३ असार २०८१ सोमबार
image/svg+xml
खेल

युनाइटेडको निराशाजनक बराबरी

ब्रसेल्स- लेन्डर डेन्डोन्करले अन्तिम समयमा गोल गरेपछि युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगमा बिहीबार एन्डरलेकले म्यानचेस्टर युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ।

हेनरिक एमखिटार्यनको गोलमा भ्रमणकारी युनाइटेड पहिलो हाफमै अग्रता लिन सफल भए पनि समय सकिन चार मिनेट बाँकी रहँदा बेल्जियन अन्तर्राष्ट्रिय मिडफिल्डर डोन्डोन्करले खेल बराबरीमा ल्याएका थिए। घरेलु मैदानमा इभान ओब्राडोभिचको क्रसलाई कडा हेडमार्फत गोलमा परिणत गर्दै डोन्डोन्करले सेमिफाइनल प्रवेशको सम्भावना जीवित राखेका थिए। तर अवे खेलमा गोल गरेको युनाइटेडले अर्को साताको दोस्रो लेग आफ्नै मैदान ओल्ड ट्राफोर्डमा खेल्ने भएकाले बेल्जियन टोलीको सम्भावना भने कमजोर छ।

'हामीले मौका पाउँदा पनि त्यसको उपयोग गर्न सकेनौं। हामीले आजै सेमिफाइनल प्रवेशको ढोका खोल्न सक्नुपर्थ्यो,' युनाइटेडका निराश प्रशिक्षक जोजे माउरिन्होले भने।

युनाइटेड बराबरीमा रोकिएको रात लियोनमा भएको क्वार्टरफाइनल पहिलो लेगको अर्को खेलमा नतिजालाई समर्थकको हुल्याहा व्यवहारले छायाँमा पार्‍यो। लियोनले घरेलु मैदानमा बेसिक्टासमाथि २–१ को विजयी नतिजा निकालेको दिन दुई टोलीका समर्थकबीच भिडन्त हुँदा सुरक्षाकर्मीले खेल सुचारु गर्न हस्तक्षेप गर्नुपरेको थियो। समर्थकहरु मैदानमा समेत प्रवेश गरेका कारण खेल निर्धारित समयभन्दा ४५ मिनेट ढिलो सुरु भएको थियो।

च्याम्पियन्स लिगका लागि रंगशाला जाने क्रममा रहेको बोरुसिया डर्टमन्डको टिम बसमाथि जर्मनीमा तीन बम आक्रमण हुनुका साथै मड्रिडमा लेस्टर सिटीका समर्थक र पुलिसबीच झडप भएकै साता फ्रान्समा यस्तो हुल्याहा घटना भएको हो।

तनावका बीच सम्पन्न खेलको अन्तिम समयमा दुई गोल गर्दै घरेलु टोलीले जित निकालेको थियो। रायन बबेलको गोलमा बेसिक्टासले १५औं मिनेटमै अग्रता लिएको थियो। तर कोरेन्टिन टोलिस्कोले ८३औं मिनेटमा बराबरी गोल गर्दै लियोनलाई खेलमा फर्काए। त्यसको दुई मिनेटपछि जेरेमी मोरेलले घरेलु टोलीका लागि विजयी गोल गरे।

डेभी क्लासेनको दुई गोलमा अयाक्सले घरेलु मैदानमा साल्के ०४माथि २–० को विजयी नतिजा निकालेको दिन बिहीबार युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगको अर्को खेलमा सेल्टा भिगोले जेन्कलाई ३–२ को नतिजामा हरायो। पहिलो हाफमा पियोनी सिस्टो, इयागो आस्पस र जोन गुइडेटीले गोल गरेपछि सेल्टाले घरेलु मैदानमा मध्यान्तरअघि ३–० को अग्रता लिएको थियो। तर बेल्जियन टोली जेन्कका लागि दोस्रो हाफमा जिन पाउल बोइटिस र थोमस बफेलले महत्वपूर्ण दुई अवे गोल गर्दै सेमिफाइनल पुग्ने आशा जीवित राखे।

प्रकाशित: २ वैशाख २०७४ ०३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App