२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ट्वान्टी–२० महिला विश्वकपको एशिया छनोटको तयारीका लागि नेपाल मलेसियामा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ।

नेपालले ट्वान्टी–२० विश्वकपको छनोट यात्राका लागि मलेसियामा चार राष्ट्र सम्मिलित ट्वान्टी–२० शृङ्खला खेल्दैछ। सोही शृङ्खला खेल्ने जाने नेपाली टोलीको बुधवार मुलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा बिदाई गरिएको हो। उनीहरूलाई क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनबहादुर सिंहले बिदाई गरेका थिए। नेपालले आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायर खेल्दैछ।

सोही छनोटको तयारीका लागि नेपाली महिला टोलीले मलेसियामा शृङ्खला खेल्न लागेको हो। नेपालले घरेलु टोली मलेसियासहित कुवेत र हङकङसँग शृङ्खलामा प्रतिस्पर्धा गर्नेछन्। उक्त शृङ्खला आगामी अगस्ट २२ देखि २६ सम्म वायुमास ओभलमा हुनेछ। पाँच दिन चल्ने शृङ्खलाको शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्। बाँकी दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका छ। नेपालले पहिलो खेल अगस्ट २२ मा हङकङ र दोस्रो खेल अगस्ट २३ मा कुवेतसँग खेल्नेछ।

नेपालले एक दिनको विश्रामपछि अगस्ट २५ मा घरेलु टोली मलेसियाको सामना गर्ने तालिका छ। फाइनल खेल अगस्ट २६ मा हुनेछ। क्यानले ट्वान्टी–२० विश्वकपको एशिया क्वालिफायरका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो। भारतीय प्रशिक्षक देविका दिलीप पल्सिकरको प्रशिक्षणमा रहेको प्रारम्भिक टोलीबाट गत बिहीबार मात्रै रुविनाको नेपाली टोली घोषणा गरिएको हो। खुशी डंगोल, रुवि पोदार र पूजा महतोले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

रुबिनाको कप्तानीमा रहेको नेपाली टोलीको अन्य सदस्यमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, सम्झना खड्का, ईश्वरी बिष्ट, काजोल श्रेष्ठ, अप्सरी बेगम र अस्मिना कर्माचार्य छन् । बिदाइका अवसरमा नेपाली महिला क्रिकेट टोलीकी कप्तान करुविना क्षेत्रीले इन्डोर अभ्यासमा पनि राम्रो तयारी गरेको बताइन। रुविनाले मलेसियामा अभ्याससँगै ट्वान्टी–२० शृङ्खला पनि खेल्ने भएकाले राम्रो तयारी पाउने र अहिले क्यानले ब्याटिङमा सुधार हुने गरी विदेशी प्रशिक्षक नियुक्त गरेकाले त्यसको फाइदा लिने विश्वास व्यक्त गरिन।

उनले यो शृङ्खलाबाट खेल जिताउन सक्ने नयाँ युवा खेलाडी निस्किने समेत आशा व्यक्त गरिन। नयाँ प्रशिक्षक देविका पेल्सिकरको प्रशिक्षणमा नयाँ प्रतिभा निस्किने कप्तान रुविनाले विश्वास व्यक्त गरिन। नेपाली क्रिकेट टोलीकी अनुभवी खेलाडी सीता राना मगरले नयाँ प्रशिक्षकबाट आफूहरूले प्रतिस्पर्धा अगाडि नै सबैको भुमिका पाएको र यो शृङ्खलाबाट विश्वकपको तयारी पनि राम्रो हुने विश्वास व्यक्त गरिन।

कप्तान करुविना क्षेत्री र आफू करियरको अन्तिम समयतिर रहेकाले यो विश्वकप छनोट चरण  आफूहरूका  लागि अन्तिम अवसर रहेको समेत सीताले बताइन। नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक सामसङ्ग जंग थापाले यस पटक विश्वकप छनोट यात्रा सुखद हुने विश्वास व्यक्त गरे। 

प्रकाशित: ३१ श्रावण २०८० १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App