२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

सन्दीपको गृहजिल्लामा दीपावली, क्रिकेटप्रेमी हर्षित

मकवानपुर – इण्डियन प्रिमियर लिग(आइपिएल) खेल्ने पहिलो नेपालीको रुपमा सन्दीप लामिछाने पक्का भएसँगै गृह जिल्ला चितवनमा खुशियाली छाएको छ।

नारायणगढको क्याम्पाचौरमा रहेको क्रिकेट एकेडेमी तथा क्रिकेटप्रेमीहरुले बिरेन्द्र बहुमुखी क्याम्पस, चौबिसकोठी लगायतका स्थानमा आइतबार दीप प्रज्वलन गरिएको छ। दिल्ली डेयर डेभिल्सले सन्दीपलाई २० लाख भारतीय रुपैंयामा किनेपछि खेलकुद र अन्य क्षेत्रका सरोकारवालाले खुशी व्यक्त गरेका छन्।

‘देशले नै जितेको झैं खुशी लागेको छ,’ राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवम् प्रशिक्षक राजु खड्काले नागरिकलाई भने,– ‘सन्दीप आइपिएल खेल्ने पहिलो भाग्यमानी नेपाली क्रिकेट खेलाडी भएका छन्।’

भारतमै हुँदा नै क्रिकेट खेल्न शुरु गरेका उनी नेपाल फर्केपछि ३ बर्ष अघि क्रिकेट प्रशिक्षण केन्द्र खोज्दै चितवन जिल्ला क्रिकेट संघ पुगेका थिए। संघद्वारा सञ्चालित एकेडेमीका प्रशिक्षक राजु खड्कासँग सन्दीपको पहिलो दिनको सम्झना अझै ताजै छ। ‘उसले बलिङ्ग गरेको अत्यन्त मन प¥यो, उसमा प्रतिमा लुकेको थियो।, खड्का भन्छन्– ‘उसको पहिला–पहिला स्लो स्पीङ्ग थियो, क्वीक्(छिटो) गर्नुपर्छ भनेर मैले आफैले खेलेरै प्रोत्साहन गरेको थिए।’

सन्दीपको मेहनत देखेरै आफूले क्रिकेटका तत्कालिन राष्ट्रिय प्रशिक्षक पुबुदु दासानायकेलाई बोलाएर उनको प्रतिभा देखाएको प्रशिक्षक खड्काले बताए। नारायणगढस्थित क्याम्पाचौरमा आयोजित ट्यालेन्ट हण्टमा १४ वर्षीय सन्दिपले देखाएको प्रतिभाबाट खुशी हुँदै पुबुदुले काठमाडौं र राष्ट्रिय टोलीको यात्रा गराएका थिए।
चितवन घर आउनसाथ एकेडेमी आउने सन्दीप निक्कै डिसीप्लीन र मेहनती रहेको भन्दै उनले पारिवारिक संस्कार राम्रो पाएको खड्काले बताए। क्षमता र मेहनत अनुसारको फल सन्दीपले पाउँदा देशको नाम उच्च बनाउँदै खेलाडी, क्रिकेट क्षेत्र र युवाहरुलाई समेत प्रोत्साहित गरेको उनको भनाई छ। उनले गर्व गर्दै थपे– ‘म गुरु पहिलो सेञ्चुरी मेकर थिए, चेला सन्दीप पहिलो नेपाली आईपीएल खेलाडी भए।’

चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष गंगा लामाले सन्दीपको सफलता चितवनको मात्र नभई देशकै गर्वको कुरा भएको बताए। पहिले फुटबलको क्रेज थियो, अहिले सन्दीपको प्रगतिसँगै क्रिकेट खेलमा पनि क्रेज निक्कै बढेको उनले बताए। उनका अनुसार चितवनका निजी बिद्यालयमा क्रिकेट प्रशिक्षक नै राखेर क्रिकेट खेलको बिकास भइरहेको बताए।

चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधान भने सन्दीपको प्रगतिको खुशीसँगै गुनासो गर्छन्। सन्दीपले जस्तो राजधानी बाहिरबाट पनि प्रगति गर्न सकिन्छ भन्ने नयाँ पुस्तालाई हौसला थपिएको भन्दै उनले युद्धमा होमिएको अफगानिस्तान जस्तो अवस्थामा नेपाली क्रिकेट पुग्न नसकेकोमा गुनासो गर्छन्।

क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी अनिल अधिकारीले आईपीएलमा छनौट भएसँगै सन्दीपको प्रतिभाको कदर भएको बताए। सरकार र अभिभावकहरुलाई क्रिकेटप्रति सकारात्मक वातावरण बनाउन मद्दत पुगेको भन्दै चितवन क्रिकेट संघका सदस्य समेत रहेका उनले चितवनमा राष्ट्रिय खेल मैदान बनाउन सहयोग पुग्ने बताए।

सन्दीप नवलपरासीको रजहरमा दिदी भिनाजुको घरमा समेत बसेर पढ्दै आएको बताईएको छ। भारतीय रेल्वे सेवामा जागिरे पिता चन्द्रनारायणसँगै भारतमै हुर्केर सन्दिपले क्रिकेट खेल्न उतै सिकेका थिए। चर्चित भारतीय क्रिकेट प्रतियोगिता आइपिएलका लागि छनौट भएसँगै सामाजिक सञ्जालमा सन्दीपलाई बधाई तथा शुभकामना दिनेको भिड लागेको छ भने क्रिकेट खेलबारे नयाँ बहस पनि शुरु भएको देखिन्छ।

प्रकाशित: १४ माघ २०७४ १४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App