४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

स्वर्ण जित्ने बक्सरलाई १० लाख

नेपाल बक्सिङ महासंघले १९औं एसियाडमा पदक स्वर्ण जित्ने बक्सरलाई १० लाख दिने घोषणा गरेको छ। राम अवाले नेतृत्वको नवनिर्वाचित नेपाल बक्सिङ महासंघको आइतबार काठमाडौंमा बसेको बोर्ड बैठकले एसियाडमा पदक विजेतालाई नगद पुरस्कार घोषणा गरेको हो। १९औं एसियाड आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाउ सहरमा सुरु हुँदै छ। आगामी एसियाडमा नेपालले सहभागिता जनाउने २९ खेलमध्ये बक्सिङ पदक सम्भावनाको हिसाबले पहिलो प्राथमिकता रहँदै विशेष तयारी गरिरहेको खेल पनि हो। हाल भारतको पञ्जाबमा तयारी गरिरहेको नेपाली बक्सरले पदक जितेमा पुरस्कार दिने निर्णय गर्दै महासंघले खेलाडीको हौसला बढाएको छ।  

महासंघले स्वर्ण विजेतालाई १० लाख, रजत विजेतालाई पाँच लाख र कांस्य विजेता खेलाडीलाई दुई लाख ५० हजार दिने निर्णय गरेको छ। साथै महासंघले नेपालमा बक्सिङ खेल विकास गर्न अक्षयकोष स्थापना गरेको छ। त्यसका लागि महासंघका पदाधिकारीबाट १५ हजार र सदस्यबाट १० हजार रूपैयाँ सहयोग स्वरूपबाट संकलन गर्ने भएको छ।  

‘राष्ट्रिय खेलकुद परिषद्को अनुदानबाट मात्र बक्सिङको विकास सम्भव छैन। त्यसैले अक्षय कोषको सुरुआत गरेका हौं। पहिलो चरणमा सहयोग स्वरूप संकलन गरेका छौं। पछि मासिक रूपमा पदाधिकारीबाट पाँच हजार र सदस्यबाट तीन हजार लिने निर्णय गरेका छौं। यो दिनै पर्ने नियम होइन,’महासंघका सचिव पुष्कर पन्तले भने, ‘यद्यपि, आर्थिक सहयोग गर्न नसक्ने पनि हुनुहुन्छ। तर, उहाँहरूले प्रायोजक भिœयाउने या अन्य कुनै पक्षबाट महासंघको योजनामा सहयोग गर्न सक्नुहुन्छ।’

बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीको संयोजकत्वमा सातै प्रदेश र विभिन्न जिल्लाबाट माग गरी भाद्र महिनाभित्रमा महासंघको क्यालेन्डर प्रकाशित गर्ने र वार्षिक तालिका प्रकाशन गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले महासंघको वेबसाइट, खेलाडीहरूको डाटा र दीर्घकालीन योजनाका कार्यपत्र प्रस्तुत गरी अपडेट गर्न महासंघ सचिव पुष्करराज पन्तलाई जिम्मेवारी दिएको छ। बैठकपछि पोखरामा सम्पन्न महासंघको छैटौं साधारणसभा तथा निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

प्रकाशित: १५ श्रावण २०८० ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App