५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

काठमाडौं म्याराथनमा आर्मीका होमलाल च्याम्पियन

खराब समयका बावजुद त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ शनिबार १५औं काठमाडौं म्याराथनमा च्याम्पियन बन्न सफल भएका छन् ।

एनआरएस स्पोर्ट्स फाउन्डेसनको आयोजनामा सम्पन्न म्याराथनमा होमलालले खराब समय निकाले पनि त्यो च्याम्पियन बन्न पर्याप्त भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको म्याराथन ललितपुर र भक्तपुरका विभिन्न स्थान हुँदै पुनः रंगशालामा पुगेर टुंगिएको थियो । ४२ किलोमिटरको सो म्याराथनमा होमलालले दुई घण्टा ३०.२५ मिनेटको समय निकाले । जुन समय उनलाई च्याम्पियन बन्न पर्याप्त बनेको हो । एपिएफका सन्तोष विष्ट दुई घण्टा ३७.०१ मिनेटका साथ उनका निकटतम प्रतिद्वन्द्वी रहे । एपिएफका राजन चौधरी तेस्रो स्थानमा रहे ।

उनले दुई घण्टा ४३.०१ मिनेट समयमा दूरी पूरा गरे । च्याम्पियन होमलालले एक लाख रूपैयाँ नगदसहित इनड्राइभरले प्रायोजन गरेको इलेक्ट्रिक स्कुटर प्राप्त गरे । सन्तोषले ५० हजार र राजनले २५ हजार रूपैयाँ नगद पुरस्कार पाए । हाफ म्याराथनको उपाधि भने पुरुषमा खड्गबहादुर खड्का र महिलामा विन्द्रा श्रेष्ठले जिते । आर्मीका खड्गबहादुरले एक घण्टा ७.२९ सेकेन्डमा दौड पूरा गरे । १३औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी दोस्रो स्थानमा खुम्चिए ।

उनले सन् २०१९ को सागमा २४ वर्षपछि नेपाललाई स्वर्ण पदक दिलाएका थिए । एपिएफका किरणले घरेलु प्रतियोगितामा हाफ म्याराथनमा भने खराब नतिजा सामना गर्नुपर्यो । उनले एक घण्टा ०८. ५६ सेकेन्डमा दूरी पूरा गरेका थिए । एपिएफका राजेन्द्र तामाङ एक घण्टा १४ मिनेट ३७ सेकेन्ड समयका साथ तेस्रो स्थानमा रहे । महिलातर्पm भने एपिएफकी विन्द्रा श्रेष्ठले एक घण्टा २५ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गर्दै सफलता पाइन् । विन्द्रा पहिलोदेखि पाँचौं संस्करणसम्म च्याम्पियन हुन् ।

आर्मीकी पूर्णलक्ष्मी न्यौपाने एक घण्टा २७ मिनेट ७ सेकेन्डका साथ दोस्रो भइन् । नेपाल पुलिसकी सुमित्रा चौधरी एक घण्टा ३० मिनेट ३८ सेकेन्ड समय निकाल्दै तेस्रो स्थानमा रहिन् । महिला र पुरुष दुवैतर्फ हाफ म्याराथनका विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुने खेलाडीले १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे । पाँच किलोमिटर खुला पुरुषमा पुलिसका नागेश्वर अहिरले सफलता पाए । उनले १७ मिनेट ५१.२८ सेकेन्डको समय निकाले ।

एपिपएफका सञ्जीव नेपाली दोस्रो र आर्मीका गोपाल तामाङ तेस्रो स्थानमा रहे । सोही दूरीमा महिलातर्पm आर्मीर्की विमला तामाङ च्याम्पियन भइन् । विमलाले २१ मिनेट ३९.८१ सेकेन्ड समयका साथ सफलता पाइन् । आर्मीकै बबिता राई दोस्रो र वसन्ती गोले तेस्रो स्थानमा रहे । पाँच किलोमिटर दूरीको विद्यालयतर्फ छात्रामा पूर्णिमा श्रेष्ठ र छात्रमा कृष्णबहादुर श्रेष्ठले उपाधि जिते । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरेका थिए ।

प्रकाशित: २८ आश्विन २०८० ०१:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App