रहँदा अर्जेन्टिनी सुपरस्टारले फ्रि–किकमा गोल गर्दै बार्सिलोनालाई स्पष्ट तीन अंक दिलाए ।
मेसीको गोलपछि बार्सिलोना जारी सिजनको लिगमा अपराजित रहन सफल भयो भने दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई ११ अंकले पछि छोडिराख्न सफल भयो । पराजित आल्भेस भने रेलिगेसन क्षेत्रभन्दा दुई अंकलेमात्र माथि छ ।

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले बिहीबार कोपा डेल रेअन्तर्गत भ्यालेन्सियाविरुद्धको खेल बेन्चबाट सुरु गर्दै दोस्रो हाफमा मैदान छिरेका कौटिन्होको प्रदर्शनबाट आफू खुसी रहेको बताए ।
‘खेलाडी भनेको मेसिन होइनन् । त्यसैले उनीहरु मेसिनको नयाँ पाटपूर्जाजस्तो सधै फिट भइरहन सक्दैनन्,’ भाल्भेर्डेले भने, ‘कौटिन्होले आज राम्रो गरे । उनी बलसँग खेलिरहन चाहन्थे । यो उनको मैदान पुनरागमनमा एउटा अर्को सिँडी हो । पहिलो दिन उनले २५ मिनेट खेलेका थिए, आज अली बढि खेले । विस्तारै उनी पूरा फर्ममा फर्किइरहेका छन् ।’

एट्लेटिकोले आइतबारै चाढोगरी सम्पन्न खेलमा लस पाल्मसलाई ३–० को नतिजामा हराउँदै बार्सिलोनामाथिको दबाब कायम राखेको थियो ।चोटका कारण डिएगो कोस्टा मैदान वाहिर रहेको खेलमा एट्लेटिकोले अग्रताका लागि ६१औं मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । एन्टोनी ग्रिजम्यानले हुँवाफ्रानको पासमा गोल गर्दै घरेलु मैदानमा एट्लेटिकोलाई अग्रता दिलाएका थिए । फर्नान्डो टोरेसले ७३औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे भने थोमसले समय सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै जित पक्का गरे ।
‘पहिलो हाफ राम्रो हुन सकेन । तर मध्यान्तरमा प्रशिक्षकले राम्रो ब्रिफिङ गरे, दोस्रो हाफमा हामीले त्यहीअनुसार प्रतिक्रिया जनायौं,’ जारी सिजनको लिगमा सात गोलमात्र गरे पनि वर्ष २०१८ मा भने लिग र कपमा गरी चार गोल गरिसकेका ग्रिजम्यानले भने, ‘मेरा लागि वर्षको सुरुआत राम्रो भएको छ । यसलाई निरन्तरता दिन मेरो प्रयास रहनेछ ।’

स्पेनिस ला लिगामा आइतबारै सम्पन्न अर्को खेलमा अन्तिम मिनेटमा गोल खाएर गेटाफेसँग १–१ को बराबरीमा रोकिएपछि सेभियाले रियाल मड्रिड र च्याम्पियन्स लिग स्थानसँगको दुरी तीन अंकमा घटाउने अवसर खेर फालेको छ ।घरेलु मैदानमा लुइस मरियलले समय सकिन १८ मिनेट बाँकी रहँदा सेभियालाई अग्रता दिलाएका थिए । तर गेटाफेका एन्जेल रोडरिग्वेजले इन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

प्रकाशित: १६ माघ २०७४ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App