२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

उपाधि भोकले बायर्न आएँः केन

इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केनले टोटेनहामबाट जर्मन जायन्ट बायर्न म्युनिख रोज्ने निर्णयका पछाडि उपाधिको भोक रहेको बताएका छन्।

आफ्नो किशोर अवस्थाको क्लब टोटेनहामसँगको यात्रा शनिबार तोड्दै उनी एक सय मिलियन युरोमा बायर्न पुगेका हुन्। ३० वर्षे स्ट्राइकर केन टोटेनहामका लागि सर्वाधिक (२ सय ३० गोल) गोलकर्ता पनि हुन्।  

इङ्ल्यान्डका लागि पनि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान उनकै नाममा छ। यद्यपि, उनी अहिलेसम्म क्लब र देशका लागि ट्रफी जित्न असफल छन्। गत सिजन पनि टोटेनहामले प्रिमियर लिगमा आठौं स्थानमा रहेर सिजन अन्त्य गर्यो। त्यससँगै उनले टोटेनहामबाट टाढिने निर्णय गरेका थिए।  

‘म करियरमा सधैं आफूमा सुधार गर्न चाहन्थेँ। जतिसक्दो राम्रो गर्न प्रयत्न गर्थें। तर, पनि तपाईंहरूलाई मेरो सीमितताबारे थाहा छ,’ बायर्नको एलिनाज एरिनामा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘अन्ततः मैले मेरो करियर अझ माथि लैजाने निर्णय गरेको हुँ। म च्याम्पियन्स लिग खेल्न चाहन्छु। हरेक वर्ष मैले उपाधिकै लागि संघर्ष गर्दै आइरहेको पनि छु।’ उनले बायर्न विश्वकै उत्कृष्ट क्लब रहेको र यहाँबाट आफूले अवसर सदुपयोग गर्ने बताएका छन्। ‘बायर्न विश्वकै उत्कृष्ट क्लब हो। यहाँ धेरै अवसर हुन्छन्। म त्यो अवसरका लागि चुनौती पनि सामना गर्न तयार भएँ,’ केनले भने।  

बायर्नले पछिल्लो ११ वर्षयता बुन्डेसलिगाको उपाधि जित्दै आएको छ। तर, च्याम्पियन्स लिग जित्न बायर्न विश्वकै उत्कृष्ट स्ट्राइकरको खोजीमा थियो।

बायर्नले पछिल्लो ११ वर्षयता बुन्डेसलिगाको उपाधि जित्दै आएको छ। तर, च्याम्पियन्स लिग जित्न बायर्न विश्वकै उत्कृष्ट स्ट्राइकरको खोजीमा थियो र केन जर्मन क्लबको रोजाइमा परे। केनले आगामी सिजनको च्याम्पियन्स लिग खेल्न इङ्ल्यान्डको वेम्बली जाने लक्ष्य राखेका छन्। ‘यो क्लबमा अनुबन्धित हुनका लागि मैले प्रयास गरें,’ केनले भने, ‘वेम्बलीमा च्याम्पियन्स लिगको उपाधि जित्न सके मेरा लागि व्यक्तिगत रूपमा ठूलो उपलब्धि हुनेछ।’ केनले गत सिजन नै क्लब छाड्ने प्रयास गरेका थिए। तर, क्लबका अध्यक्ष डानिइयल लेभीका कारण उनको प्रयास सफल हुन सकेन।

लेभीले क्लबसँग केनको अनुबन्धन अझैं एक वर्ष रहेको भन्दै उनलाई रोकेका थिए। ‘मेरो करियरकै यो पहिलो ट्रान्सफर थियो। त्यसैले पनि यो निर्णयमा मेरो अनुभव त्यति सहज भएन,’ ट्रान्सफरका लागि क्लबसँगको सम्झौताबारे उनले भने, ‘तर अहिले म खुसी छु। मैले टोटेनह्याम र डानिइल नाभी दुवैलाई शुभकामना दिइसकेको छु। अब मेरो ध्यान बायर्नमा नै केन्द्रित हुनेछ।’ बायर्न आएको केही समयमा नै उनले डेब्यु गर्ने अवसर पाए। तर, उनको आगामन सुखद बन्न सकेन र बायर्न शनिबार जर्मन सुपर कपमा लिपजिगसँग ३–० ले पराजित भयो। बुन्डेसलिगाको पहिलो सिजनमा उनले शुक्रबार वेर्डेर ब्रेमेनविरुद्ध खेल्ने सम्भावना छ।  

प्रकाशित: २९ श्रावण २०८० ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App