१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालको दोस्रो हार

टेस्ट राष्ट्रलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यसहित यु–१९ एसिया कपको यात्रा थालेको नेपालले लगातार दोस्रो हार सामना गरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) मा आइतबार अफगानिस्तानसँग ७३ रनले स्तब्ध भएसँगै नेपालले जारी यु–१९ एसिया कपमा दोस्रो हार सामना गरेको हो। यो हारसँगै नेपालको सेमिफाइनल यात्राका लागि अंकगणितीय सम्भावना मात्र बाँकी छ।

आइतबार पाकिस्तानले भारतलाई आठ विकेटले हराउँदै दुई खेलबाट चार अंक बटुलेको छ। यससँगै समान खेलबाट भारत र आफगानिस्तानले समान दुई अंक बटुल्दा नेपाल भने अंकविहीन छ। समूहको ‘ए’ को अन्तिम खेलमा नेपालले भारत र अफगानिस्तानले पाकिस्तानको सामाना गर्नेछन्।

नेपालले भारतविरुद्ध जित निकालेमा भने सेमिफाइनलमा स्थान बनाउन पाकिस्तानको जितको कामनाका साथै नेट रनरेटमा निर्भर रहनुपर्नेछ।

यो नतिजा आउँदा अफगानिस्तानले पाकिस्तानविरुद्ध जित निकाल्दा भने यी दुवै टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो खेलमा नेपाल पाकिस्तान तथा अफगानिस्तान भारतसँग समान सात विकेटले पराजित भएका थिए।

दुबईस्थित आइसिसी एकेडेमीमा दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा एक सय ८८ रनमै समेटियो। नेपालको ब्याटिङमा ओपनर अर्जुन कुमालबाहेक अन्य चल्नै सकेनन्।

उनले एक सय ८ बलमा १३ चौकासहित ९१ रनको योगदान दिए। कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दीपेश कँडेलले ११ रन बनाए। खराब सुरुआत गरेको नेपालको सबैभन्दा राम्रो साझेदारी आठौं विकेटका लागि भयो।

अर्जुनले आठौं विकेटका लागि सुवास भण्डारीसँग ५० रनको साझेदारी गरे। अधिकांश समय आफैंले स्ट्राइक लिँदै अर्जनुले इनिङ अगाडि बढाउने प्रयास गरे। तर, यस क्रममा सुवास आठ रनमा आउट हुन पुगे।

दशौं विकेटका रूपमा आउट भएका अर्जुनले अर्को छेउबाट साथ नपाउँदा नेपाल सस्तैमा समेटिन पुग्यो।

अफगानिस्तानका फरिदुन दाउदजाई र नासिर खान मारूफखिलले समान तीन विकेट लिँदा मोहम्मद युनिसले दुई तथा खलिल अहमद र वाहिदुल्लाह जाद्रनले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा दुई सय ६१ रनमा समेटियो। एक समय अफगानिस्तान ६.३ ओभरमा ३३/३ को अवस्थामा थियो।

तर, जमसिद जाद्रनले चौथो विकेटका लागि जुर्मतीसँग ८१ रन र पाँचौं विकेटका लागि नुमान साह आघासँग ९७ रनको साझेदारी गर्दै अफगानिस्तानलाई राम्रो योगफलतर्फ अग्रसर गराए।

 रिटायर्ट आउट हुनुअघि जाद्रनले एक सय ६ रनको शतकीय योगदान गरे। उनले १ सय ५३ बलमा आठ चौका हिर्काए। नेपालको बलिङमा हेमन्त धामी, गुल्सन झा, सुवास भण्डारीले समान दुई तथा दीपेश कँडेल र आकाश चन्दले समान एक विकेट लिए। 

प्रकाशित: २५ मंसिर २०८० ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App