२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

डेनमार्क युरोकप २०२४ मा छनोट

स्लोभेनियाविरुद्ध हेड गर्ने प्रयासमा डेनर्माकका आन्द्रेस क्रिस्टेनसेन (रातो) । तस्बिर: एएफपी

डेनमार्कले आफ्नो महत्वपूर्ण खेलमा स्लोभेनियामाथि २–१ को जित निकाल्दै युरो कप २०२४ को फाइनलमा स्थान पक्का गरेको छ। अल्बानिया पनि शुक्रबार राती मोल्डोभासँग १–१ को बराबरी खेल्दै छनोटका लागि योग्य हुँदा समूह ‘इ’ मा शीर्ष दुई स्थानमा रहने भएको छ।

चेक रिपब्लिकले पोल्यान्डसँग उसैको घरेलु मैदानमा १–१ को बराबरी खेलेपछि समूह ‘ई’ बाट छनोट हुने दोस्रो टोलीको अझै टुङ्गो लागेको छैन। यो बराबरीसँगै पोल्यान्डको छनोट सम्भावना समाप्त भएको छ। समूहको आठ खेल नै पूरा गरेको पोल्यान्डको ११ अंक छ। एक खेल कम खेलेका चेक रिपब्लिकको १२ अंक र मोल्डोभाको १०अंक छ।

चेक रिपब्लिक र मोल्डोभाले आफ्नो समूहको अन्तिम खेलमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। त्यो खेलको नतिजाले नै समूह ‘ई’ बाट छनोट हुने दोस्रो टोलीको टुङ्गो लाग्नेछ।

 यता, इटाली पनि घरेलु मैदानमा नर्थ म्यासेडोनियामाथि ५–२ को रबाफिलो जित निकाल्दै समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ। यसै समूहमा रहेको इङ्ल्यान्डले माल्टामाथि  २–० को जित निकाल्यो। यो जितसँगै इटालीको युरो कप फाइनलमा स्थान बनाउने सम्भावना कायमै छ। यो समूहबाट सात खेलबाट १९ अंक जोडेको इङ्ल्यान्डले युरोकपमा स्थान बनाइसकेको छ।

अब दोस्रो टोलीका रूपमा इटाली र युक्रेन दुवैको सम्भावना बाँकी छ। यी दुईले समान सात खेलबाट समान १३ अंक जोडेका छन्। दुवैले एक खेल खेल्न बाँकी छ। आगामी मंगलबारमा दुवैले एकअर्काको सामना गर्नेछन्। त्यो खेलमा जित निकाल्ने टोलीले युरोकप २०२४ मा स्थान बनाउनेछ। यद्यपि, इटालीका लागि छनोट हुन बराबरीको नतिजा पनि पर्याप्त हुनेछ। म्यासेडोनियामाथि रबाफिलो जित निकाल्दै इटालीले युरोकप फाइनल्सको यात्रा जीवन्त राखेको हो।

रोमामा घरेलु टोली इटालीको जितमा फेडरिको चिइसाले दुई तथा माटियो डर्मियन, जियाकोमो रस्पाडोरी र स्टेफन अल सरावेले समान एक गोल गरे। नर्थ म्यासेडोनियाका जानी एटानासोभले दुई गोल गरे पनि आफ्नो टोलीको हार टार्न सकेनन्।

‘हामीले जित्यौं यो नै महत्वपूर्ण पक्ष रह्यो। साथै दुई गोल पनि बेहोर्‍यौं। तर, त्यो गोल बेहोर्ने खालको टोली हामी थिएनौं,’ चिइसाले भने।

यसअघि मिलानमा भने इटालीले युक्रेनमाथि २–१ को जित निकालेको थियो। त्यो जित जारी राख्न सकेमा इटाली युरोकप २०२४ को यात्रा तय गर्न सफल हुनेछ।

समूह ‘एच’ मा डेनमार्क र स्लोभेनिया दुवैको शुक्रबार खेल अगाडि छनोट हुने सम्भावना थियो। तर, घरेलु टोली डेनमार्कले स्लोभेनियामाथि २–१ को जित निकाल्दै फाइनलमा स्थान बनायो।

स्लोभेनिया समूहको अन्तिम खेलमा कजाखस्तानलाई हराउँदा या बराबरीको नतिजा सामना गरेको खण्डमा छनोट हुनेछ। समूहको तेस्रो स्थानमा रहेको कजाखस्तानलाई भने दोस्रो स्थानको स्लोभेनियामाथि जित निकाल्नुको विकल्प हुने छैन।

६ टोली रहेको यो समूहमा समान ९ खेलबाट स्लोभेनियाको १९ अंक र कजाखस्तानको १८ अंक छ। कजाखस्तानले शुक्रबार राती सान मारिनोमाथि ३–१ को जित निकालेपछि युरोकपको यात्रा जीवन्त राखेको हो।

प्रकाशित: ३ मंसिर २०८० ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App