२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

स्पेन पहिलो पटक अन्तिम आठमा

स्विट्जरल्यान्डलाई स्तब्ध बनाउँदै स्पेन पहिलो पटक महिला विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। स्पेनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स या दक्षिण अफ्रिकासँग खेल्नेछ। स्पेनको जितमा ऐटना बोनमटीले उत्कृष्ट प्रदर्शन गरिन्।  

४३ हजार दुई सय १७ दर्शकको साथ पाएको अकल्यान्डमा उनले दुई गोल र दुई एसिस्ट गरिन्। न्युजिल्यान्डको फुटबल प्रतिस्पर्धामा यो अहिलेसम्मकै धेरै दर्शक संख्या हो। स्पेनका प्रशिक्षक जर्ज भिल्डाले सुरुआती ११ मा पाँच परिवर्तन गरेका थिए। त्यसमा उनले दुई पटककी बालन डी’अर विजेता एलेक्सिया पुतेयासलाई पनि बेन्चमा सीमित राख्दै अप्रत्याशित निर्णय लिए। पछि उनले आफूसँग विश्वकै उत्कष्ट २३ खेलाडी रहेकाले त्यो निर्णय लिएको बताए। ‘ऐटनाले धेरै राम्रो खेलिन्। उनले गोल गरिन् र प्लेयर अफ दी म्याच पनि भइन्। तर, अन्य खेलाडीले पनि राम्रो खेले। हामीसँग २३ जना बालन डी’अर छन्,’ उनले भने।

बार्सिलोनाकी खेलाडी ऐटना बोनमटीले समूहचरणको अन्तिम खेलमा जापानसँगको हार आफ्नो मस्तिष्कमा रहेको बताइन्। ‘समूहको अन्तिम खेलमा त्यो हारबाट अहिले यो नतिजा ल्याउनु भनेको राम्रो हो। हामीले क्वार्टरफाइनलमा पुग्दै इतिहास बनाएका छौं। यसले हामी एकब्द्ध टिम छौं भन्ने देखाउँछ,’ उनले भनिन्। एक गोल पनि नखाई अन्तिम १६ मा पुगेको स्विट्जरल्यान्डको टोली स्पेनविरुद्ध भने निरहि बन्यो। यो बहिर्गमनसँगै स्विस टोलीले ठूला प्रतियोगिता जित्न अझै प्रतीक्षा गर्नुपर्ने भएको छ।

प्रकाशित: २१ श्रावण २०८० ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App