१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

१६ वर्षपछिको पुनरागमन सुखद

चीनविरुद्ध गोल गरेपछि डेनमार्ककी एमेली भान्सगाड। तस्बिर: एपी

१६ वर्षपछि महिला विश्वकप फुटबलमा पुनरागमन गरेको डेनमार्कले शनिबार चीनमाथि १–० को साँघुरो जितसहित सुखद सुरुआत गरेको छ।

पर्थमा खेलको ९०औं मिनेटमा एमेली भान्सगार्डले गरेको हेडर गोल नै डेनमार्कको लामो समयपछि महिला विश्वकपमा पुनरागमन गर्दा यादगार बनेको हो। स्टेडियममा करिब १८ हजार दर्शक थिए र तीमध्ये अधिकांशले एसियन च्याम्पियनका लागि ठूलो आवाजले समर्थन गरे पनि नतिजा उनीहरूको पक्षमा रहेन। विश्व वरीयतामा एक स्थानमा मात्र तलमाथि रहेका टोलीबीचको प्रतिस्पर्धामा जितले डेनमार्कलाई ठूलो अर्थ राख्नेछ। किनकि यो समूह ‘सी’ मा उपाधिको दाबेदारका रूपमा हेरिएको इङ्ल्यान्ड पनि छ। इङ्ल्यान्डले पनि शनिबार नै हाइटीमाथि १–० को साँघुरो जितसहित सुखद सुरुआत गरेको छ।

यो हारसँगै २२ वर्षीया झाङ लिनयानले नेतृत्व गरेको चीन दबाबमा परेको छ। खेल अवधिमा धेरै आक्रामकता देखाए पनि चीन नतिजा भने आफ्नो पक्षमा पार्न असफल रह्यो। खेलको अन्त्यमा नाटकीय ढंगले डेनमार्कले सफलता पायो। महिला विश्वकपको सुरुआती चरणको पावर हावसले यस पटक नयाँ सुरुआत गर्ने लक्ष्य राखे पनि सफलता पाउन सकेन। सन् १९९९ को विश्वकप उपविजेता चीनले गत वर्ष एसियन कपको उपाधि जितेसँगै विश्व फुटबलमा आफ्नो पुरानो साख फर्काउने आकलन गरिएको थियो।

बल अगाडि बढाउँदै चीनकी लोउ झिआहुई। तस्बिर: एपी

चीनले आफ्ना स्टार स्ट्राइकर वाङ सुआङलाई सुरुआती चरणमा बेन्चमा नै सीमित गर्दै अप्रत्याशित निर्णय लिएको थियो। मिहिनेती चीनले आफ्नो बायाँ विङबाट लगातार आक्रमण गर्दै डेनमार्कमाथि दबाब बनाइरह्यो। तर, खराब फिनिसिङका कारण चीनले पहिलो गोल निकाल्न भने सकेन। जाङले गोल गर्ने राम्रो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न असफल भइन्। उनको प्रहार डेनमार्ककी गोलकिपर लेने क्रिस्टिनसेनले सहजै बचाइन्। यता, डेनमार्कको प्लेइङ लिस्टमा भने विश्वकपमा डेब्युटेन्टको सूची थियो। तर, पनि युरोपियन प्रतिद्वन्द्वीले खेलको अन्त्यतिर गएर जित निकाल्यो।

ह्यामस्ट्रिङको सर्जरीबाट फर्किएकी डेनमार्ककी कप्तान पेर्निल हार्डरको प्रदर्शन पनि प्रभावशाली रह्यो। त्यसका बावजुदले डेनमार्कले चीनको डिफेन्स लाइनलाई ठूलो दबाब भने दिन सकेन। पहिला हाफअगाडि डेनमार्ककी खेलाडी रिक्की सेभेच्केले चीनकी खेलाडीको जर्सी तानेका कारण पहेंलो कार्ड पाएपछि उनीहरूमा निराशा स्पष्ट देखिन्थ्यो। चीनले दोस्रो हाफमा आफ्ना स्टार खेलाडी वाङलाई मैदान पठाएसँगै त्यसको प्रभाव मैदानमा देखियो। उनको लामो प्रहार डेनमार्ककी गोलकिपर क्रिस्टिनसेनले निस्तेज पारिन्। दुवै टोलीले गोलका लागि संघर्ष नै गरे।

खेलको ५४औं मिनेटमा डेनमार्ककी जोसेफिन हास्बोको हेडर प्रहारले पोस्टको सही दिशा लिन सकेन। तथापि, खेलको अन्त्यमा भने डेनमार्कको प्रयासले सार्थकता पायो। डेनमार्ककी भान्सगार्डको हेडर गोलमा परिणत भएपछि चीनले अन्तिम समयमा बराबरीको अवसर पनि गुमाउन पुग्यो। यससँगै आफ्नो गुमेको साख फर्काउने लक्ष्य बोकेकी चीनकी प्रशिक्षक सुई किङसियाको योजनाले सार्थकता पाउन सकेन। सन् १९९५ को विश्वकपमा तेस्रो स्थान र १९९९ मा अमेरिकामा सम्पन्न विश्वकपमा उपविजेता बन्दै महिला विश्वकपको शक्तिशाली टोलीका रूपमा उभिएको चीनको साख फर्काउने लक्ष्यमा भान्सगार्डको हेडर गोल बाधक बन्यो।

प्रकाशित: ७ श्रावण २०८० ००:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App