मेलबर्न–‘नो बल’ का कारण आउट हुनबाट जोगिएका ओपनर डेविड वार्नरले शतक तथा कप्तान स्टिभ स्मिथले सम्हालिएर ब्याटिङ गरेपछि ‘बक्सिङ डे’ मा सुरु भएको चौथो एसेजको पहिलो दिन मंगलबार अस्ट्रेलियाले राम्रो सुरुआत गरेको छ ।
‘पक्कै पनि स्मिथ अहिले उच्च लयमा छन् । एक बलरका हिसाबले उनीजस्तो खेलाडीविरुद्ध खेल्नु कठिन हो । तर, उनीलाई आउट गर्नु हाम्रो काम हो ।’
९९ रनको अवस्थामा जीवनदान पाएका वार्नरले २१ औं टेस्ट शतक पूरा गरेपछि मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलियाले टस जितेको भरपूर फाइदा लिएको छ । ४० मिनेटमै ९० रन कटाएका आक्रामक ओपनर वार्नर डेब्यु गरेका टोम करनको पाँचांै ओभरको अन्तिम बलमा आउट भएका थिए । ‘टप एज’ मा लागेर क्याच भएका वार्नर पवेलियन जान मिडअनसम्म पुगिसकेका थिए भने इङ्ल्यान्डले विकेटको खुसीयाली मनाइसकेको थियो । तर, रिप्लेमा करनको बल ‘ओभरस्टेपिङ’का कारण ‘नो बल’ भएपछि वार्नरलाई पुनः क्रिजमा बोलाइएको थियो ।
लगत्तै अर्को बलमा वार्नरले शतक पूरा गर्दै ब्याट उठाउँदा इङ्ल्यान्ड टोलीमा निराश छाएको थियो । १ सय ३० बलमा शतक हानेका वार्नरले हावामा उफ्रेर हेलमेट खेल्दै बक्सिङ डेको दिन रंगशालामा उपस्थित ८८ हजार १ सय ७२ दर्शकलाई अभिवादन गरेका थिए ।
तर वार्नर त्यसपछि लामो समय क्रिजमा टिक्न सकेनन् । १३ चौका र १ छक्कासहित १ सय ३ रन बनाएका वार्नर जेम्स एन्डरसनको बलमा विकेटकिपर जोनी ब्रेट सोमार्फत क्याच भए । ‘पक्कै पनि मैले खेलेको त्यो सटबाट निराश थिएँ । मलाई धेरै पछुतो लागेको थियो,’ वार्नरले भने, ‘पुनः क्रिजमा बोलाउँदा धेरै खुसी लाग्यो । त्यो दुई बलमा फरक अनुभूति मिल्यो ।’
मेलबर्न टेस्टमा २०१४ यता बक्सिङ डेमा अहिलेसम्म आउट नभएका कप्तान स्मिथ ६५ रनमा अविजित छन् । उनलाई सन मार्सले ३१ रन बनाएर साथ दिइरहेका छन् । पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले ३ विकेट गुमाएर २ सय ४४ रन जोडिसकेको छ ।
पछिल्लो तीन बक्सिङ डेमा स्मिथले भारतविरुद्ध १ सय ९२, वेस्ट इन्डिजविरुद्ध अविजित १ सय ३४ र गत वर्ष पाकिस्तानविरुद्ध १ सय ६५ रनमा अविजित रहेका थिए । जारी एसेज शृंखलामा पनि स्मिथले पाँच इनिङमा १६३.६६ रनको औसतसहित ४९१ रन जोडिसकेका छन् ।
‘म व्यग्र छैन भन्दिनँ, उनका लागि म व्यग्र छु । उनीसँगै जीवनको उच्च लयमा रहेका खेलाडीलाई आउट गर्न चाहन्छु,’ स्मिथबारे इङ्ल्यान्डका बलर एन्डरसनले भने, ‘पक्कै पनि उनी अहिले उच्च लयमा छन् । एक बलरका हिसाबले उनीजस्तो खेलाडीविरुद्ध खेल्नु कठिन हो । तर, उनीलाई आउट गर्नु हाम्रो काम हो ।’
पाँच टेस्टको एसेज शृंखलामा अस्ट्रेलियाले ३–० को अग्रता लिइसकको छ र भ्रमणकारी टोलीविरुद्ध ह्वाइट वास गर्ने लक्ष्यमा छ । मैदानको सबै दिशाबाट रन बटुलेको अस्ट्रेलियाले १ सय २ रन जोड्दासम्म कुनै विकेट गुमाएको थिएन । शतकसँगै वार्नरले ७० टेस्टबाट ६ हजार रन पूरा गरिसकेका छन् । डन ब्रेडम्यान, रिकी पोन्टिङ, र म्याथ्यु हेडनपछि छिटो रन बनाउने अस्ट्रेलियन खेलाडीको सूचीमा ग्रेग च्यापलसँगै पाँचांै स्थान छन् ।
स्टुवार्ट ब्रोडले दोस्रो एडिलेड टेस्टपछि पहिलो विकेट लिने क्रममा उस्मान ख्वाजालाई ब्रेटसोमार्फत क्याच गराए । लगत्तैको बलमा सन मार्सलाई एलबिडब्लु आउटको अपिल गरे पनि रिभ्युबाट जोगिएका थिए ।
त्यसअघि क्रिस वोक्सले ९५ बलमा २६ रन बनाएका क्यामरोन ब्यानक्रोफ्टलाई ३५औं ओभरमा आउट गरेका थिए । ब्यानक्रोफ्टले पहिलो विकेट लागि वार्नरसँग १ सय २२ रनको साझेदारी गरे । विकेटकिपर टिम पाइनेका ससुरा थोमस मग्सको सम्झनामा अस्ट्रेलियन खेलाडीले पाखुरामा कालोपट्टी बाधेका थिए । मग्स आइतबार बितेका थिए ।
प्रकाशित: १२ पुस २०७४ ००:३२ बुधबार