२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महिला कबड्डीमा कांस्यको सम्भावना

कबड्डीमा बंगलादेशमाथि जित निकालेपछि नेपालका खेलाडी, बंगलादेश (रातो) विरुद्ध प्रतिस्पर्धा गर्दै अनुजा कुलुङ राई (माथि) र रविना चौधरी। तस्बिर: नागरिक

नेपालले हानझाउमा जारी १९औं एसियाली खेलकुदको महिला कबड्डीमा सोमबार बंगलादेशमाथि जित निकाल्दै कांस्य पदकको सम्भावनानजिक पुगेको छ।

चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को पहिलो खेलमा नेपाल सोमबार बंगलादेशमाथि ३७–२४ अंकले जित निकाल्दै जारी एसियाली खेलकुदमा पहिलो पदकको सम्भावनानजिक पुगेको हो।

तीन राष्ट्र रहेको यस समूहमा नेपाल र बंगलादेशसहित इरान छन्। इरानले बंगलादेशलाई हराउँदा नेपालले सेमिफाइनलमा पुग्दै कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ। पहिलो पटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गरिरहेको महिला कबड्डीले यो अवसरलाई यादगार बनाउँदै छ। यसअघि गत एसियाली खेलकुदमा पाराग्लाइडिङले पनि पहिलो सहभागिता नै रजत पदक जितेको थियो।

आगामी बुधबार बंगलादेश र इरानबीच प्रतिस्पर्धा हुँदै छ। यद्यपि, त्यसअघि नेपालले मंगलबार नै इरानसँग खेल्नेछ। इरान गत संस्करणको एसियाली खेलकुदमा महिला कबड्डीतर्फ च्याम्पियन हो।

सन् २०१० को ग्वान्झाउ एसियाली खेलकुदमा कांस्य जितेको इरानले इन्चोन एसियाडमा रजत प्राप्त गर्न सफल भएको थियो। त्यसैले यस पटक पनि इरानलाई बलियो दाबेदारका रूपमा हेरिएको छ। यद्यपि, नेपाली महिला टोली इरानविरुद्ध पनि जित निकाल्नेमा आशावादी देखिएको छ।

बंगलादेशसँगको जितले उनीहरूमा बलियो आत्मविश्वास बढेको छ। नेपाली महिला राष्ट्रिय कबड्डी टोलीकी कप्तान मेनुका राजवंशीले पहिल्यैदेखि नै बंगलादेशमाथि जित निकाल्न सक्छौं भन्नेमा आशावादी रहेकाले सबै खेलाडीले उच्च मनोबलका साथ खेलेको बताइन्।

बंगलादेशलाई जित्ने बित्तिक्कै इतिहास बनाउँछौं भन्ने थियो र सोहीअनुरूप नतिजा पनि आएको उनी बताउँछिन्। महिला कबड्डी टोलीलाई जुन विश्वास गरेर एसियाली खेलकुदमा सहभागी गराइएको थियो, त्यसमा सफल भएकोमा खेलाडीहरू निकै खुसी देखिए।

अनुजा कुलुङ राई समूह

‘पहिल्यैदेखि नै बंगलादेशमाथि जित निकाल्न सक्छौं भन्नेमा आशावादी थियौं। त्यसैले पनि सबै खेलाडीको मनोबल उच्च रह्यो। बंगलादेशलाई जित्ने बित्तिक्कै इतिहास बनाउँछौं भन्ने थियो र नतिजा पनि हाम्रै पक्षमा आयो,’ नेपाली महिला टोलीकी कप्तान मेनुका राजवंशीले भनिन्, ‘महिला कबड्डी टोलीलाई जुन विश्वास गरेर एसियाली खेलकुदमा सहभागी गराइएको थियो त्यसमा हामीले पनि केही गर्न सक्यौं। त्यसैले हामी निकै खुसी छौं।’

