१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

प्रदेशस्तरीय ट्वान्टी-२० क्रिकेटको उपाधि कास्कीलाई

उपाधिविजेता कास्कीका खेलाडीहरू। तस्विरः संगम/नागरिक

बागलुङमा सम्पन्न प्रदेशस्तरीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ। शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको हो।

फाइनलमा नवलपुरलाई ८ विकेटले पराजित गर्दै कास्कीले उपाधि उचालेको हो। बागलुङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा कास्की र नवलपुरसहित ६ जिल्लाले सहभागिता जनाएका थिए। टस जितेर पहिले ब्याटिङ रोजेको नवलपुरले ९० रनको सामान्य स्कोर खडा गरेको थियो। ९१ रनको टार्गेट पच्छ्याएको कास्कीले २ विकेट गुमाउँदै १५.५ ओभरमा लक्ष्य पूरा गर्‍यो।

कास्कीको जितमा मुस्कान थापाले २४, अभिषेक थापाले १७ रनको अविजित पारी खेले। कास्कीका लागि किरण पौडेलले २३ र सिभरिन श्रेष्ठले २२ रनको योगदान गरे। नवलपुरका कप्तान कमल परियार र शिशिर भुसालले समान १ विकेट लिए। पहिले ब्याटिङ गरेको नवलपुरको सुरुआत राम्रो हुन सकेन। त्यसले गर्दा १८.४ ओभरमा आउट हुँदै जम्मा ९० रन मात्र जोड्न सक्यो।

नवलपुरका लागि अनिश गुरुङले १७, दीपक डुम्रेले १४ र अपराजित पौडेलले १२ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। नवलपुरलाई सस्तैमा समेट्ने क्रममा कास्कीका कप्तान विपिन खत्रीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए।

सुवास भण्डारी र किरण पौडेलले २/२ र नीतेश गिरी र अभिषेक थापाले १/१ विकेट हात पारे। उपाधि चुमेको कास्कीले नगद १ लाख १ हजार १ सय ११ रूपैयाँ पायो। उपविजेतामा चित्त बुझाएको नवलपुरले ५० हजार ५ सय ५५ रूपैयाँ जितेको छ।

 प्रतियोगिताको म्यान अफ दी सिरिज र उत्कृष्ट बलर कास्कीका कप्तान विपिन खत्री बने। उनले १३ विकेट लिए भने ब्याट्सम्यानका रूपमा टिमका लागि महत्त्वपूर्ण ५० रन बनाए।

उनले म्यान अफ दी सिरिजको १० हजार रूपैयाँ र उत्कृष्ट बलरको ५ हजार रूपैयाँ प्राप्त गरे। तनहुँका दिनेश बुढामगर उत्कृष्ट ब्याट्सम्यान बन्दै ५ हजार रूपैयाँ प्राप्त गरे। बुढाले प्रतियोगितामा एक अर्धशतकसहित १ सय १३ रन बनाएका थिए।

बागलुङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा नेपाल क्रिकेट संघमा आबद्ध गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता रहेको थियो। विजेता खेलाडीलाई बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, बागलुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले पुरस्कार मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए। 

प्रकाशित: २६ कार्तिक २०८० ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App