२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

इपीएलको फाइनल आज, रोकिएला विराटनगर ?

काठमाडौं–एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा शनिबार (आज) आमने–सामने हँुदा पारस खड्काको कप्तानीमा भएको विराटनगर वारियर्स र शरद भेषावकर नेतृत्वको भैरहवा ग्लाडियटर्स उपाधिको एउटै लक्ष्यमा हुनेछन् ।

त्यसका लागि विराटनगर अपराजित यात्रालाई उपाधि नउचालेसम्म निरन्तरता दिने योजनामा हुनेछ भने भैरहवाले आफ्नो लक्ष्य पूरा गर्न विपक्षीको यात्रामा पूर्णविराम लगाउनुपर्नेछ । विराटनगरका कप्तान पारसले लिग चरण र क्वालिफायरमा भैरहवामाथि जित हात पारे पनि फाइनल फरक हुने भएकाले विपक्षीलाई कमजोर नआक्ने बताएका छन् ।

‘हामीले प्रतियोगिताको पहिलो खेलबाट समातेको लयले लिग चरणका पाँच र क्वालिफायरमा पनि निरन्तरता पाएको छ। हामी त्यही लयलाई दोहो¥याउँदै उपाधि जित्न चाहन्छौं ।’     –पारस    

‘हामीले प्रतियोगिताको पहिलो खेलबाट समातेको लयले लिग चरणका पाँच र क्वालिफायरमा पनि निरन्तरता पाएको छ,’ खड्काले भने, ‘हामी त्यही लयलाई कायम राख्दै उपाधि जित्न चाहन्छौं ।’

‘हाम्रो टोलीले बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ,’ पारसले थपे, ‘प्रतियोगिताभर समर्थकबाट पाएको साथले हौसला बढाएको छ । हाम्रो उत्कृष्ट लयले फाइनलमा पनि निरन्तरता पाउनेमा विश्वस्त छु ।’

फाइनलसम्मको यात्रा तय गर्दा विराटनगर ब्याटिङ र बलिङ दुवैमा अब्बल देखिएको छ । विराटनगरका बाबर हायात र अशुंमन रथको ब्याटिङ साझेदारी तोड्न सबै टोलीलाई कठिन बनेको थियो । प्रतियोगितामा सर्वाधिक रन प्रहार गर्ने सूचीको शीर्ष दुईमा विराटनगरका बाबर (३ सय २ रन) र अंशुमन (२ सय ३० रन) छन् ।  त्यस्तै बलिङतर्फ पनि १२ विकेट लिएका वसन्त रेग्मी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । भैरहवाका दीपेश श्रेष्ठले ११ र भेषावकरले १० विकेट लिएका छन् ।

‘हामी यसअघि गरेका गल्ती सुधार्दै फाइनलमा विराटनगरलाई कडा चुनौती दिनेछौं । दुई उत्कृष्ट टोलीबीचको भिडन्त भएकाले खेल रोमाञ्चक हुनेछ । ’     –शरद

विराटनगर लिग चरणका पाँचवटै खेलमा शतप्रतिशत नतिजा निकाल्दै शीर्ष टोलीको रूपमा क्वालिफायरमा छनोट भएको थियो । लिग चरणको पहिलो खेलमा ललितपुर प्याट्रियट्समाथि ६ रनको जित हात पारेको विराटनगरले दोस्रो खेलमा पोखरा राइनोजमाथि ३ विकेट, तेस्रो खेलमा चितवन टाइगर्समाथि ७१ रन, चौथो खेलमा भैरहवामाथि ३५ रन र अन्तिम खेलमा काठमाडांै किङ्समाथि ८ रनको जित हात पारेको थियो ।  क्वालिफायरमा पनि विराटनगरले भैरहवालाई निराश पार्दै फाइनलमा स्थान पक्का गरेको थियो । 

यता भैरहवा लिग चरणका पाँचमध्ये ४ खेलमा जित हात पार्दै उपविजेताका रूपमा क्वालिफायरमा छनोट भएको थियो ।
पहिलो खेलमा काठमाडौंलाई ७ विकेटले पराजित गरेको भैरहवाले दोस्रो खेलमा ललितपुरलाई ४ विकेटले हराएको थियो । तेस्रो खेलमा विराटनगरलाई ३५ रनको नतिजा सुम्पिएको भैरहवाले चौथो खेलमा पोखरालाई ७ विकेट र अन्तिम खेलमा चितवनलाई ४ विकेटले पराजित गरेको थियो ।

पहिलो प्लेअफमा विराटनगरलाई नतिजा सुम्पिए पनि भैरहवाले बिहीबार सम्पन्न दोस्रो क्वालिफायरको अन्तिम ओभरमा ललितपुरमाथि ३ विकेटको रोमाञ्चक जित हात पार्दैै उपाधि भिडन्त पक्का गरेको थियो  ।भैरहवाका कप्तान शरद्ले यसअघिका दुई भिडन्तमा विराटनगरलाई नतिजा सुम्पिए पनि फाइनलमा फरक रणनीतिका साथ उत्रने बताए । खेल आज बिहान ११ बजे सुरु हुने छ ।




                             


                                                             

 

 

प्रकाशित: १५ पुस २०७४ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App