१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी थाइल्यान्ड

नेपालले आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनलमा थाइल्यान्डको सामना गर्ने भएको छ।

नेपालले शुक्रबार सेमिफाइनलमा सन् २०२० को ट्वान्टी-२० विश्वकप खेलिसकेको थाइल्यान्डको सामना गर्न लागेको हो। मलेसियामा जारी छनोटमा बुधबार युएईसँगको खेल वर्षाका कारण हुन नसक्दा अंक बाँड्न बाध्य भएपछि नेपाल समूह उपविजेतामा नै सीमित भयो।

नेपाललाई नेट रनरेटमा पछि पार्दै युएई समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो। युएईले भने समूह ‘बी’ को उपविजेता हङकङसँग प्रतिस्पर्धा गर्नेछ। बुधबार समूहको अन्तिम खेलमा थाइल्यान्डसँग ४३ रनको हार बेहोरेपछि हङकङ उपविजेतामा नै सीमित हुन पुग्यो।

यस नतिजासँगै नेपालले थाइल्यान्डलाई प्रतिद्वन्द्वी पाएको हो। थाइल्यान्डले प्रस्तुत गरेको १ सय २२ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभर नै खेले पनि ९ विकेटको क्षतिमा ७८ रन मात्र जोड्न सक्यो।

हङकङकी मरिना लामप्लगको १९ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। थाइल्यान्डका बलरसामु हङकङका ब्याटर लामो समय क्रिजमा टिक्नै सकेनन्। थाइल्यान्डकी नाताया बोचाथामले सर्वाधिक चार विकेट लिइन्। सुनिदाले दुई तथा चानिदाले एक विकेट लिँदा अन्य बलरले पनि किफायती बलिङ हङकङलाई सस्तैमा रोके।

यसअघि समूहमा अपराजित रहेको नेपालले अर्को समूहमा सबै खेल जितेको थाइल्यान्डको सामना गर्नेछ। ग्लोबल छनोटको यात्रा तय गर्न नेपालसामु थाइल्यान्डविरुद्ध जितको विकल्प हुने छैन। एसिया क्वालिफायरको शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्। 

प्रकाशित: २१ भाद्र २०८० ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App