१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

भारोत्तोलनमा विशालसिंहको तीन राष्ट्रिय कीर्तिमान

म्याराथानमा प्रतिस्पर्धा गर्दै पुष्पा भण्डारी। तस्बिर: नागरिक, भारोत्तोलनका विशालसिंह विष्ट भार उठाउँदै। तस्बिर: लोकेन्द्र/राखेप

नेपालका विशालसिंह विष्टले जारी १९औं एसियाली खेलकुदमा बिहीबार भारोत्तोलनमा व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय कीर्तिमान बनाए पनि पदक प्रतिस्पर्धामा भने अगाडि बढ्न सकेनन्।

चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजियममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले तीन राष्ट्रिय कीर्तिमान बनाएका थिए। यद्यपि, उनको त्यो प्रदर्शन पदकका लागि दाबेदारी प्रस्तुत गर्न पर्याप्त भएन।

विशालले स्न्याच र क्लिन एन्ड जर्कमा गरेर कुलमा ३०१ केजी भार वहन गरे। उनको यो प्रदर्शन नेपालका कुनै पनि भारोत्तोलकको अहिलेसम्मकै उत्कृष्ट हो। यद्यपि, उनी आफ्नै समूहमा नै पछि परे। कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलो पटक ३०१ केजी उठाए।

यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुल तीन सय केजीसम्मको भार वहन गर्न सकेका छैनन्। नेपाली भारोत्तोलन टिमका व्यवस्थापकसमेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले विशालको प्रदर्शनले पदक जित्न नसके पनि निकै उत्साहित बनाएको बताए।

विशालले स्न्याचको पहिलो प्रयासमा १२१ केजी, दोस्रो प्रयासमा १२७ केजी र १३३ केजीको भार उठाए। यद्यपि, यस समूह ‘बी’ मा कजाखस्तानका खेलाडी पेट्रोभिच सेर्जेईले १५६ केजी र किर्गिस्तानका इमिल मोल्दोडोसोभले १५५ केजी उठाउँदै उनलाई पछि पारे।

किर्गिस्तानकै अर्का खेलाडीले पनि १३५ केजी उठाउँदै विशाललाई पछि पारे। क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमान पनि सुधार गरे।

स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो।

केही साताअघि रियादमा सम्पन्न विश्व भारोत्तोलन च्याम्पियनसिपमा उनले सो कीर्तिमान बनाएका हुन्। स्न्याचमा भने विशालले दोस्रो लिफ्टमा नै १२७ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए।

त्यस्तै क्लिन एन्ड जर्कमा विशालले पहिलो लिफ्टमा १६१ केजी वजन उठाउँदै आफ्नो करियरको उत्कृष्ट प्रदर्शन गर्ने संकेत गरे। उनले दोस्रो लिफ्टमा नै १६८ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान रचे।

तेस्रो पटकमा कीर्तिमान सुधार गर्ने उनको प्रयास भने सफल हुन सकेनन्। १७५ केजी तौल भार उठाउन लागेका विशाल सुरुमा नै असफल भए। जारी एसियाली खेलकुदमा भारोत्तोलनतर्पm नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गरिसकेका छन्। अब अन्तिम दिन शनिबार सागर भण्डारीले नेपालको अन्तिम चुनौती प्रस्तुत गर्नेछन्।

कराते: नेपालको खराब प्रदर्शन

नेपालका मोहम्मद आलम सेखु जारी १९औं एसियाली खेलकुदमा बिहीबार करातेको कुमुते (फाइट) मा निकै खराब प्रदर्शन गर्दै बाहिरिएका छन्।

लिनपिङमा स्पोटर््स सेन्टरमा पुरुष ७५ केजी तौलसमूहमा सेखुले अन्तिम १६ को खेलमा कजाखस्तानका नुरकानभ अजिकानोभसँग ५–० अंकको हार सामना गरेका थिए। नुरकानभ एसियन च्याम्पियन तथा विश्व च्याम्पियनसिपमा कांस्य पदक विजेता हुन्।

 उनी फाइनलमा पुगेपछि सेखुले रिपेचेजमार्पmत कांस्य पदक यात्रा लागि प्रतिस्पर्धा गर्ने अवसर पाए। यद्यपि, रिपेचेजमा उनले निकै खराब प्रदर्शन गरे। सेखुले रिपेचेजमा किर्गिस्तानका नाजिम नुरनालानोभसँग रक्षात्मक भएर खेले।

यस क्रममा सेखुले तीन पेनाल्टीको सामना पनि गर्नुपर्‍यो। सोही पेनाल्टी नै उनको हारको कारण बन्यो। यससँगै जारी एसियाली खेलकुदमा करातेको कुमुतेतर्पm नेपालको पहिलो चुनौती निराशाजनक रूपमा समाप्त भयो। त्यसअघि कातामा पनि नेपालले प्रतिस्पर्धा गरेको थियो।

सोनिम मानन्धरले एकल कातामा नेपालका लागि प्रतिस्पर्धा गरेका थिए। उनको प्रतिस्पर्धा करातेमा नेपालको पहिलो चुनौती थियो। तर, उनी पाँचौं स्थानमा रहे र अर्को चरणमा छनोट हुन असफल भए।

