१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

अञ्जनले टारे लाओससँगको हार संकट

अञ्जन विष्टको कीर्तिमानी गोल प्रेरणामा नेपालले फिफा विश्वकप २०२६ छनोटअन्तर्गत प्रारम्भिक चरणको पहिलो लेगको खेलमा लाओससँग हारको संकट टारेको छ ।

अञ्जनले बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ वर्षदेखि रहेको नेपालको सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरे । उनले हरि खड्का र नीराजन रायमाझीसँगै नेपालका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका हुन् । तीनैको नाममा सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोल छ । अञ्जनको त्यो कीर्तिमानमा ११ हजार दुई सय ३५ दर्शक साक्षी रहे । अञ्जनको कीर्तिमानी गोलले नै बिहीबार लाओससँगको पहिलो लेगमा नेपालको हार संकट टर्यो । पछि परेको अवस्थामा नेपालले बराबरी गर्दै हारको संकट टारेको हो ।  

नेपालले घरेलु मैदानको फाइदा उठाउन सकेन । लाओससँग पहिलो हाफमा दबाबमा रहेर खेल्दा घरेलु टोली पछि पर्यो । फिफाको १७५औं स्थानमा रहेको नेपाल घरेलु मैदानमै १८६औं वरीयताको लाओससँग बराबरीको नतिजा सामना गर्न बाध्य भएको हो । लाओसले खेलको ३३औं मिनेटमा नै अग्रता लियो । बौनफाचन बौनकोङले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । मध्यभागमा आयुष घलानको ब्याक पास सदुपयोग हुन नसक्दा बौनफाचनले त्यसको फाइदा उठाए । बौनकोङले ओभरहेड बल खुट्टाले नियन्त्रणमा लिँदै आफ्नो गति र कौशलता देखाए ।  

यस क्रममा उनले नेपालका तीन डिफेन्डरलाई बिट गर्दै सुन्दर गोल गरे । उनको प्रहारमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जाङसँग कुनै जबाफ नै रहेन । त्यो गोलसँगै पहिलो हाफमा नेपालले निकै दबाबबीच खेल्यो । तर, दोस्रो हाफमा भने नेपालले सुधारिएको प्रदर्शन गर्यो । दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काउँदै लाओसलाई चुनौती दिने संकेत गर्यो । ४८औं मिनेटमा अञ्जनले गोल गर्दै नेपाललाई बराबरीमा ल्याए । एरिक विष्टको कर्नर बललाई उनले हेडरमार्पmत पोस्टको दिशा दिएका हुन् ।  

अञ्जनको त्यो गोलसँगै लाओस निकै दबाबमा पर्यो । नेपालले आक्रामक खेल देखाउने प्रयास गर्दा लाओस केही रक्षात्मक देखियो । अञ्जनको त्यो गोलले नेपालको प्रदर्शन सुधारियो । सँगै उनले पनि नेपालका लागि कीर्तिमानी गोलसंख्या भेटाए । अञ्जनले सन् २०१४ मा फिलिपिन्ससँगको खेलबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका हुन् । तर, उनले पहिलो गोल गर्न सन् २०१९ कुर्नुपर्यो । त्यति बेला उनले चाइनिज ताइपेईविरुद्व गोल गरेका थिए । अञ्जनले आफू रेकर्डको लागि नखेलेको र जितको पर्खाइमा रहेको बताए ।  

सबैले बधाई दिए पनि जित नै आफ्नो महत्त्वपूर्ण रहने र आगामी दोस्रो लेगमा जित निकाल्ने प्रतिबद्धता व्यक्त गरे । लाओसविरुद्ध मिडफिल्डर उत्सव राईले पनि नेपालको सिनियर टोलीबाट डेब्यु गरे । दोस्रो हाफको सुरुमै उनी आवास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका हुन् । त्यस खेलको पहिलो हाफमा लाओसले दबाब बनाए पनि दुवै टोलीले केही अवसरहरू गुमाए । १३औं मिनेटमा लाकेन लिम्बुको प्रहार बाहिरिँदा नेपाल अग्रता लिनबाट वञ्चित हुन पुग्यो । त्यसको चार मिनेटमा लाओसका काइदाभोने सौभानीको प्रहार नेपालका गोलकिपर किरणले बचाए ।

पहिलो हाफको अन्त्यतिर आवासको क्रसमा जिलेस्पीजंग कार्कीको वान टच प्रहार बाहिरियो । ८१औं मिनेटमा अञ्जनको हेडरमा लाओसका गोलकिपर शेशेभाट बाधक बने र नेपाल बराबरीमा नै चित्त बुझाउन बाध्य भयो । खेलपछि नेपालका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले खेलाडीले पहिलो हाफमा राम्रो खेल्न नसकेको र दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको बताए । दोस्रो लेग अक्टोबर १७ मा लाओसको घरेलु मैदानमा हुनेछ ।

लाओसका सहायक प्रशिक्षक फौतपासोङ सेङदालाभोङले खेलका रेफ्रीले आफूहरूले पाउनुपर्ने पेनाल्टी नदिएको भन्दै असन्तुष्टि पोखे । उनले आगामी आफ्नै घरेलु मैदानमा हुने खेलमा कुन टोली हाबी हुने अहिल्यै नै भन्न नसकिने पनि प्रस्ट्याएका छन् । लाओसका मुख्य प्रशिक्षक केनलाया सिसोमभाङले रेफ्रीसँग विवाद गर्दा रातो कार्ड खाँदै बाहिरिएका थिए । 

प्रकाशित: २६ आश्विन २०८० ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App