२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

‘पावर हाउस’लाई प्रमाणित गर्ने अवसर

एसिया क्रिकेटका पावर हाउस भारत, पाकिस्तान र श्रीलंकाले अक्टोबरमा तय ५० ओभरको विश्वकपअगाडि बुधबारबाट सुरु हुने एसिया कपमा आफूलाई प्रमाणित गर्ने अन्तिम अवसर पाउनेछन्।  

कट्टर प्रतिद्वन्द्वीद्वय भारत र पाकिस्तान ६ राष्ट्र सम्मिलित एसिया कपको फाइनलसम्म पुगेमा यी दुईबीच तीन पटक प्रतिस्पर्धा हुनेछ। विश्वकपको आयोजक राष्ट्र भारतले पाकिस्तान जान अस्वीकार गरेपछि एसिया कप हाइब्रिड मोडलमा पाकिस्तान र श्रीलंकाले संयुक्त आयोजना गर्दै छन्। एसिया कपको फाइनल कोलम्बोमा आगामी सेप्टेम्बर १७ मा हुनेछ। बाबर आजमको पाकिस्तान गत हप्ता अफगानिस्तानमाथि ३–० ले शृंखला जितेपछि अहिले एकदिवसीय क्रिकेटको वरीयतामा शीर्ष स्थानमा छ।  

पाकिस्तानले डेब्युटान्ट टोली नेपालसँग मुल्तानमा बुधबार सामना गर्नेछ। पाकिस्तानका कप्तान आजम राम्रै लयमा देखिएका छन्। उनले शृंखलामा १ सय १३ रन पनि जोडे। घरेलु टोलीको बलिङ अट्याक पनि राम्रो लयमा छ। साहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौउफ पाकिस्तानको बलिङमा प्रमुख हतियार हुन्। विश्वकप आयोजक भारतको नेतृत्व रोहित शर्माले गरिरहेका छन्। भारतले शनिबार पल्लेकेलेमा आयोजक पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै एसिया कपको यात्रा थालनी गर्नेछ।  

दुई देशबीच राजनीतिक रूपमा खराब सम्बन्धका कारण भारत र पाकिस्तानले ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताबाहेक एकअर्काबीच प्रतिस्पर्धा गर्दैनन्। तर, यस एसिया कपमा दुवैबीच तीन पटकसम्म एकअर्काबीच प्रतिस्पर्धा हुन पनि सक्छ। समूह ‘ए’ मा रहेका पाकिस्तान र भारतले आगामी चरण जारी राख्दा सुपर फोर र फाइनलमा पनि प्रतिस्पर्धा गर्न पाउँछन्। ‘पाकिस्तान मात्र होइन, अरू टोली पनि बलिया छन्,’ रोहितले पाकिस्तानसँग प्रतिस्पर्धाका बारेमा भने, ‘श्रीलंका पछिल्लो संस्करणमा एसिया कप विजेता हो। अन्य टिम पनि बलिया छन्। जसले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेका छन् र उनीहरू हाम्रो चुनौती बन्न सक्छन्।’

पाकिस्तान र भारतबीच  

५० ओभरको विश्वकपमा आगामी अक्टोबर १४ मा अहमदाबाद पनि प्रतिस्पर्धा हुनेछ। रोहितले दबाबको परीक्षण गर्न र एकअर्काबीच दबाब बनाइराख्न यो एसिया कप राम्रो माध्यम हुने विश्वास व्यक्त गरे। केएल राहुल, श्रेयस ऐयर, विराट कोहली, शुभमन गिल र रोहित टोलीमा रहँदा भारतको ब्याटिङ निकै बलियो बन्नेछ। यी क्रिकेटरले विश्वकपका लागि पनि आफूलाई तयार गर्ने अवसर पाउनेछन्। ५० ओभरको विश्वकप आगामी अक्टोबर ५ देखि भारतमा सुरु हुँदै छ। दुबईमा ट्वान्टी–२० फरम्याटमा भएको पछिल्लो एसिया कप श्रीलंकाले जितेको थियो।

यद्यपि, बंगलादेशसँग आगामी बिहीबार केन्डीमा प्रतिस्पर्धा गर्नुअघि श्रीलंकालाई चोटले सताएको छ। तीव्र गतिका बलर दुसमन्था चामिरा पाखुराको समस्याका कारण एसिया कपबाट बाहिरिएका छन् भने अर्का स्पिनर वानिदु हसरंगाको सहभागिता पनि दुबिधा नै छ। लंका प्रिमियर लिगको फाइनल गुमाएका हसरंगाले कम्तीमा एसिया कपको समूहचरणका खेल गुमाउने बताइएको छ। बंगलादेशलाई पनि आफ्ना कप्तान तमिम इकबालको ढाडमा समस्याका कारण सन्तुलित टोली निर्माणमा कठिनाइ हुन सक्छ। उनी विश्वकपसम्म फिट हुन सक्छन्।

भेट्रान अलराउन्डर सकिब हसनलाई बंगलादेशको कप्तान नियुक्त गरिएको छ। उनले २००९ देखि २०१७ सम्म बंगलादेशको एकदिवसीय टोलीको नेतृत्व गरेका थिए। पछिल्लो शृंखला हारेको अफगानिस्तान पनि स्पिनरहरू रासिद खान, मुजिब उर रहमान र मोहम्मद नाबीको साथमा हरेक प्रतिद्वन्द्वीका लागि चुनौती बन्न सक्छ। अफगानिस्तानसँग बलरबाहेक लयमा रहेका रहमानउल्लाह गुर्बाजजस्ता आक्रामक ब्याट्सम्यान पनि छन्। गुर्बाजले पाकिस्तानसँगको दोस्रो एकदिवसीय खेलमा १ सय ५१ रनको आक्रामक इनिङ खेलेका थिए। एसिया कपमा डेब्यु गर्न लागेको नेपाल पनि आफ्नो पहिलो सहभागिता यादगार बनाउन चाहन्छ।

नेपालको समूह ‘ए’ मा भारत र पाकिस्तानजस्ता बलियो टोली भएकाले सहज भने हुने छैन। अर्को समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर फोरको यात्रा तय गर्नेछन्। सुपर फोरको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: १२ भाद्र २०८० ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App