लन्डन– प्रशिक्षक आर्सेन वेंगरले म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको इङ्लिस प्रिमियर लिगमा सर्वाधिक खेलको कीर्तिमान उछिने पनि आइतबार आर्सनल वेस्ट ब्रोमसँग १–१ को बराबरीमा रोकिएपछि उनको उपलब्धि सुखद बन्न सकेन ।
वेंगरको प्रशिक्षण आर्सनलले प्रिमियर लिगमा खेलेको यो ८ सयौं ११ खेल हो । सन् १९९६ मा आर्सनलको प्रशिक्षण सम्हालेका वेंगरले फर्गुसनको ८ सय १० खेलको कीर्तिमान तोडेका हुन् । फर्गुसनले सन् १९९२–९३ देखि सन् २०१३ सम्म युनाइटेड प्रशिक्षकका रूपमा सर्वाधिक खेलको कीर्तिमान राखेका थिए ।
८३औं मिनेटमा वेस्ट ब्रोमका जेम्स म्याक्लेनले गरेको आत्मघाती गोलमा आर्सनलले अग्रता लिएको थियो । एलेक्सिस सान्चेजको फ्रि–किक रोक्ने क्रममा बलले म्याक्लेनलाई छुँदै पोस्टको दिशा लिएको थियो । तर अन्तिम एक मिनेट सम्हालिन नसक्दा वेंगरको उपलब्धि केही फिका बनेको थियो ।
जे रोडरिग्वेजले गरेको पेनाल्टी गोलमा वेस्ट ब्रोम खेलमा फर्किएको थियो । आर्सनललका क्यालुम चेम्बरले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि वेस्ट ब्रोमले पेनाल्टीको अवसर पाएको थियो । सुधारिएको प्रदर्शन गरेको वेस्ट ब्रोमले खेलको अधिकांश समय आर्सनललाई दबाबमा राखेको थियो ।
खेलको छैटौं मिनेटमा म्याट फिलिप्सले गरेको प्रहार आर्सनलका गोलकिपरले बचाएपछि वेस्ट ब्रोमले अग्रता लिने मौका खेर फालेको थियो । यस बराबरीपछि २१ खेलको समाप्तिमा ३८ अंक जोडेको आर्सनल पाँचांै स्थानमा यथावत् छ । समान खेलमा १६ अंक जोडेको वेस्ट ब्रोम १९औं स्थानमा छ ।
प्रकाशित: १८ पुस २०७४ ००:३४ मंगलबार