४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

यु–१६ यूथ लिग: विवादकाबीच भएनन् आजका खेल

नेपालको फुटबल र विवाद ? आजकाल यो दुई शब्द नै पर्यायवाची हुन् की भन्ने आम नेपाली फुटबल प्रेमीलाई लाग्न थालिसकेको छ। नलाग्नु पनि किन ? नेपाली फुटबलको विकास गर्ने उद्देश्यअनुरूप नै बनेको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) विवाद नै विवादमा घेरिरहन्छ। नेपाली फुटबल कुनै न कुनै घटनाले विवादमा नपरेको महिना नै हुँदैन ?

कहिले एन्फाभित्रको आन्तरिक द्वन्द्व त, कहिले खेल भित्रकै विवाद। यी सबै कुराले नेपाली फुटबललाई पिरोलिरहन्छ। महिला वा पुरुषको खेल नहुँदा होस् वा सञ्चालन भइरहँदा पनि त्यो कुनै न कुनै किसिमले विवादमा तानिन्छ। पहिलो पटक शुरु भएको एन्फा यु–१६ यूथ लिग पनि त्यसबाट अछुतो रहन सकेन। गत हप्तादेखि नै शुरु भएको यूथ लिगको दोस्रो चरणकै खेल जारी रहँदा सहभागी १० क्लबमध्ये चार क्लबले नै शनिवारका खेल बहिस्कार गरेपछि नयाँ विवाद सिर्जना भएको हो।

कुल १० टोलीले प्रतिस्पर्धा गरेको लिग आगामी ६ महिनासम्म चलाउने योजनासहित एन्फाले शुरु गरेको हो। तर, शुरु भएको एक हप्ता पनि बित्न नपाउँदै मनाङ, संकटा, फ्रेण्ड्स र एनआरटी गरी चार क्लबले लिग नखेल्ने घोषणा गरेका छन्। जसको कारण शनिवार तय भएका खेल नै हुन सकेनन्।

शनिवार मनाङले मच्छिन्द्रसँग, फ्रेण्ड्सले त्रिभुवन आर्मी क्लबसँग र एनआरटीले एफसी खुमलटारसँग खेल्ने तालिका थियो। यद्यपि, एन्फाले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै यी क्लबले खेल नै बहिष्कार गरे। एनआरटीले १६ वर्षभन्दा माथिका खेलाडी खेलाएको भन्दै एन्फाले कारबाही गरेपछि विवाद उत्पन्न भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए। उनले विवाद उत्पन्न भएपछि समाधानको प्रयास गरिए पनि क्लबका कारण सम्भव नभएको दाबी गरे।

मनाङसँग खेल्नका  लागि मच्छिन्द्रका खेलाडी शनिवार च्यासल पुगेका थिए। प्रतिद्वन्द्वी नआएपछि उनीहरू कहिले मैदानमा त कहिले प्यारा पिटमा डुलिरहेको देख्न सकिन्छ।

अर्को खेलमा आर्मीका खेलाडीले पनि फ्रेण्ड्ससँगको खेलका लागि लगनखेल मैदानमा विपक्षी टोलीको प्रतीक्षा गरे भने खुमलाटारले पनि एनआरटीलाई च्यासल मैदानमा पर्खिरह्यो । यद्यपि, प्रतिद्वन्द्वी नआएपछि मच्छिन्द्र, आर्मी र खुमलाटारले दोस्रो चरणको खेल नै नखेली अंक पाए। एन्फाका प्रवक्ता शाहले पनि फिफाको नियमअनुसार विपक्षी नआएपछि उपस्थिति टोलीले अंक पाएको बताए। एन्फा फिफाको नियमअनुसार नै चल्ने प्रवक्ता शाहले जिकिर गरे। तर विपक्षी टोलीले फेरि पनि यही घटना दोहो¥याएमा भने के हुने भन्नेबारे उनीसँग जवाफ थिएन।

एन्फाले कारबाही स्वरूप एनआरटीलाई १० हजार जरिवाना र खेलाडीको एमआरआई परीक्षणको खर्च पनि क्लबलाई नै व्यहोराएपछि विवाद उत्पन्न भएको हो। एनआरटीले ती खेलाडीहरू १६ वर्षमुनि रहेको आफूसँग प्रमाण हुँदाहुँदै पनि एन्फाले कारबाही गरेको भन्दै बहिष्कार गरेको थियो। त्यसमा बाँकी तीन क्लबले पनि साथ दिएका हुन। एन्फाले नखेल्ने क्लबहरूलाई कारबाही गर्ने भएपछि विवाद झनै उत्कर्षमा पुग्ने देखिएको छ। 

एन्फाका प्रवक्ता सुरेश शाहले पनि नखेल्ने क्लबलाई फिफाको नियमअनुसार नै कारबाही गर्ने स्पष्ट पारिसकेका छन। यससँगै १० मध्ये चार क्लबले लिग बहिस्कार गर्ने भएपछि फिफाको सहयोगमा एन्फाले शुरु गरेको यूथ लिगको भविष्य नै संकटमा पर्ने देखिएको छ।

प्रकाशित: ६ श्रावण २०८० १५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App