९ असार २०८१ आइतबार
image/svg+xml
खेल

सुखद सुरुआत गर्ने नेपालको लक्ष्य अधुरै

दुई कुवेती खेलाडीको बीचबाट बल अगाडि बढाउने प्रयास गर्दै नेपालका लाकेन लिम्बु (रातो)। तस्बिर सौजन्य: एन्फा

कुवेतसँग ३–१ ले पराजित भएसँगै साफ च्याम्पियनसिप २०२३ मा सुखद सुरुआत गर्ने नेपालको लक्ष्य अधुरै रह्यो।

भारतको बैंगलोरस्थित श्री कान्ताराभा स्टेडियममा सम्पन्न समूह ‘ए’ अन्तर्गत खेलको पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो। स्ट्राइकर अञ्जन विष्टले गरेको गोल नेपालका लागि सान्त्वना साबित भएको थियो।

२३औं मिनेटमा खालिद हाजियाले गरेको गोलमा कुवेतले साबिकको उपविजेता नेपालविरुद्ध अग्रता लिएको थियो। फवाज अलोताइबीको कर्नरमा अनमार्क रहेका खालिदले हेडमार्फत बललाई जाली चुमाएका थिए।

कुवेतसँग ३–१ ले पराजित भएसँगै साफ च्याम्पियनसिप २०२३ मा सुखद सुरुआत गर्ने नेपालको लक्ष्य अधुरै रह्यो।

३६औं मिनेटमा कुवेतका मोहम्मद अब्दुल्लाहको हेड क्रसबारमा लागेर फर्कंदा नेपालको संकट टरेको थियो। ४२औं मिनेटमा साबिब अलखालदीले गरेको गोलमा कुवेतले अग्रता दोब्बर पारेको थियो। ६४औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै कुवेतलाई सहज जिततर्फ डोर्‍याएका थिए। नेपालका रक्षक अनन्त तामाङले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो।

त्यसको तीन मिनेटपछि अञ्जनको गोलमा नेपालले खेलमा फर्कने संकेत गरे पनि त्यो सफल भएन। अञ्जनले नेपाली राष्ट्रिय टोलीका लागि गरेको यो १२औं अन्तर्राष्ट्रिय गोल हो। गत संंस्करण नेपालको फाइनल यात्रामा नायक रहेका अञ्जन नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गर्न एक गोलले मात्र पछि छन्। हरि खड्का र नीराजन रायमाझीको नाममा समान १३ गोलको कीर्तिमान रहेको छ।

समूहको दोस्रो खेलमा नेपालले शुक्रबार भारत र तेस्रो खेलमा आइतबार पाकिस्तानको सामना गर्नेछ। साफ च्याम्पियसिपको फाइनल प्रवेश गर्नु नै नेपालले प्राप्त गरेको अहिलेसम्मको ठूलो सफलता हो।

१४औं संस्करणमा आएर साफ च्याम्पियनसिपको उपाधि खडेरी तोड्ने लक्ष्य लिएको नेपाल पहिलो खेलको हारसँगै दबाबमा परेको छ।

नेपालका प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले अनुभवी कुवेतसामु नेपालले राम्रो प्रदर्शन गरे पनि पहिलो हाफमै २–० ले पछि परेकाले टोली दबाबमा परेको बताए।

‘कुवेत प्रतियोगिताकै बलियो टोली हो,’ एनिसले भने, ‘हामीले पहिलो हाफमा उनीहरूलाई खुलेर खेल्ने अवसर दियाैं र उनीहरूले त्यसको फाइदा उठाउन सफल भए। पहिला हाफमै दुई गोलले पछि पर्दा हामीमाथि दबाब बढ्यो। दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै गोलको धेरैभन्दा धेरै अवसर सिर्जना गरे पनि हामीले त्यसको सदुपयोग गर्न नसक्दा खेलमा फर्कने अवसर गुमायाैं। दोस्रो हाफमा गरेको प्रदर्शनले भने टोलीको मनोबल बढाएको छ।’

समूहको दोस्रो खेलमा नेपालले शुक्रबार भारत र तेस्रो खेलमा आइतबार पाकिस्तानको सामना गर्नेछ। साफ च्याम्पियसिपको फाइनल प्रवेश गर्नु नै नेपालले प्राप्त गरेको अहिलेसम्मको ठूलो सफलता हो।

एनिसले लिग चरणमा अझै दुई खेल बाँकी रहेको र शीर्ष दुईमा बस्दै सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै रहेको बताए। ‘नेपाली टोली कुवेतको तुलनामा निकै कम अनुभवी टोली हो,’ उनले भने, ‘आज हामीले बलियो चुनौती पेस गरे पनि नतिजा सुम्पिन बाध्य भयौं। अब हामी भारतविरुद्ध हुने दोेस्रो खेलमा केन्द्रित छौं। हामीले दोस्रो खेलमा केही सुधारिएको प्रदर्शन गर्न आवश्यक छ। भारतविरुद्धको खेलपछि मात्र नेपालको अघिल्लो चरणको यात्रा के हुन्छ भन्ने प्रस्ट हुनेछ। त्यसैले भारतविरुद्धको खेल हाम्रो लागि फाइनलसरह हो।’

समूह ‘बी’ मा भने लेबनान, भुटान, बंगलादेश र माल्दिभ्स छन्। कुवेत र लेबनान यस पटक आमन्त्रित टोलीका रूपमा प्रतियोगितामा सहभागी छन्।

प्रकाशित: ७ असार २०८० ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App