२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मलेसियामाथि नेपालको रबाफिलो जित

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपालका अशोक धामी।तस्बिर सौजन्य ः क्यान

अशोक धामीको यादगार प्रदर्शन प्रेरणामा नेपालले शुक्रबार मलेसियामाथि रबाफिलो जितसहित समूहविजेता बन्दै एसिसी मेन्स यु–१६ इस्ट जोन कपको सेमिफाइनलमा स्थान बनाएको छ। आयोजक मलेसियामाथि ८४ रनको जितसँगै बिहीबार नेपाल समूहविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो।

तीन टोली सम्मिलित समूह ‘ए’ मा बुधबार नै थाइल्यान्डमाथि पहिलो जितबाट नेपालको किशोर टोली सेमिफाइनलमा पुगिसकेको थियो। हारका बावजुद मलेसिया पनि सेमिफाइनलमा पुग्न सफल भयो। नेपालले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता सिंगापुरसँग आगामी सोमबार खेल्नेछ। अर्को सेमिफाइनलमा मलेसिया र हङकङ प्रतिस्पर्धा गर्नेछन्। त्यसअघि मलेसियाको बांगी सहरस्थित बायुमास ओभलमा नेपाललाई जित दिलाउन अशोक धामीले यादगार प्रदर्शन गरे।

अर्धशतक प्रहार गरेका अशोकले बलिङतर्फ पनि सर्वाधिक चार विकेट लिए। टस जितेर ब्याटिङ रोजेको नेपाल निर्धारित ३५ ओभर सकिन ८ बल बाँकी छँदा नै १ सय ८३ रनमै अलआउट भयो। तर, जबाफी लक्ष्य पछ्याएको मलेसियालाई ३०.५ ओभरमा ९९ रनमै समेट्दै नेपालले लगातार दोस्रो जित दर्ता गर्यो। नेपालको बलिङमा अशोकले सर्वाधिक चार विकेट तथा कप्तान अभिषेक तिवारीले तीन विकेट, सन्तोष यादवले दुई विकेट र कृतिक कमादले एक विकेट लिँदै मलेसियाको इनिङ सस्तैमा रोके।

नेपाललाई जित दिलाउन अशोक धामीले यादगार प्रदर्शन गरे। अर्धशतक प्रहार गरेका उनले बलिङतर्फ पनि सर्वाधिक चार विकेट लिए।

नेपालका बलर अभिषेकले खाता नखोल्दै विकेट लिएपछि घरेलु टोली दबाबमा पर्यो। त्यससँगै एकपछि अर्को विकेट गुमाएको घरेलु टोली समालिनै सकेन। मलेसियाका लागि मोहम्मद हैरिलको २५ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। ओपनर तथा कप्तान मोहम्मद आलिफले १५ रन, अक्रमले १२ रन र अकिलले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। त्यसअघि ब्याटिङमा निकै संघर्ष गरेको नेपालका लागि नवौं नम्बरमा आएका अशोकले अर्धशतक प्रहार गरे।  

२१.१ ओभरमा नेपाल ९१-७ को नाजुक अवस्थामा थियो। तर, अशोकले ३६ बलमा ५२ रन जोड्दै नेपालको इनिङ उकासे। आक्रामक ब्याटिङ गरेका उनको इनिङमा पाँच छक्का र तीन चौका रह्यो। सातौं विकेटका रूपमा कप्तान अभिषेक ४ रनमा रनआउट भएपछि अशोक क्रिजमा आएका हुन्। मलेसियाका बलर अक्रमले अशोकलाई बोल्ड गर्दै नेपालको दशौं विकेट लिएका थिए। त्यसअघि दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालका शीर्ष क्रम समालिएर ब्याटिङ गर्न असफल भयो।  

तर, एकपछि अर्को विकेट गुमाएको नेपालको इनिङमा अशोकले आक्रामक ब्याटिङ गरे। नेपालका लागि ओपनर सूर्यान्सु कोइरालाले २९ रन र नरेन भट्टले २९ रनबाहेक अन्यले उल्लेख्य रन बटुल्न सकेनन्। मलेसियाको बलिङमा हाजिक हैकल, मुहम्मद अक्रम, एरिन अकिल र मुहम्मद मुक्रीले समान दुई विकेट लिँदै नेपाललाई आठ बलअगावै अलआउट गरे।

प्रकाशित: १६ असार २०८० ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App