५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल उपाधि विमुख

‘सुपर ओभर’ मा खराब बलिङसँगै नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा आइतबार ओमानसँग पराजित हुँदै उपाधि विमुख भएको छ ।

टवान्टी–२० को उत्कृष्ट बलर मानिएका अविनाश बोहोराले खराब बलिङ गरेपछि नेपालले सुपरओभरमा २२ रनको चुनौतीपूर्ण लक्ष्य पायो । तर, जबाफमा नेपालले १० रन मात्र बनाएपछि उपाधिविमुख हुन पुग्यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एक सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८४ रन जोडेपछि खेल ‘टाई’ हुँदा सुपरओभरमा धकेलिएको हो । तर, सुपर ओभरमा अविनाशले खराब बलिङ गरे । नसिम खुसीले उनलाई तीन छक्का प्रहार गर्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिए ।

जबाफमा नेपालले पहिलो बलमा नै कुशल भुर्तेललाई गुमाउन पुग्यो । ओमानका बिलाल खानले उत्कृष्ट बलिङ गर्दै दोस्रो बलमा कुनै रन दिएनन् । उनले तेस्रो र चौथो बलमा समान एक रन मात्र दिँदै ओमानको जित सुरक्षित गराए । कुशल मल्लले पाँचौं र छैटौं बलमा चौका प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । त्यसअघि १८५ रनको लक्ष्य पछ्याएको ओमानलाई अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक थियो । तर, डेथ ओभरमा सन्दीप लामिछानेले दुई विकेट लिँदा सात रन मात्र खर्चिएपछि खेल ‘टाई’ भयो ।

तथापि, सुपर ओभरमा खराब बलिङपछि नेपाल उपाधि विमुख रह्यो । समूहचरणमा नै नेपालमाथि जित निकालेको ओमान अपराजित रहँदै उपाधि जित्न सफल भयो । चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा ओमानले सुरुदेखि आक्रामक ब्याटिङ गर्‍यो । पावर प्लेमा एक विकेट गुमाउँदा ओमानले ६३ रन जोड्यो । ओपनर कश्यप प्रजापतिले ६३ रन जोड्दा अकिब इलियसले ३३ रन, कप्तान जिसान मक्सुदले २६ रन बनाउँदा मोहम्मद नादिम २४ रनमा नटआउट रहँदै ओमानलाई बलियो स्थितिमा पुर्‍याए ।

अन्तिम ओभरमा सन्दीपसामु चल्न नसक्दा जित भने निकाल्न सकेन । नेपालको बलिङमा सन्दीप र करण केसीले दुई तथा विवेक यादव, अविनाश, गुल्सन झा र सोमपाल कामीले समान एक विकेट लिए । त्यसअघि टस जितेर उत्कृष्ट ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८४ रन जोड्यो । कप्तान रोहित पौडेलले ५२ रन र गुल्सनले ५४ रनको अर्धशतकसहित राम्रो योगफलसम्म पु¥याए । नेपालले २.४ ओभरमा ओपनर आसिफ शेखलाई ६ रनमै गुमायो ।

तर, अर्का ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै पावरप्लेमा ४७/१ को स्थितिमा पुर्‍याए । सातौं ओभरको पहिलो बलमै नेपालले अर्को विकेट पनि गुमायो । सन्दीप जोरा १३ बल खेलेर १० रनमा आउट भए । लगत्तै आठौं ओभरमा कुशल भुर्तेल ३१ रनमा पवेलियन फर्किएसँगै ओमानी बलर हाबी भए । दबाबमा परेको नेपालले दशौं ओभरमा कुशल मल्ललाई ३ रनमै गुमाएपछि ६०/४ को नाजुक अवस्थामा पुग्यो । तथापि, कप्तान रोहितले पाँचौं विकेटका लागि गुल्सनसँग ७८ रनको साझेदारी गर्दै राम्रो स्थितिमा पुर्‍याए । १६.६ ओभरमा बिलालले गुल्सनलाई आउट गराउँदै साझेदारी तोडे ।

गुल्सनले २५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । एक छेउबाट रोहितले इनिङ अगाडि बढाए । तर, विवेक यादव ३ बल खेलेर १ रनमा आउट हुन पुगे । १६.६ ओभरमा नेपाल १३८/५ को अवस्थामा थियो । त्यसपछि करण केसीले रोहितसँग छैटौं विकेटका लागि अविजित ३२ रनको साझेदारी गरे । करणले ६ बलमा दुई छक्का र एक चौकासहित २० रन जोडे । रोहितले ३७ बलमा पाँच चौका र दुई छक्का हिर्काए । ओमानको बलिङमा बिलालले तीन विकेट तथा अकिब इलियसले दुई र जिसानले एक विकेट निकाले । 

प्रकाशित: २० कार्तिक २०८० ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App