२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकप फागुन २४ देखि सुरु हुने

सातौं माइभ्याली गोल्डकपबारे जानकारी दिँदै आयोजक। तस्बिर: भीम/नागरिक

छैटौं संस्करणपछि स्थगित इलामको प्रतिष्ठित माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण आउँदो फागुन–चैतमा सञ्चालन गरिने भएको छ। माइभ्याली फुटबल क्लबले फागुन २४ देखि चैत ३ सम्म प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। 

क्लबले सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता सञ्चालनबारे जानकारी दिएको हो। २०७१ सालमा क्लब स्थापनापछि प्रत्येक वर्ष सञ्चालन भइरहेको प्रतियोगिता कोभिड महामारीका कारण ०७७ सालयता सञ्चालन हुन सकेको छैन। ठूलो टुँडिखेलमा सञ्चालन गरिने प्रतियोगितामा विदेशी दुईसहित १० टिमले भाग लिनेछन्। क्लब अध्यक्ष दिनेश काफ्लेले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग समन्वय गरी प्रतियोगिताको मिति केही तल–माथिसमेत पर्नसक्ने बताए। ‘हामी आयोजकले त मिति तय गरिसकेकै छौं तर एन्फासँगको समन्वयमा यो मिति थोरै फरक पर्न पनि सक्छ, नपर्न पनि सक्छ,’ उनले भने, ‘जे भएपनि यही मितिलाई आधार मानेर तयारी गर्दैछौं।’ 

विजेताले नगद १० लाख (करबाहेक) र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार (करबाहेक) पाउने छन्। अन्य पुरस्कार राशिमा साढे तीन लाख रुपैयाँ खर्च हुनेछ। खेलाडीको यातायात र उनीहरूको होटल बासमा मुख्य खर्च हुनेछ। प्रतियोगितामा ८५ लाख १० हजार रुपैयाँ खर्च र ८८ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ। गेट टिकट, इलामका पालिका र देशका विभिन्न संघ–संस्थाबाट प्रतियोगिता सञ्चालनका लागि सहयोग प्राप्त हुने क्लबका कोषाध्यक्ष कमल सुवेदीले बताए। ‘प्रतियोगिताको सबै खर्च संकलन गर्नुपर्ने अवस्था छ,’ कोषाध्यक्ष सुुवेदीले भने, ‘यसअघिका प्रतियोगितामा दाताले घोषणा गरेको मोटो रकम नआउँदा आर्थिक रूपमा चाहिँ शून्यकै अवस्थाबाट सुरु गर्नुपर्ने देखिएको छ।’

यसपटकको प्रतियोगिता सञ्चालन हुने १० दिनमध्ये आठ दिन विभिन्न किसिमका बिदा परेकाले दर्शकको संख्या बढ्ने आशा आयोजकले गरेको छ। माइभ्याली गोल्डकपमा यसअघि पनि दर्शकको घुइँचो लाग्नेगरेको थियो।  

प्रकाशित: ३० आश्विन २०८० १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App