१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

आशिषलाई खुला बुद्धिचाल उपाधि

दोलखाका आशिष फुयालले राष्ट्रिय खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

शंखरापुर युथ क्लबको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा आशिषले सर्वाधिक साढे सात अंकसहित उपाधि जितेका हुन्। नवौं चरणको खेलमा नेपालका पूर्वच्याम्पियन बद्रीलाल नेपालीसँग बराबरीको नतिजा सामना गरे पनि उनलाई उपाधि जित्न पर्याप्त बन्यो। त्यो बराबरीसँगै बद्रीलाल सात अंक जोड्दै उपविजेतामा सीमित भए। आशिषले २५ हजार र बद्रीलालले १५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे।

ललितपुरका सरोज महर्जनको पनि सात अंक नै भए पनि उनी बद्रीलालसँग टाइब्रेकरमा पछि रहे। सरोजले नवौं चरणको खेलमा श्रीकृष्ण श्रेष्ठलाई पराजित गरेका थिए। फिडे मास्टर क्षितिज भण्डारी भने चौथो र वर्तमान नेपाल च्याम्पियन रूपेश जैसवाल पाँचाैं स्थानमा रहन सफल भए।

केशवले आठ हजार र रूपेशले सात हजार रूपैयाँ नगद पुरस्कार पाए। काठमाडौंका सुदीप तामाङ, केशव श्रेष्ठ, ललितपुर स्पोर्ट्स क्लबका कुशल बेलबासे, ललितपुरका सानुराजा बज्राचार्य र काठमाडौंका हेमराज भण्डारी क्रमशः दशौं स्थानमा रहे।

शंकरापुर युथ क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाडाैंका नवीन तण्डुकार भेट्रानतर्फ उत्कृष्ट भए। त्यस्तै अनरेटेडमा विजेश राजकर्णिकार पहिलो स्थानमा रहे। महिलामा पूर्णिमा गुरुङ र सिन्दिरा जोशी शीर्ष दुई स्थानमा रहे। यु-१२ मुनि काठमाडौंका एन्जेल महर्जन, यु-१४ मा अध्यन्त काफ्ले र यु-१६ मा प्रज्वल चौलागाईं उत्कृष्ट भएका छन्।

प्रतियोगिताका विजेतालाई शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ र बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले पुरस्कृत गरे। प्रतियोगितामा कुल ३५ जिल्लाका ८८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: २६ कार्तिक २०८० ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App