१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

साहस स्पोर्टसको ब्रान्ड एम्बेसडरमा प्रतिभा माली अनुबन्धित

काठमाडौं– राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा मालीलाई साहस स्पोर्टस प्रालीले ब्रान्ड एम्बेसडरको रुपमा अनुबन्ध गरेको छ।

नेपाली खेलकुद सामाग्री उत्पादक कम्पनी साहसले प्रतिभासँगै उनको क्लब न्यु डायमन्ड एकेडेमीलाई पनि एक वर्षका लागि प्रायोजन गर्ने भएको छ। साहस स्पोर्टसले मंगलबार प्रतिभा र न्यु डायमन्ड एकेडेमीसँग प्रायोजनसम्बन्धि छुट्टा छुट्टै सम्झौता गरेको छ। सम्झौतापत्रमा साहस स्पोर्टसका तर्फबाट अध्यक्ष जनक न्यौपाने तथा प्रतिभा र न्यु डायमन्डका तर्फबाट क्लबकी अध्यक्ष एवं नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीले सम्झौता गरे।

सम्झौता अनुसार ब्रान्ड एम्बेसडर भए बापत प्रतिभालाई साहस स्पोर्टसले एक वर्षमा १ लाख २० हजार रुपैयाँ नगद तथा ५० हजार रुपैयाँ बराबरको खेलसामाग्री उपलब्ध गराउनेछ । त्यस्तै महिला भलिबलमा देशकै चर्चित न्यु डायमन्डले साहसबाट १ लाख ७५ हजार रुपैयाँ बराबरको खेल पोशाक प्राप्त गर्नेछ। समग्रमा क्लब र खेलाडी दुवैसँगको सम्झौता ३ लाख ५० हजार रुपैयाँबराबरको हुने साहसका अध्यक्ष न्यौपानेले बताए।

न्यौपानेले प्रतिभा माली र न्यु डायमन्ड एकेडेमीमार्फत खेल र खेलाडीसँग जोडिने अभियानको सुरुआत गरेको बताए । ‘भलिबल देशको राष्ट्रिय खेल हो । देशभर लोकप्रिय यस्तो खेलकी सुपरस्टार प्रतिभा माली र देशकै सबभन्दा लोकप्रिय न्यु डायमन्ड क्लबसँग जोडिन पाउनु साहसको लागि ठूलो गर्वको विषय हो,’ साहसको उदघा्टनका अवसरमा गरिएको सम्झौता कार्यक्रममा न्यौपानेले भने, ‘खेल र खेलाडीलाई सहयोग गर्ने साहसको अभियान भलिबल र प्रतिभाबाट सुरु भएको छ । यसले आगामी दिनमा अन्य खेल र खेलाडीसम्म पनि पहुँच बढाउनेछ।’

प्रतिभा १३ वर्षको उमेरमा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी खेलाडी हुन । उनले नेपाली भलिबलमा छोटो अवधिमा नम्बर एक स्पाइरको रुपमा आफूलाई स्थापित गरेकी छिन । राष्ट्रिय भलिबल खेलाडीलाई ब्रान्ड एम्बेसडर बनाउने साहस पहिलो खेलकुद ब्रान्ड हो।

प्रतिभाले आफूलाई ब्रान्ड एम्बेसडरको रुपमा छनोट गरेकोमा साहस स्पोर्टसलाई धन्यवाद दिइन । ‘आजको दिन मेरो खेल करियरमा खुसीको दिन हो । नेपालमा भलिबल लोकप्रिय खेल हो । भलिबल र मलाई कम्पनीले आफ्नो अभियान सुरुआत गर्नु अघि छनोट गरेकोमा खुसी छु,’ प्रतिभाले भनिन, ‘नेपालमा भलिबल लोकप्रिय भएजस्तै साहस स्पोर्टस नेपालको लोकप्रिय ब्रान्ड बन्ने विश्वास छ । त्यो अभियानमा म र मेरो टिमले सक्दो सहयोग गर्नेछौ । साहस स्पोर्टसलाई सफलताको शुभकामना।’

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले साहसको अभियानमा भलिबल संघले सक्दो साथ दिने बताए ।

न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक कुमार राईले प्रतिभा र डायमन्डमात्र नभएर साहससँगको सम्झौता नेपाली भलिबलको लागी गर्वको विषय भएको बताए।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपक थापा, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य, अखिल नेपाल फुटबस संघ (एन्फा)का सदस्य रमेश रायमाझीले साहस नेपाली खेलकुदमा लोकप्रिय ब्रान्डको रुपमा छिट्टै स्थापित हुने विश्वास ब्यक्त गरे।

 

  

 

प्रकाशित: १७ श्रावण २०७४ १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App