१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’ सुरु

फाइल तस्बिर

पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु भएको छ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा दुईदिने बोट रेस हुन लागेको हो। पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो महोत्सवको सहयोगी संस्थाका रुपमा रहेका छन्।

 त्यसैगरी ताल किनारको क्याम्पिङ चोकमा महोत्सव हुँदैछ । महोत्सवमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षण रहेको छ। कार्यक्रमका सहभागिताका लागि चीनबाट विशिष्ट पाहुना पोखरा आइसकेका छन्। नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बोट रेस तथा महोत्सवको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।  

फेवातालमा दुइसय र पाँचसय मिटरमा दुई विधामा आठवटा बोट रेस प्रतियोगिता हुने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए। ‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुङगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन्। सोही ड्रमको तालमा १० जनाले डुङ्गा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुङ्गाको दिशा मिलाउँछन्। निर्धारित दूरी सबैभन्दा अघि पार गर्ने टोली विजेता बन्छ।

बोट रेसमा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन (एनआरसीए), चाइना नेपाल फ्रेण्डसिप, फेवा ढुङ्गा व्यवसायी सङ्गठन, र पोखरा महानगरपालिकाको टिम रहेको छ। प्रतियोगितामा विजेता हुने दुवै विधाका टोलीलाई जनही रु पाँच लाख ५० हजारका दरले  पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने टोलीका लागि रु ३० लाख पुरस्कारको व्यवस्था छ।

बोट रेस चीन बाहिर दक्षिण एशियामै पहिलोपटक हुन लागेको र कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। उनका अनुसार पोखराको पर्यटनलाई थप चलायमान बनाउन यसले मद्दत पुग्नेछ। बोट रेस र महोत्सवमा सहभागिताका लागि चिनियाँ टोली चार्टर उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। रेसका लागि चीनको केरुङ नाका हुँदै आठ विशेष खालका डुङ्गा, अन्य आवश्यक सामग्री र बोट रेस प्रशिक्षक जेठ अन्तिम सातादेखि पोखरा आएर अभ्यास गरेका थिए।

प्रकाशित: ८ असार २०८० ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App