९ असार २०८१ आइतबार
image/svg+xml
खेल

भारतद्वारा शृंखला कब्जा

कोलम्बो- स्पिनर रवीन्द्र जडेजाको ५ विकेट प्रेरित भारतले आइतबार श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा एक इनिङ र ५३ रनको जित हासिल गर्दै शंृखलामा कब्जा जमाएको छ। जडेजाले १ सय ४१ रनमा खेलिरहेका दिमुथ करुणारत्नेलाई अजिन्क्या रहानेबाट क्याच गराउँदै पवेलियनको बाटो देखाएपछि श्रीलंको इनिङ ३ सय ८६ रनमा सीमित भएको थियो। ३ सय ७ बल सामना गरेका करुणारत्नेले १४ चौका प्रहार गरेका थिए।

२०९–२ बाट चौथो दिनको खेल सुरु गरेको श्रीलंकाले बिहानी सत्रमै दुई विकेट गुमाएको थियो। रविचन्द्रन आश्विनले १६ रन बनाएका मलिन्दा पुष्पकुमारालाई बोल्ड गरपछि  श्रीलंका सुरुमै दबाबमा परेको थियो। त्यसपछि जडेजाले २ रन जोडेका कप्तान दिनेश चण्डीमललाई रहानेबाट क्याच गराउँदै पवेलियनको बाटो देखाएपछि घरेलु टोली थप दबाबमा परेको थियो।

करुणारत्नेले त्यसपछि ब्याटिङ गर्न आएका एन्जेलो म्याथ्युजसँग पाँचौं विकेटका लागि ६९ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकास्ने प्रयास गरेका थिए। तर ६६ बलमा ३ चौका र १ छक्कासहित ३६ रन जोडेका म्याथ्युजलाई जडेजाले विकेटकिपर ऋद्धिमन शाहबाट क्याच गराएपछि श्रीलंकाको इनिङ धरमराएको थियो।

त्यस्तै ४ रन जोडेका दिलरुवान परेरालाई विकेटकिपर शाहबाट स्टम्पिङ गराएका जडेजाले १७ रन जोडेका धनञ्जय डी सिल्भालाई रहानेको हातबाट क्याच गराउँदै  पाँच विकेट पूरा गरेका थिए। त्यस्तै ३१ रन जोडेका विकेटकिपर निरोसान डिकवेलालाई हार्दिक पाण्डेयले रहानेबाट क्याच गराएका थिए। ५६ बल सामना गरेका डिकवेलाले ४ चौका प्रहार गरे।  रंगना हेराथ १७ रनमा अविजित रहे।

पहिलो र दोस्रो इनिङमा गरी समग्रमा ७ विकेट लिनुका साथै भारतले खडा गरेको ६२२–९ को स्कोरमा ७० रनको योगदान गरेका जडेजा म्यान अफ दी म्याच भए।

पहिलो इनिङमा १ सय ८३ रनमा सीमित भएपछि भारतभन्दा ४ सय ३९ रनले पछि रहँदै श्रीलंका फलोअनमा परेको थियो।

तेस्रो दिन करुणारत्ने र कुशल मेन्डिसले शतक पूरा गर्दै  १ सय ९१ रनको साझेदारी गरेपछि शनिबार श्रीलंकाले भारतविरुद्धको दोस्रो टेस्टमा इनिङ अन्तरको हार टार्ने संकेत गरेको थियो।

‘हामीले आज सुरुबाटै विकेट नलिए पनि यो कठिन क्षणमा रमाउन चाहन्थ्यौं। किनभने यसले टोलीमा अझै सुधार गर्न सहयोग गर्छ,’ श्रीलंकाली भूमिमा टेस्ट शंृखला जित्ने पहिलो भारतीय कप्तान बनेका विराट कोहलीले भने, ‘धैर्य भए सफलताले पछ्याउँछ। यो जितपछि हामी धेरै खुसी छौं।  हामी कठिन क्षणबाट गुजि्ररहेका थियौं। एउटा टिमको रूपमा हामी सन्तुष्ट बन्न सकिरहेका थिएनांै।’

यसअघि गत साता सम्पन्न पहिलो टेस्टमा पनि भारतले उत्कृष्ट प्रदर्शन गर्दै चौथो दिन नै ३ सय ४ रनको जित हासिल गरेको थियो।

‘पहिलो इनिङमा ब्याटिङ र बलिङ दुवै पक्षमा हामी कमजोर थियौं। उनीहरूले पहिलो इनिङमा उत्कृष्ट ब्याटिङ गरेर हामीलाई दबाबमा राखे,’ श्रीलंकाका कप्तान चण्डीमलले भने, ‘हामीले अन्तिमसम्म चुनौती दिने प्रयास गर्‍यौं। दोस्रो इनिङमा टोलीले गरेको प्रदर्शनमा सन्तृष्ट छु। हामी यस खेलबाट सकारात्मक पक्ष मात्र लिन चाहन्थ्यौं। हामी अर्कर्ाे खेलमा उत्कृष्ट प्रदर्शन गर्नेछौं।’ तेस्रो तथा अन्तिम टेस्ट अगस्ट १२ बाट पालेकेलेमा हुनेछ।

प्रकाशित: २३ श्रावण २०७४ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App