 एसियाली खेलकुदका लागि नेपालले भारतको हरियाणामा प्रशिक्षण पाएका थियो। त्यहाँ नेपाली महिला कबड्डी टोलीले ६/७ वटा मैत्रीपूर्ण खेलको अवसर पनि पायो।

सोही तयारी र मैत्रीपूर्ण खेलले आफूहरूमा आत्मबल बढेको कप्तान मेनुकाको भनाइ छ। उनले क्रिकेट, फुटबल र बास्केटबललाई जस्तै हेरिदिन आग्रह गर्दै कबड्डी खेललाई पनि सहज रूपमा प्रशिक्षण गर्न पाउने कभर्डहल बनाइदिन माग राखेकी छन्।

भारतको प्रचण्ड गर्मीमा गरेको मिहिनेत सफल भएको उनको भनाइ छ। टोलीकी कप्तान मेनुकाले कबड्डी खेल्न थालेको १४/१५ वर्ष भइसकेको छ। यसबीच उनले यो खेलबाट करियरकै सबैभन्दा ठूलो खुसी सोमबार पाइन्।

रविना चाैधरी

नेपाली टोलीकी प्रशिक्षक पार्वती राईले खेलजीवनमा सबैभन्दा ठूलो खुसी पाएको उल्लेख गर्दै अवसर पाएमा सबै खेलाडीले गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताइन्।

‘अहिलेसम्म एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीलाई सहभागी गराइएको थिएन। यिनीहरूले केही गर्न सक्दैनन् भनेर त्यसो गरिएको थियो। तर, नतिजा फरक आएको छ।

खेलाडीहरूले अवसर पाए भने केही पनि असम्भव हुँदैन भन्ने प्रमाणित गरेका छन्,’ प्रशिक्षक पार्वतीले भनिन्, ‘यसबीच तयारीका क्रममा पनि खेलाडीले धेरै नै मिहिनेत गरेका थिए। आगामी खेल पनि जित्न जित्छौं भन्ने विश्वास छ।’

महिला कबड्डीमा कुल सात राष्ट्र सहभागी छन्। समूह ‘ए’ मा भारत, थाइल्यान्ड, दक्षिण कोरिया र चाइनिज ताइपेई छन्।

भारोत्तोलन: शारदाले पहिलो पटक उचालिन् ८८ केजी

नेपालकी शारदा चौधरी जारी एसियाडमा भारोत्तोलनअन्तर्गत महिला ६४ केजी तौलसमूहमा समूह ‘बी’ को प्रतिस्पर्धामा पाँचौं स्थानमा खुम्चिएकी छिन्।

सिओसान स्पोर्टस सेन्टर जिम्न्याजियममा सोमबार भएको प्रतिस्पर्धामा शारदा आफ्नो समूहमा पाँचौं स्थानमा रहिन्। उनले स्न्याचमा ७० तथा क्लिन एन्ड जर्कमा ८८ केजी गरी कुल १५८ केजी भार वहन गरिन्। स्न्याचमा शारदा पहिलो लिफ्टमा ७० केजी भार वहन गर्न असफल भइन्। दोस्रो लिफ्टमा भने उनले सो तौल उचालिन्। तेस्रो लिफ्टमा उनले ७४ केजी उचाल्ने प्रयास गरे पनि सफल भइनन्।

शारदाले क्लिन एन्ड जर्कमा उठाएको ८८ केजी पहिलो लिफ्टमा हो। शारदाले पहिलो प्रयासमा नै यो तौल उचालेकी हुन्।

क्लिन एन्ड जर्ककै दोस्रो र तेस्रो लिफ्टमा शारदाले समान ९४/९४ केजी भार वहन गर्ने प्रयास सफल भएन। योसँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम लागेको छ। यसअघि टीकामाया गुरुङले प्रतिस्पर्धा गरेकी थिइन्। पुरुष खेलाडी विशालसिंह विष्ट, विकास भट्ट र सागर भण्डारीले चुनौती प्रस्तुत गर्न बाँकी छ।

