१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

निरन्तर खबरदारी कायम रहनेछ :एन्फाका निवर्तमान अध्यक्ष शेर्पा

फाइल तस्बिर

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीको प्रस्तावकको रुपमा रहेका एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबलको विकास र भलाईको लागि निरन्तर खबरदारी कायमै रहने बताएका छन्।

वर्तमान कार्यसमितिलाई पद जोगाउने बाहेक फुटबलको विकासमा ध्यानै नभएको आरोप लगाउँदै उनले एन्फामा रहेको विकृति र विसंगतीको विषयमा निरन्तर आवाज उठाउने बताए । ‘महिला लिग भएको छैन, ए डिभिजन लिगको चक्र पूरा भएको छैन, खेलाडी पलायन भइरहेकै छ, सरकारसँग समन्वय गर्न सकेको छैन’, उनले भने, ‘पूर्वाधारको विकासमा आएको पैसा त्यत्तिकै सक्काइएको छ । यसले नेपाली फुटबलको विकास हुँदैन । 

हाम्रो खबरदारी कायमै रहनेछ ।’ एन्फामा विधान विपरीतको काम निरन्तर हुँदै आएको आरोप लगाउँदै उनले मतदातालाई प्रभावित पार्ने काम गरिएको आरोप समेत लगाए। प्रस्तावको पक्षमा सही गर्नेहरूले नै विपक्षमा भोट हालेको भन्दै उनले फुटबलमा अझै खराबी बाँकी नै रहेछ भन्ने प्रमाणित भएको बताए।

विशेष साधारण सभामा बर्खास्तीको प्रस्तावका प्रस्तावकलाई नै बोल्ने मौका नदिएको, माइक बन्द गर्ने, सभा स्थगित गर्ने काम भएको शेर्पाले आरोप लगाए। यस अघि आजै एन्फाको विशेष साधारण सभामा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव अस्वीकृत भएको छ ।आज हेटौडामा भएको मतदानमा बहुमतले बर्खास्तीको प्रस्ताव अस्वीकार गरेको हो। मतदान अधिकार प्राप्त ८६ जनामध्ये ५३ जनाले मतदान गरेकोमा ५२ मत नेम्वाङलाई नहटाउने भन्नेमा परेको थियो। एक मत भने बदर भएको थियो ।३४ जनाले मतदान प्रक्रियामा सहभागिता नै जनाएनन्।उनीहरुले मतदान प्रक्रिया बहिष्कार गरेको घोषणा गरेका थिए।भदौ २५ मा एन्फाका ८७ मध्ये ४९ सदस्यले अध्यक्ष नेम्वाङको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव पेश गरेका थिए। 

प्रकाशित: २३ कार्तिक २०८० १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App