सोनिमले ३८.३० अंक पाए। यो समूहमा चार खेलाडी छनोट भएका थिए। महिला एकल कातामा एलिसा रासकोटी मगरको प्रदर्शन पनि निराशाजनक रह्यो। उनले ३७.३० अंक बटुल्दै पाँचौं स्थानमा रहिन्। उनको प्रदर्शन अर्को छनोटको यात्रा तय गर्न अपर्याप्त रह्यो। कुल आठ खेलाडी सहभागी यो समूहमा उनले बंगलादेश र कम्बोडियाका खेलाडीलाई मात्र पछि पारिन्। नेपालले करातेमा कुल ९ खेलाडीको प्रतिस्पर्धा तय छ। पहिलो दिन नै तीन खेलाडीको चुनौती समाप्त भएको छ।

म्याराथन: महिला, पुरुष दुवैको बिर्सनलायक प्रदर्शन

नेपालका दुई धावक राजन रोकाया र धाविका पुष्पा भण्डारीले जारी १९औं एसियाली खेलकुदमा म्याराथनतर्फ बिर्सनलायक प्रदर्शन गरेका छन्।

स्मार्ट न्यु वर्ल्ड चिन्ताङ रिभरमा बिहीबार भएको म्याराथनमा नेपालका धावक राजन र धाविका पुष्पाले खराब प्रदर्शन गरेका हुन्। एसियाली खेलकुदमा पुष्पाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानको समयभन्दा धेरै पछिको नतिजा सामना गरिन्।

पुरुषतर्फ राजनको प्रदर्शन पनि सुखद रहेन। उनी समग्रमा १४औं स्थानमा रहे। उनले निर्धारित दूरी पूरा गर्न दुई घण्टा २३ मिनेट १७ सेकेन्ड समय खर्चिए।

म्याराथनमा पुरुषतर्फ वैकुण्ठ मानन्धरको नाममा दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ।

उनले कोलकातामा भएको तेस्रो साफमा त्यो कीर्तिमान बनाएका थिए। त्यसयता नेपालका कुनै पनि धावकले उनको कीर्तिमान भेट्टाउन सकेका छैनन्। बिहीबार एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका राजन त्यसको नजिक पनि पुग्न सकेनन्।

 म्याराथनमा कुल १८ धावकले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये साउदी अरेबिया र किर्गिस्तानका धावकले दूरी पूरा गर्न सकेनन्। चीनका जी हेले दुई घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते। राजन चीनका हेभन्दा १० मिनेट १५ सेकेन्डले पछि परे।

उत्तर कोरियाका हान इरियोङले रजत र चीनकै यान साओसुईले कांस्य पदक जिते। राजनले मंगोलिया र कजाखस्तानका धावकलाई मात्र पछि पारे। यता, महिलामा पनि नेपालकी पुष्पाको प्रदर्शन खराब रह्यो। उनले सन् २०१९ को १३औं साग आफैंले बनाएको कीर्तिमानसमेत भेट्टाउन सकिनन्।

पुष्पाले निर्धारित दूरी पूरा गर्न तीन घण्टा २ मिनेट ३७ सेकेन्ड लगाइन्। कुल १७ धाविक सहभागी म्याराथनमा पुष्पा १६औं स्थानमा रहिन्। बहराइनकी जिसा मोकानिन डेसीले दौड पूरा गर्न सकिनन्।

बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले स्वर्ण जित्ने क्रममा क्रममा दुई घण्टा २६ मिनेट १४ सेकेन्डको समय निकालिन्। पुष्पा यो समयबाट ३६ मिनेट २३ सेकेन्डले पछि परिन्। पुष्पा १५औं स्थानकी धाविका भन्दा पनि १२ मिनेट २२ सेकेन्डले पछि परेकी थिइन्। म्याराथनको समापनसंगै एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको छ।

कुस्ती: थाइल्यान्डकी खेलाडीसँग दुवे पराजित

नेपालकी सुवाङ्गी दुवे जारी १९औं एसियाली खेलकुदको कुस्तीमा पराजित भएकी छन्। लिनान स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ५७ केजीको पहिलो चरणको खेलमा सुवाङ्गी थाइल्यान्डकी शृपारासँग ८–० ले पराजित भएकी हुन्। पहिलो राउन्डमा शृपाराले ८–० अंक जोडिन्। दोस्रोमा दुवैले अंक बटुल्न सकेनन्।

क्यानोइङ: गणेश सेमिफाइनल चरणका लागि छनोट

हानझाउ एसियाडको क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार सेमिफाइनल चरणका लागि छनोट भएका छन्।

दुई चरणको हिट्समा सहभागी भएका गणेश सेमिफाइनल चरणमा पुगेका हुन्। क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छ। गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४औं भए।

पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए। दोस्रो हिट्समा नेपालका गणेशसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी सातौं भए पनि छनोट हुन सफल भए।

दोस्रो हिट्समा खेलेका सबै खेलाडी सेमिफाइनल चरणमा छनोट भए। सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन्। १६ जनामध्ये १० खेलाडीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्। बाँकी ६ खेलाडी बाहिरिनेछन्।

प्रकाशित: १९ आश्विन २०८० ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App