भलिबल: नेपालले एक सेट पनि जितेन

नेपाली महिला भलिबल टोलीले दक्षिण कोरियासँग ३–० को सोझो सेटमा हार बेहोरेको छ।

हानझाउ नर्मल युनिभर्सिटी कान्चिन जिम्न्याजिममा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा स्तब्ध भएसँगै लगातार दोस्रो हार बेहोर्दै बाहिरिएको छ। पहिलो पटक एसियाली खेलकुदको महिला भलिबलमा प्रतिस्पर्धा गरेको नेपालले समूह ‘सी’ को दुवै खेलमा पराजित हुन पुग्यो। दक्षिण कोरियाले सोमबार नेपाललाई २५–२१, २५–१४ र २५–११ ले हरायो। विश्व वरीयतामा ४०औं स्थानमा रहेको दक्षिण कोरियाले गैरवरीयताको टोली नेपालमाथि जित निकाल्न एक घण्टा १२ मिनेट लगायो।

पहिलो खेलमा नेपाल भियतनामसंग २५–४, २५–१६ र २५–१३ को सीधा सेटमा हारेको थियो। नेपालले अब वरीयताको खेल भने खेल्न बाँकी छ। जारी एसियाली खेलकुदमा नेपालको राष्ट्रिय खेल भलिबलका महिला र पुरुष दुवै टोलीले प्रतिस्पर्धा गरेका थिए। तर, दुवै टोलीले एक सेट पनि आफ्नो पक्षमा पार्न सकेनन्।

एथलेटिक्स: सोम हिटमा नै चौथो

नेपालका सोमबहादुर कुमाल एथलेटिक्सको पुरुष आठ सय मिटर दौडमा आफ्नो हिटमा नै चौथो भएका छन्। हानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा सोमले पुरुष आठ सय मिटर दौडमा आशातीत प्रदर्शन गर्न सकेनन्। उनले निर्धारित दूरी पूरा गर्न एक मिनेट ५०.३८ सेकेन्ड समय खर्चे। हिटको समग्रमा भने २१ खेलाडीमध्ये सोम ११औं स्थानमा रहे। उनको हिटमा नेपालसहित सात राष्ट्रका सातै खेलाडी थिए। सोमले दुई स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। चार सय मिटर दौडबाट पनि सोम बाहिरिसकेका छन्।

ब्याडमिन्टन: प्रि–क्वार्टरफाइनलमा

नेपालको ब्याडमिन्टन टोली जारी १९औं एसियाली खेलकुदको मिक्स डबल्स र पुरुष डबल्स दुवैमा प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

बिन्जियाङ जिम्न्याजियममा सोमबार भएका दुवै स्पर्धामा नेपाल २–० को सोझो सेटमा सफलता निकाल्दै क्वार्टरफाइनलमा पुगेको हो। मिक्स डबल्समा नेपालका विष्णु कटुवाल र नङ्सल तामाङको जोडीले मंगोलियाका जोल्जाया मुख्बटार र खेर्लान दरखानबटारको जोडीलाई २१–१६ र २१–१७ को सोझो सेटमा पराजित गरेको हो।

नेपालले अर्को मिक्स डबल्सको प्रतिस्पर्धामा भने हार बेहोर्‍यो। नेपालका जीवन आचार्य र नीता लम्सालको जोडी सिंगापुरका तेरी काइ यङ हि र हान वेइ जेशिकातानको जोडीसँग २१–४ र २१–३ ले सहजै पराजित भयो।

पुरुष डबल्समा नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीले माल्दिभ्सका निबल अहमद र अज्फान मोहम्मद रसिदको जोडीलाई २१–१७ र २१–१८ को सोझो सेटमा हरायो। सोही स्पर्धामा नेपालका प्रिन्स दाहाल र सुनील जोशीको जोडी थाइल्यान्डका पिरात्चाई सुक्फुन र पाकापोन तिरारत्सकुलको जोडीसँग २१–८ र २१–५ ले पराजित भयो। पुरुष सिंगल्समा जापानका केन्टा निसिमोटोले नेपालका प्रिन्स दाहाललाई २१–१२ र २१–७ तथा थाइल्यान्डका कान्ताफोन वाङचारियोनले नेपालका सुनील जोशीलाई २१–७ र २१–९ को सोझो सेटमा हराए।

