७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाली पौडी टोली जापान जाँदै

नेपालका चार पौडीवाजले जापानको फुकुओका सहरमा आयोजना हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको च्याम्पियनसिपमा नेपालका पौडी खेलाडी गौरिका सिंह, एलेक्जेन्डर शाह, डुवाना लामा र नासिर याह्या हुसेनले चुनौती प्रस्तुत गर्ने भएका हुन्। गत १४ जुलाई देखि सुरु भएको च्याम्पियनसिप आगामी जुलाई ३० सम्म  सञ्चालन हुनेछ। नेपाली टोलीको प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम व्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा सञ्जय शाह छन्। नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यको नेतृत्वमा पौडी टोली जापान जाँदै छ।  

उक्त नेपाली पौडी टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय झन्डासहित बिदाइ गरेका थिए। सदस्यसचिव घिसिङले टोलीलाई राष्ट्रिय झन्डा प्रदान गर्दै खेलाडीहरूलाई उच्च स्तरको प्रदर्शनका साथ ओलम्पियकमा छनोट हुन शुभकामना दिए। उक्त च्याम्पियनसिपमा २३ तारिख नासिरले ४०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्। गौरिकाले भने २४ जुलाईमा एक सय मिटर ब्याक स्ट्रोक र नासिरले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै जुलाइ २५ मा डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन्। गौरिकाले अर्को विधा ५० मिटर ब्याक स्ट्रोक जुलाई २६ मा खेल्नेछिन्। सोही दिन एलेक्जेन्डरले एक सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्। २७ तारिख डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिख एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्। संघका अध्यक्ष अशोक वज्राचार्यले साउन ७ देखि १३ सम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वल्र्ड एक्वाटिक कंग्रेसमा सहभागिता जनाउनेछन्। टोली बुधबार जापानतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

प्रकाशित: ३ श्रावण २०८० ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App