२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

कात्तिक १५ देखि मुख्यमन्त्री कोहलपुर गोल्ड कप

यस क्षेत्रको सर्वाधिक पुरस्कार राशि भएको ‘मुख्य मन्त्री कोहलपुर गोल्ड कप’ को तयारी भएको छ । कोहलपुर रेसिङ सहारा क्लब बाँकेको आयोजनामा यही कात्तिक १५ गतेदेखि गोल्ड कप सुरु गर्न लागिएको हो ।  

कोहलपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक पक्षले गोल्ड कपको आवश्यक तयारी भइरहेको जानकारी दियो । क्लबका अध्यक्ष चक्र क्षत्रीका अनुसार गोल्ड कपको विजेता टिमले नगद ८ लाख र तथा उपविजेताले नगद ४ लाख प्राप्त गर्नेछन् ।  

गत वर्ष पहिलो पटक आयोजना गरिएको कोहलपुर गोल्ड कपको उपाधि एफसी क्लब क्यामरुनले हात पारेको थियो । ब्वाइज युनियन क्लब काठमाडौंलाई पराजित गरेको एफसीले नगद ७ लाख प्राप्त गरेको थियो । ‘नकआउट’ प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगितामा आयोजक टोलीसहित स्वदेशी र विदेशी गरी ८ वटा टोली सहभागी हुने अध्यक्ष क्षत्रीले जानकारी दिए ।  

‘गोल्ड कप खेल्न विदेशी टोली कोहलपुरका लागि हिँडिसकेको छ,’ उनले भने ‘यस वर्षको खेल अझ हेर्न लायक हुनेछ, खेल अवलोकन गर्न आउने दर्शकसँग केही शुल्कसमेत लिने निर्णय गरेका छौं ।’ आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने निश्चित भएको आयोजकले जनाएको छ ।  

गोल्डकपको माध्यममार्फत यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने आयोजकको विश्वास छ । गोल्डकप खेल्न आउने स्वदेशी र विदेशी खेलाडीलाई बाँके राष्ट्रिय निकुञ्ज, प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलगायत बाँकेको पर्यटकीय क्षेत्रको अवलोकन गराउने क्लबका अध्यक्ष क्षत्रीले सुनाए । गोल्डकप सञ्चालन गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, कोहलपुर नगरपालिका, नेपाल टेलिकमलगायतले सहकार्य गरेको आयोजकले जनाएको छ ।  

प्रतियोगिता सञ्चालनमा स्थानीय स्तरबाट पनि स्वतःस्र्फुत रूपमा सहयोग प्राप्त भएको आयोजकको भनाइ छ । ‘गत वर्षका कमीकमजोरी तथा चुनौतीलाई सुधार गरेर हामीले यस वर्ष व्यवस्थापनमा विशेष ध्यान दिएका छौं,’ अध्यक्ष क्षत्रीले भने । पत्रकार सम्मेलनमा गोल्ड कपको ‘टिसर्ट’ समेत सार्वजनिक गरिएको थियो । 

प्रकाशित: १३ कार्तिक २०८० ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App