ट्रायथलन: मिक्स रिलेमा ११औं

नेपाल जारी एसियाली खेलकुदको ट्रायथलनको मिक्स रिलेमा ११औं भएको छ।

चुआन ट्रायथलन कोर्समा १२ राष्ट्रको सहभागिता रहेको स्पर्धामा नेपालले ११औं स्थान हासिल गरेको हो। नेपालबाट मौलिक महर्जन, युस्का महर्जन, वसन्त थारु र श्रेबी महर्जनले प्रतिस्पर्धा गरेका थिए।

नेपाली टोलीले पौडी (तीन सय मिटर), साइक्लिङ (६.७ किलोमिटर) र दौड (१.८६ किलोमिटर) को दूरीमा एक घण्टा ४८ मिनेट ४० सेकेन्डको समय निकाल्यो। मंगोलिया अन्तिममा रह्यो। पहिलो भएको जापानले एक घण्टा २६ मिनेट २१ सेकेन्डमा नै दूरी पार ग¥यो। चीन र हङकङले क्रमशः रजत र कांस्य पदक जिते।

आर्चरी: योगेन्द्र इराकी खेलाडीसँग पराजित

नेपालका योगेन्द्र शेरचन सोमबार आर्चरीको पुरुष व्यक्तिगत कम्पाउन्डको इलिमिनेसन राउन्डमा इराकका मोहम्मद इब्राहिम इसक अल दाघमनसँग १४०–१३५ ले पराजित भएका छन्।

फुयाङ इन्हु स्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धा योगेन्द्र इराकका प्रतिद्वन्द्वीसँग साँघुरो हार बेहोर्न बाध्य भएका हुन्। सोही स्पर्धाको महिलामा नेपालकी इमायुङ राई भारतकी गोपीचन्द्र स्वामी अदितिसँग १४९–१३७ ले पराजित भइन्।

पुरुष व्यक्तिगत रिकर्भको इलिमिनेसनमा नेपालका तिलक पुनले मिश्रित प्रदर्शन गरे। तिलक राउन्ड अफ १६ मा दक्षिण कोरियाका जिन्येक ओहसँग ६–० ले पछि परे। त्यसअघि राउन्ड अफ ३२ मा तिलकले म्यानमारका जाउ तेतलाई ७–१ ले हराएका थिए। सोही स्पर्धाको महिलामा नेपालकी मन्जु बजगाईं बंगलादेशकी दिया सिद्धिकीसँग ६–० ले पराजित भइन्।

स्क्वास: रोकियो विपनाको यात्रा

नेपालकी बिपना ब्लोनको जारी एसियाली खेलकुदअन्तर्गत स्क्वासको महिला सिंगल्समा विजययात्रा रोकिएको छ।

हानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा सोमबार भएको अन्तिम १७ को प्रतिस्पर्धामा विपना जापानकी एकारी मिदोरिकावासँग ३–० ले पराजित भएसँगै उनको विजययात्रा दोस्रो खेलमा नै रोकिएको हो।

जापानकी एकारीले विपनालाई ११–३, ११–१ र ११–५ ले सहजै हराइन्। अघिल्लो दिन आइतबार पहिलो चरणमा विपनाले थाइल्यान्डकी चुजितवारिट्सारालाई ११–७, ११–७ र ११–८ ले पराजित गर्दै प्रि-क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्।

मिक्स डबल्सको समूह ‘सी’ का दुवै खेलमा नेपाल पराजित भएको छ। नेपालका अमिर ब्लोन र स्वास्थानी श्रेष्ठको जोडी मलेसिया र थाइल्यान्डसँग क्रमशः २-० र २-१ को सेटमा पराजित भयो।

प्रकाशित: १६ आश्विन २०८० ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App